पत्रकार महासंघ म्याग्दीमा पौडेल निर्वाचित



प्रताप बानियाँ, म्याग्दी ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित हुनुभएको छ । बुधबार भएको मतदानको बिहिबार बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार पौडेलले ३० मत ल्याएर निर्वाचित हुनुभएका हो ।

पौडेलका प्रतिस्पर्धी ठाकुरप्रसाद आचार्यले २७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । कुल ६२ जना मतदाता रहेकामध्ये ५८ मत खसेकोमा एक मत खाली परेको थियो । यसैगरी उपाध्यक्षमा हरिकृष्ण गौतम (२९ मत), महिला उपाध्यक्षमा रुद्रकुमारी खत्री (मालती) (३०), सचिवमा सन्तोष गौतम (२९), कोषाध्यक्षमा दलबहादुुर विश्वकर्मा अमित (३०), खुल्ला सहसचिवमा प्रमोद शर्मा (३२) र समावेशी सहसचिवमा साधन घर्ती राम्जाली (२९) मत प्राप्त गरी विजयी बन्नुभएको छ ।

त्यस्तै खुल्ला सदस्यतर्फ सबैभन्दा धेरै मत ल्याएर विजयी हुने कृष्ण जिसी (३२), सन्दिप खत्री (३१), कमल खत्री, अमृत बास्कुने र सन्दिप शर्मा रिजालले क्रमशः ३०÷३० मत प्राप्त गरेर विजयी भएको निर्वाचन समितिका संयोजक प्रेमबहादुर कार्कीले जानकारी दिनुभयो । दलित सदस्यतर्फ पदम विश्वकर्माले (३० मत) र समावेशी सदस्यमा नजरानासिंह ठकुरीले २९ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन संयोजक कार्कीले बताउनुभयो ।

त्यसैगरी महिला सदस्यमा जेनिशा पुरी र जनजाति सदस्यमा स्वतन्त्र उम्मेदवार सुदर्शनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो । महासंघको अध्यक्ष पदमा ठाकुरप्रसाद आचार्य र प्रकाश पौडेलको नेतृत्वमा दुईवटा प्यानलबाट २२ पदका लागि ४४ जनाले उमेद्वारी दर्ता गरेका थिए ।

आचार्यको समूहबाट उम्मेदवारी दर्ता गरेका केन्द्रीय परिषद् सदस्यमा यसअघि महिलातर्फ सविता बानियाँ तथा धु्रवसागर शर्मा निर्विरोध निर्वाचित हुनुभएको थियो । प्रदेश परिषद सदस्यमा आचार्य समूहका निर्मल खत्री, बिक्रम बोगटी, पौडेल समूहका अमर बानियाँ र देवीप्रसाद शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।

पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष प्रकाश पौडेलले आगामी दिनमा पत्रकार महासंघको संस्थागत विकास गर्नेतर्फ आफू लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । देश सङ्घीय संरचनामा गएपछि विधान संशोधन गरी पहिलोपटक पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा एकैसाथ प्रत्यक्ष प्रणालीमार्फत निर्वाचन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्