भै‌‌सेपाटीमा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास तयार हुँदै



मधुसूदन रायमाझी, काठमाडौंं

सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि निवास र कार्यालयको काम तीव्र गतिमा अगाडि बढेको छ । सरकारले मुख्त्रीमन्त्री र प्रदेश प्रमुखका लागि ललिपुरको भैंसेपाटीस्थित आवास क्षेत्रमा निर्माण शुरु गरेको भवनको काम धमाधम भइरहेको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवास तथा सम्पर्क कार्यालयको काम ४५ प्रतिशत सम्पन्न भएको छ ।

लकडाउनको अवधिमा पनि काम भएका कारण तोकिएकै समयसीमाभित्र भवन निर्माणको काम सम्पन्न गराउने गरी काम भइरहेको शहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन समन्वय आयोजनाका निर्देशक दिलीपशेखर श्रेष्ठले बताउनुभयो । उहाँले मुख्यमन्त्री र प्रदेश प्रमुखहरुको निवास एवं सम्पर्क कार्यालय भवन निर्माणको काम आशालाग्दो ढंगले अगाडि बढेको बताउनुभयो ।हाल २७ रोपनी १३ आना क्षेत्रफलमा मुख्यमन्त्री र प्रदेश प्रमुखको भवन तथा सम्पर्क कार्यालयहरु निर्माण भइरहेको छ । जसअन्तर्गत १७ रोपनी ७ आनामा भवन, ५ रोपनीमा आन्तरिक सडक, ८ आनामा बगैंचा र पोखरी र ४ रोपनी १२ आनामा पार्किक तथा हरियाली क्षेत्र हुनेछ । पहिलो चरणमा हाल भवन निर्माणको काम भइरहेको छ । आयोजनाका सिनिरियर डिभिजन इन्जिनियर प्रमोद कर्माचार्यले आगामी ६ महिनाभित्र भवन निर्माणको काम सम्पन्न गराउने गरी काम भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘तोकिएकै समयभित्र सम्पन्न हुने हामीले आशा गरेका छौं ।’ कर्माचार्यले गुणस्तरीयरूपमा भवन निर्माणको काम अगाडि बढिरहेको बताउँदै आयोजनाले नियमितरूपमा भवनको अनुगमन गरिरहेको बताउनुभयो ।हाल सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा भवन निर्माण भइरहेको छ । प्रत्येक ब्लकमा दुईवटा भवन रहेका छन् । एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुनेछ । भवन सुविधासम्पन्न ढंगले निर्माण भइरहेको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि निर्माण भइरहेको भवन साढे दुई तलाको रहेको छ । भुइँ तलामा प्रतीक्षा कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय, गोप्य कोठा र २५ जना क्षमताको बैठक हल हुनेछ । पहिलो तल्लामा बैठक कक्ष, ध्यान र योग कोठा, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको सुत्ने कोठासहित तीन कोठा हुनेछ भने दोस्रो तलामा भान्साकोठा, पाहुना कोठा, परिवारका सदस्य सुत्ने कोठा र पूजाकोठाहरु रहने गरी निर्माण भइरहेको छ । त्यसै गरी, परिसरभित्र ५० वटा बढी निजी सवारीसाधन पार्किङ गर्न मिल्नेछ ।

भवन निर्माणको जिम्मेवारी पाएको केसी-समानान्तर जेभीका आधिकारिक प्रतिनिधि अच्युत खरेलले तोकिएकै मितिमा भवन निर्माणको काम सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो । उहाँले अधिकांश भवनको अहिले फिनिसिङको काम भइरहेको बताउँदै आवश्यक जनशक्ति परिचालन गरेर काम भइरहेको बताउनुभयो । करिब ७३ करोड लागतमा निर्माणाधीन मुख्यमन्त्री एवं प्रदेश प्रमुख भवनको १३ असोज २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्