आईजीपी खनालका तीन वर्ष: विषम अवस्थामा अब्बल नेतृत्व



प्रदीपसिंह भण्डारी

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेतृत्व सम्हालेको आज तीन वर्ष पूरा भएको छ । यसबीचमा संगठनले सीमा सुरक्षाएवं त्यसको व्यवस्थापन, विपद् उद्धार, कोभिड–१९ जस्तो महामारीको अवस्थामा सीमामा परिचालित भई त्यसको रोकथाम र नियन्त्रणलगायतका विषयमा तीव्र गतिमा काम गरेको प्रमाणित हुँदै गएको छ । नेतृत्व सम्हालेदेखि नै संगठनको वृत्ति विकासमा आक्रामक ढंगले प्रस्तुत हुनुभएका महानिरीक्षक खनालले सीमा सुरक्षा विपद् उद्धार, कोभिड–१९ ड्युटी आदिमा गर्नुभएको उत्कृष्ट नेतृत्वले गर्दा संगठनले देखिने गरी गरेको कार्य स्पष्ट हुन्छ ।

संगठनमा महानिरीक्षक खनाल अत्यन्त शालीन र शान्त स्वभावको मानिनुहुन्छ । उहाँको तीनबर्से नेतृत्व विभिन्न सुरक्षा चुनौतीको परिस्थितिमा समेत अब्बल रह्यो । नेतृत्व सम्हालेको शुरुवाती दिनमा संगठनभित्रको आन्तरिक व्यवस्थापनमा उहाँको समय बित्यो । लामो समयदेखि रोकिएको सरुवा तथा बढुवाका कारण संगठनका तल्लो तहदेखि उपल्लो तहसम्मका कर्मचारीमा बढेको निराशालाई समाधान गर्न क्रियाशील रहेकै कारण विगत तीन वर्षको बीचमा दर्जनौं पटक बढुवा गर्ने काम भईसमस्या समाधान भएको छ भने आवश्यकताअनुसार सरुवा पनि समयमै भएका छन् ।

यसले गर्दा कर्मचारीमा रहेको निराशा हटेको छ । सरुवा–बढुवामा अपनाइएको पारदर्शिताका कारण पनि कर्मचारीको संगठन प्रमुखमाथिको भरोसा बढ्दै गएको छ । यति हुँदाहुँदै पनि २०६० देखि २०६२ सम्म एकै वर्ष तीन ब्याजसम्म ठूलो संख्यामा अधिकृत भर्ना गरिँदा अहिले बढुवामा गम्भीर जाम भएको देखिन्छ । अब तत्काल सरकारबाट दरबन्दीसहितको जनशक्ति थप नगर्ने हो भने वृत्ति विकासको समस्या वर्षौंसम्म पनि लम्बिन सक्ने देखिन्छ । यसबाट अधिकृतहरुमा निराशा उत्पन्न भई सुरक्षा सेवा नै प्रभावित हुन पुग्ने सशस्त्र प्रहरीकै अधिकृत बताउँछन् । यसमा अब आईजीपीले पनि केही गर्न सक्ने स्थिति छैन, यो समस्या राज्य तहबाटै सम्बोधन हुनुपर्छ भन्ने भनाइ छ।

संगठनका आन्तरिक समस्या समाधान गर्न प्रत्येक दर्जाका कर्मचारीले सहज ढंगले आफ्ना पीर–मर्का तथा गुनासा राख्न सक्ने वातावरण बन्दै गएको समेत संगठनमा प्राप्त गुनासो र त्यसलाई समाधान गर्न संगठन प्रमुखले देखाउनुभएको चासोले स्पष्ट पारेको छ । यी कार्य हुँदै गर्दा विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न जटिल परिस्थितिमा सीमित जनशक्ति र स्रोत–साधानबीच परिचालन हुँदा होस् वा लकडाउन कार्यान्वयन गराउने सिलसिलामा वा नेपाल एपीएफ अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालको रुपमा कार्य गरी आमनागरिक एवं राष्ट्रसेवकहरुको उपचार गर्ने/गराउने कार्यमानै किन नहोस्, संगठन प्रमुखको हैसियतले महानिरीक्षक खनालले लिएको चासो, उचित समयमा गरिएका सही निर्णय अनि उहाँको रातदिनको खटाइले आमजनताको सशस्त्र प्रहरीप्रतिको भरोसा अनि विषम अवस्थामा संगठनले पूरा गरेको जिम्मेवारी र कर्तव्यले शालीन स्वभावका आईजीपीले विषम परिस्थितिमा गरेको इमानदार, अनुशासित एवं व्यावसायिक नेतृत्वको रुपमा लिनुपर्ने हुन्छ ।

यसबीचमा महानिरीक्षक खनालले मातहत कर्मचारीको संरक्षणप्रति देखाएको माया, चासो अनि मातहत कर्मचारीको वृत्ति विकास, स्वास्थ्यप्रतिको चिन्ता आदि हेर्दा उहाँ अभिभावकीय जिम्मेवारीमा खरो उत्रिएको आभास हुन्छ । केही समयअगाडियस पंक्तिकारसँगको भेटमा सशस्त्र प्रहरीका एक उच्च अधिकृतले भनेका थिए– आईजीपी साबलाई कहिल्यै रिसाएको अथवा मातहतलाई हप्काएर काम लगाएको देखेको छैन, र पनि संगठनले चुस्त गति लिएको छ । यो उहाँको भद्र र नम्र स्वभावको परिणाम हो । सधैँ हसिलो मुद्रामा देखा पर्ने महानिरीक्षक खनाल सकेसम्म भेट्न चाहने तल्लो दर्जाका कर्मचारीलाई पनि नाइँ भन्नुहुन्न । समस्या लिएर आएका कर्मचारीको गुनासो धैर्यपूर्वक सुन्ने र मीठो बोलीमा कुरा गर्ने गर्नुहुन्छ अनि आवश्यक कार्यान्वयका लागि के गर्दा उचित हुन्छ तत्काल निर्णय गर्नुहुन्छ र आदेश दिनुहुन्छ । गुनासो गर्न आएका कर्मचारी खुशी मुद्रामा फर्कन्छन् । कतिपय अपांगता भएका कर्मचारी ह्वील चियरमा बस्दै भए पनि उहाँलाई भेट्न ढोकामै कुरिरहेका हुन्छन्, तिनका कुरा धैर्य भएर सुन्ने र तिमीहरुको लागि संगठन छ भनेर हौसला बढाउने कार्यसमेत उहाँबाट हुने गर्छ ।

केही समयअघिको एक निर्देशनमा आईजीपी खनालले भन्नुभएको थियो– ‘कर्मचारीहरुमा कोरोना संक्रमण देखिन थाल्यो, सीमामा खटिएका कर्मचारीको पाल हावाले उडाउँछ, तपाईँहरुको बसाइ कष्टपूर्ण छ, त्यसैले म राम्रोसँग निदाउन सकेको छैन, कसरी त्यो समस्या हल गर्ने भन्ने सोच्ने र कार्यान्वयन गर्ने भन्ने विषयमा नै मध्यरात हुने गर्छ ।’ उहाँले यी भनाइलाई प्रमाणित गर्दै फिल्डमा हुने सामान्य समस्यामा समेत तत्काल आफैं बुझ्न मध्यरातमा भए पनि फोन घुमाउनुहुन्छ,वास्तविकता बुझ्नुहुन्छ । फिल्डमा खटिएका कर्मचारीको मनोबल उच्च राख्न हौसला दिनुहुन्छ ।त्यसो तकोरोनाको समयमा सशस्त्र प्रहरीले सीमामा खटिएर गरेको कार्य अब्बल रह्यो ।

झन्डै १२ सय बढी अस्थायी फरवार्ड बेसमार्फत २४ घन्टा सीमाको निगरानी कम चुनौतीपूर्ण थिएन । त्यसलाई नेतृत्वको सुझबुझपूर्ण कार्यले सजिलै सम्पन्न गर्न सशस्त्र प्रहरी सक्षम रह्यो । दैनिक १८ घन्टाभन्दा बढी ड्युटीमा खटिएका मातहत कर्मचारीको प्रत्यक्ष कुरा सुनीपीर–मर्का बुझ्न महानिरीक्षक खनाल पटक–पटक आफैं सीमाका अस्थायी छाप्रासम्म पुगेर जवानसँगै खाना खाने र उनीहरुको हौसला वृद्धि गर्ने कार्यमा लाग्नुभयो ।उपत्यकाबाहिरको यो समस्या त थियो नै, उपत्यकामा परिचालित फौजको गाह्रो-अप्ठेरो बुझ्न उहाँको सचिवालयबाट हरेक दिन अधिकृतको कमान्डमा अनुगमन टोली खटिने र मातहतको यथार्थ विवरण लिने कार्यसमेत गर्नुभयो ।

प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोनाबाट बच्न उपाय सिकाउँदै माक्स बाँड्नसमेत महानिरीक्षक खनाल आफैं पुग्ने गरेको र कर्मचारीको घर–परिवारमा केही समस्या परे तत्काल रिपोर्ट गर्न अनि संगठन तपाईंहरुको पछाडि छ भनेर पटक–पटक ढाडस दिने कार्य उहाँबाट भएको थियो । यता नेपाल एपीएफ अस्पताललाई कोरोना डेडिकेटेड अस्पताल बनाउने सरकारको निर्णयसँगै रातारात बलम्बुमा रहेको ब्यारेक भवनसमेत उपचारको लागि तयार गरियो । त्यस अस्पतालले दिएको उत्कृष्ट सेवाको हरेक क्षेत्रबाट प्रशंसा हुनु भनेकै नेतृत्वको सेवाभावको उच्च इच्छा र प्राप्त जिम्मेवारीप्रतिको तदारुकताको रुपमा बुझ्नुपर्ने हुन्छ । कोरोनाको कहर र लकडाउनकै बीच इतिहासमै पहिलोपटक सीमा सुरक्षार्थ दार्चुलाको छाङ्गरुसम्म बीओपी स्थापना भए भने त्यहाँसम्म पुगेर फौजको आत्मबल उच्च पार्ने कार्य महानिरीक्षक खनालबाट भयो । सीमा सुरक्षाप्रति वर्तमान नेतृत्वको दृढ संकल्पको कारण हाल बीओपी संख्या २ सय १८ पुगिसकेको छ भने यो वर्षभित्रै २ सय २१ पु-याउने सशस्त्र प्रहरीको लक्ष्य छ ।

सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओली र माननीय गृहमन्त्री राम बहादुर थापा बादलको सिमा सुरक्षालाइ मजबुद बनाउने र सुरक्षा तैनाथि बढाउँदै लैजाने लक्ष्य अनुरुपनै बिओपि संख्या २ सय २१ पुर्याइने सशस्त्र प्रहरिले जनाएको छ । यो संख्या आगामि दिनमा ५ सय सम्म पुर्याउने नेपाल सरकारको निति बमोजिम सशस्त्र प्रहरिले तिब्र रुपले कार्य गरिरहेको छ । महानिरीक्षक खनालको कार्यकालमा छाङ्गरुमा बी.ओ.पी. स्थापना गरेर त्यसलाई स्तरोन्नति गरी गुल्म भएको छ भने उत्तरतर्फ हुम्ला, मुस्ताङ, रसुवा हुँदै ताप्लेजुङको ओलाङचुङ्गोलासम्मको सिमानामा सशस्त्र प्रहरीको उपस्थिति देखिएको छ । सशस्त्र प्रहरीले संगठन पुनर्संरचनाको माध्यमबाट कमान्डमा जिम्मवारीपनलाई बढाउँदै २ सय ३७ को संख्यामा रहने सीमा सुरक्षा कार्यालयलाई ६ सय २१ को संख्यामा रहने गणको रुपमा स्तरोन्नति गरेको छ । यसका साथै सीमा सुरक्षालाई थप मजबुत बनाउन रिजर्भ गणसमेत स्थापना गरेको छ ।

जसका कारण केही समय अघि ८७ वटा बीओपीसहित करिब ७ हजारको संख्यामा परिचालित जनशक्ति अहिले १४ हजारको हाराहारीमा पुगेको छ । यसका कारण सीमाका जनताको बीओपीका माध्यमबाट सरकारको उपस्थिति भएको र आफू सुरक्षित रहेको महसुससमेत गरेका छन् । दार्चुलाको छाङ्गरुमा बी.ओ.पी. स्थापनासँगै त्यहाँका जनताले सीमामा सरकारप्रतिको भरोसा बढेको बताउनु, बर्दियाका सीमामा बस्ने नागरिकबाट भएको राज्यप्रतिको भरोसायुक्त कुरा आदिले पनि यसलाई प्रमाणित गरेको छ ।

बीओपीको स्थापनाले सरकार भएको आभास जनताले प्रत्यक्षरुपमा पाएका छन् । फौज जनताको लागि हो, तसर्थ जनताको भावना बुझेर सुख–दुःखमा साथ दिनुपर्छ भन्ने उद्देश्यका साथ काम भइरहेकोमा वर्तमान नेतृत्वलाई धन्यवाद दिनैपर्छ।सीमा सुरक्षामा न्यून जनशक्तिका बाबजुद पनि उत्कृष्ट कार्य गर्न सफल सशस्त्र प्रहरी बल, नेपालले विपद् उद्धार कार्यलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ । हाल नेपालमासशस्त्र प्रहरीसँग मात्रै रहेको गोताखोर तालिमप्राप्त जनशक्तिलाई थप बढाउँदै लैजाने उद्देश्यअनुरुप त्यस संगठनले कोशी नदी तथा फेवा तालमा समेत तालिम गराएर जनशक्ति उत्पादन गरिरहेको छ । सडक यातायातसँगै ठूला नदीहरु भएको रविपद्का समयमा गोताखोरको अत्यन्त ठूलो महत्व रहने भएकै कारण पनि यसको दक्ष जनशक्ति उत्पादनलाई सशस्त्र प्रहरीले प्राथमिकतामा राखेको देखिन्छ ।

अहिले नेपाल ए.पी.एफ. अस्पतालमा अघिल्लो महिनादेखि एमआरआई, एचडीयु तथा महिला क्यान्सर स्क्रिनिङ क्लिनिकसमेत सञ्चालनमा आएको छ । ए.पी.एफ. अस्पताललाई आगामी दिनमा मेडिकल कलेजको रुपमा हेर्ने उहाँको इच्छा रहेको छ । गतवर्ष महानिरीक्षक खनालले एक जवान एक खाटको अवधारणा ल्याउनुभयो । ‘आईजीपी एउटा खाटमा सुत्छ भने प्रत्येक जवानले छुट्टाछुट्टै खाटमा सुत्न पाउनुपर्छ’, गतवर्ष उहाँले भन्नुभएको थियो । परिणामस्वरुप अहिले खाट जोडेर वा एउटै खाटमा दुईजना सुत्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

महानिरीक्षक खनालकै कार्यकालमा कल्याणकारी कार्यअन्तर्गत दर्जनौं काम भएका छन् । कर्मचारीलाई न्यून ब्याजदरको ऋणको कोटा बढाइएको छ भने मिसन गएका कर्मचारीले तिर्नुपर्ने आन्तरिक फन्ड पनि कटौती गरिएको छ । यसबाहेक अमर सशस्त्र प्रहरीको स्मृतिमा भवनहरुको नामाकरण गरियो । जुन कार्य ती वीर अमर प्रहरीप्रतिको उच्च सम्मान हो । यसबीचमा संगठन सुधारका लागि थुप्रै नीतिगत निर्णयहरु गरी संगठनमा कार्यरत कर्मचारीहरुमा अनुशासन, इमानदारिता, व्यावसायिकताको विकास गराई संस्कारी फौजको स्थापना गर्नुपर्दछ र हामी सबै एक परिवार भएर सबै तह–तप्काले आफू मातहतको लागि अभिभावक भएर बस्नुपर्दछ भन्ने सन्देश एवं भावना महानिरीक्षक खनालका प्रत्येकजसो विभागीय निर्देशनहरुमा आउने गर्दछ ।

यसै गरी गुणस्तरीय राशन, आन्तरिक अनुशासन, कर्मचारीको वृत्ति विकास, गुनासो तथा पीर–मर्का सुनुवाइको सहज वातावरण तथा तल्लो स्तरका कर्मचारीको पोशाक एवं अन्य पक्षमा समेत संगठन प्रमुखले प्रत्यक्ष चासो लिएर भ्रष्टाचारमा शून्य सहनशीलता, मानवअधिकारको संवद्र्धन र संरक्षण, लैंगिक मैत्री वातावरणको नीतिलाई कार्यान्वयन गराउँदै खराब आचरणमुक्त संगठन बनाउन गरिएको कार्यले महानिरीक्षक खनालका बितेका तीन वर्ष सफल रहे ।

प्रतिक्रिया दिनुहोस्