विद्युतीय सुरक्षामा जोड, सुरक्षा चुनौती बढ्दै

विद्युतीय सुरक्षा आजको आवश्यकता



नेपाल समाचारपत्र, काठमाडौं ।

‘विद्युत् दुर्घटनाबाट बचौं र बचाऔं’ भन्ने नाराका साथ चैत २६ गते देशभर विद्युतीय सुरक्षा दिवस मनाइयो ।लोडसेडिङको अन्त्यसँगै विद्युत् आपूर्ति बढेपछि एलपीजी ग्यासलाई विस्थापित गर्दै विद्युत् प्रत्येकको भान्सामा समेत पुग्दै गरेको अवस्थामा सरोकारवालाले विद्युतीय सुरक्षामा जोड दिएका छन् ।

नेपाल विद्युत् प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स एसोसियसन (सिन) ले प्राधिकरणको मुख्यालयमा आयोजना गरेको विद्युत् दुर्घटना न्यूनीकरणसम्बन्धी कार्यक्रमका वक्ताहरूले विद्युत् दुर्घटना कम गर्न कार्यस्थलमा खटिने प्राविधिकलाई विशेष तालिम प्रदान गरिनुपर्नेमा जोड दिएका छन् ।कार्यक्रममा इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक जगन्नाथ श्रेष्ठले कार्यस्थलमा खटिने विद्युत् प्राधिकरणका तल्लो तहका प्राविधिकका साथै घर–घरमा विद्युत्को काम गर्ने कामदारलाई विद्युतीय सुरक्षासम्बन्धी तालिम दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । उहाँले इन्जिनियरिङ विधा पढाउने इन्स्टिच्युट तथा कलेजहरूमा पनि विद्युतीय सुरक्षा तालिम अनिवार्य गराउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले नेपाल विद्युत् उत्पादनमा आत्मनिर्भर हुनेतर्फ अघि बढिरहेको जिकिर गर्दै विद्युत् प्रसारण र वितरणका संरचनाहरू बढ्दै जाँदा सुरक्षा चुनौती पनि बढ्दै गएको बताउनुभयो । उहाँले विद्युतीय प्रणालीमा काम गर्ने कर्मचारीहरूले ‘सेफ्टी फस्र्ट’ लाई मूलमन्त्र बनाउनुपर्नेमा जोड दिँदै सुरक्षा उपकरणहरूको जडान गर्दा सर्वसाधारणको सुरक्षामा ध्यान पु¥याउनुपर्ने बताउनुभयो । उहाँले विद्युत् कर्मचारीहरूको लापरबाहीका कारण उनीहरूको आफै दुर्घटनामा पर्ने गरेको र सँगसँगै अरू सर्वसाधारण पनि जोखिममा पर्ने गरेको भन्दै प्राधिकरणले यसतर्फ ध्यान पु-याउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले विद्युत् दुर्घटनामा सबैभन्दा धेरै विद्युतीय तारमा छेडखानी गर्ने र सडक छेउका तारका पोलहरू ढलेर तार लत्रिएको अवस्थामा करेन्ट प्रवाह भएर दुर्घटना हुने घटनाहरू बढी रहेको उल्लेख गर्दै यसको नैतिक जिम्मेवार प्राधिकरणका इलेक्ट्रिकल इन्जिनियरहरू रहेको बताउनुभयो । उहाँले विद्युतीय सुरक्षासम्बन्धी जनचेतना जगाउन तथा पोल र तारको अवस्थामा ध्यान दिनसके मात्र पनि विद्युत् दुर्घटनामा उल्लेख्य कमी आउने बताउनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणले विद्युतीय सुरक्षामा विशेष ध्यान दिएको जिकिर गर्दै विद्युत् दुर्घटनामा विस्तारै कमी आइरहेको दाबी गर्नुभयो । उहाँले गत आर्थिक वर्ष विद्युत् दुर्घटनाका कारण ३५ जनाको मृत्यु, ३१ जना घाइते र ५२ पशुधनको क्षति भएकोमा पछिल्लो ८ महिनामा विद्युत् दुर्घटनामा कमी आई मृत्यु हुनेको संख्या १२, घाइते हुनेको संख्या १८ र २१ पशुधनको क्षति भएको बताउनुभयो । उहाँले प्राधिकरणले कार्यस्थलमा सुरक्षा उपकरणहरुको प्रयोगमा जोड दिएको बताउँदै विद्युतीय सुरक्षाका लागि प्राविधिकहरूमा अनुशासन पनि जरुरी भएको बताउनुभयो ।प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले प्राधिकरणले सुरक्षा उपकरणहरूको प्रयोग अनिवार्य गरेको भए तापनि कतिपय अवस्थामा यसलाई बेवास्ता गरिएका कारण दुर्घटना हुने गरेको बताउनुभयो ।कार्यक्रममा सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स (सिन) का अध्यक्ष इ. दिल्लीरत्न शाक्यले विगत २४ वर्षदेखि सिनले प्राधिकरणसँग मिलेर निरन्तररूपमा प्रत्येक वर्ष चैत २६ गते विद्युतीय सुरक्षा दिवस मनाउँदै आएको जानकारी दिनुभयो ।

उहाँले एकातिर विद्युत् सुरक्षाका बारेमा जानकारी नभएर सर्वसाधारणहरू विद्युत् दुर्घटनाका शिकार बन्न पुगेका र अर्कोतिर विद्युत्कै क्षेत्रमा काम गरिरहेकाहरू पनि विभिन्न किसिमका लापरबाहीका कारण विद्युत् दुर्घटनामा वृद्धि भइरहेकाले यसको न्यूनीकरणका लागि सिन प्रयत्नरत रहेको बताउनुभयो । उहाँले आगामी दिनमा घर–घरमा हाउस वायरिङको काम गर्ने कामदारहरूलाई समेत विद्युत् सुरक्षासम्बन्धी निःशुल्क तालिम दिने सिनको योजना रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्