दिवाखाजाले अन्त्य गर्‍यो विद्यार्थीबीचको भेदभाव



सिर्जना पन्त, बागलुङ । 

जैमिनी नगरपालिकाका शिशिर थापा मगर स्थानीय दुर्गा प्राथमिक विद्यालयको कक्षा १ मा अध्ययन गर्नुहुन्छ । कात्तिक महिनाको अन्तिमबाट विद्यालय जान थालेका शिशिरलाई शुरूको दिनमा बानी बसाल्न निक्कै गाह्रो प-यो ।

शिशिरका आमा रीमा थापाले उहाँलाई बोकेर विद्यालय लैजानुहुन्थ्यो । बिस्कुट, मिठाइ र चाउचाउको प्रलोभन देखाएर सानो छोरालाई विद्यालय छोडेर घर फर्कंदा उहाँको मन पटक–पटक अमिलो हुन्थ्यो । तर, विद्यालयले मंसिर महिनाबाट दिवाखाजा कार्यक्रम सञ्चालन गरेपछि उहाँलाई अहिले यो समस्या छैन ।विद्यालयले मंसिर महिनाबाट नियमितरूपमा ५४ जना बालबालिकालाई खाजा खुवाउँदै आएको विद्यालयका प्रधानाध्यापक रविप्रसाद सापकोटा बताउनुहुन्छ । विद्यालयले बालबालिकालाई खाजा खुवाउन शुरू गरेपछि अभिभावकसमेत उत्साहित भएर सहयोग गर्न थालेको उहाँको भनाइ छ । ‘पछिल्लो समय जन्मदिन, विवाहको वर्षगाँठको अवसरमा अभिभावकले स्वइच्छाले एकदिनको खाजा खुवाउनेसमेत गर्न थाल्नुभएको छ’, सापकोटाले भन्नुभयो– ‘विद्यार्थी जस्तै अभिभावक पनि उत्साहित हुँदा नगरपालिका र विद्यालयको अभियानलाई थप सहयोग पुगेको छ ।’

कोरोना महामारीका कारणले चैतदेखि देशमा लकडाउन भएपछि लामो समयसम्म बन्द रहेका विद्यालय कात्तिक महिनाबाट नियमित सञ्चालनमा आउन थाले । विद्यालय नियमित सञ्चालनमा आए पनि कोरोनाको डर र गाउँघरमा खेल्ने बानी लागिसकेका स–साना बालबालिकालाई विद्यालयमा ल्याउनका लागि हम्मे–हम्मे प¥यो । यही अप्ठ्यारोका बीचमा दिवाखाजा कार्यक्रमले भने अभिभावक र विद्यालयलाई विद्यार्थीलाई विद्यालयमा नियमित आउने वातावरण बनाउन सहयोग गरेको छ ।जैमिनी नगरपालिका–१० को जनता माध्यमिक विद्यालयको कक्षा २ मा अध्यनरत चित्रबहादुर नेपाली विद्यालयमा नियमित नआउने, आइहाले पनि बीचमै विद्यालयबाट भागेर घर जाने विद्यार्थीमा पर्नुहुन्थ्यो । तर, पछिल्लो ३ महिनामा नेपाली १ दिन पनि विद्यालयमा अनुपस्थित भएको र बीचमै कक्षा छोडेर भागेको रेकर्ड नभएको उहाँका कक्षा शिक्षिका पुतली थापा बताउनुहुन्छ ।

परिवारको आर्थिक अवस्था कमजोर हुनु, आर्थिक अवस्था राम्रो भए पनि सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई अभिभावकले खाजा नपठाउँदा विद्यार्थी नियमित विद्यालय नआउने र आइहाले पनि बीचमै घर जाने गरेको थापाको भनाइ छ । ‘कसैको अभिभावकले खाजा पठाउनुहुन्छ, कसैको बिहान–बेलुका घरमै छाक टार्न मुस्किल छ’, थापाले भन्नुभयो– ‘दिवाखाजा कार्यक्रम सञ्चालनमा आएपछि कुनै विद्यार्थीले खाएको कसैले टुलुटुलु हरेर बस्नुपर्ने दिनको समेत अन्त्य भएको छ ।’तर, जैमिनी नगरपालिकाले मंसिर महिनाबाट नगरपालिकाका सबै सामुदायिक विद्यालयको बालविकास देखि कक्षा ५ सम्म दिवाखाजा कार्यक्रम सञ्चालन गर्न बजेट पठाउन थालेपछि नगरको लक्ष्यअनुसार विद्यालयमा विद्यार्थीको नियमितता र निरन्तरतामा उल्लेख्य सुधार आएको छ ।नगरपालिकाका ८० विद्यालयका २ हजार ९ सय ६६ र ६८ वटा बालविकास केन्द्रका ६ सय ९८ गरी ३ हजार ६ सय ६४ बालबालिकालाई दिवाखाजा खुवाउने गरी प्रतिदिन १५ रुपियाँका दरले बजेट छुट्याएको जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकार खेम आचार्यले बताउनुभयो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र भर्ना भएका विद्यार्थीलाई पनि नियमिति विद्यालय आउने वातावरण बनाउनका लागि दिवाखाजा कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ छ ।

दिवाखाजा कार्यक्रम सञ्चालनमा आएपछि आर्थिक अवस्था कमजोर भएका, दलित जनजातिको बाहुल्यता रहेको जैमिनी नगरपालिकामा शिक्षण प्रक्रियालाई प्रभावकारी बनाउँदै अभिभावक र परिवारको आर्थिक बोझ पनि कम हुने आचार्य बताउनुहुन्छ ।विद्यालयले स्थानीय उत्पादनलाई समेत प्रोत्साहन पुग्ने गरी कोदो, चामल, चना र अण्डाका परिकार विद्यार्थीलाई खुवाउने गरेका छन् । आइतबार कोदाको हलुवा, सोमबार चामलको सेलरोटी, मंगलबार चना र अण्डा, बुधबार कोदाको हलुवा, बिहीबार पुरी–तरकारी र शुक्रबार चना–अण्डा खुवाउने गरेको जनता माध्यामिक विद्यालयका प्रधानध्यापक खगराज शर्माले बताउनुभयो ।३ सयभन्दा बढी विद्यार्थी रहेको जनता माध्यमिक विद्यालयले बालविकासदेखि ५ कक्षासम्मका १ सय ३१ जना बालबालिकालाई नियमित खाजा खुवाउँदै आएको छ । अभिभावकले छोराछोरीलाई खाजा नपठाउने, कसैकसैले पठाइहाले पनि टाठोबाठो बच्चाले बाटैमा खोसेर खाइदिने गरेको भए पनि विद्यालयमै खाजा खुवाउन थालेपछि हुँदा खाने र हुने खाने विद्यार्थी बीचमा देखिने विभेदसमेत अन्त्य भएको प्रधानाध्यापक खगराज शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्