लगानी बढाउन ईयुलाई आग्रह



नेपाल समाचारपत्र, काठमाडौं  ।

नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजबीच द्विपक्षीय सम्बन्ध र व्यापार प्रवद्र्धनका विषयमा छलफल भएको छ । छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघद्वारा ‘मेक इन नेपाल–स्वदेशी’ अभियानबारेमा जानकारी दिँदै विगतमा युरोपियन युनियन र परिसंघको सहकार्यमा अगाडि बढाइएका कार्यक्रम र परियोजनाको बारेमा प्रकाश पार्नु भएको थियो ।

युरोपियन युनियनबाट प्राविधिक सहयोगको अपेक्षा राखेको बताउँदै हाल सुरक्षाको कारण देखाउँदै नेपाली हवाई उड्डयनलाई लगाएको प्रतिबन्ध हटाउनुपर्ने धारणा राख्नुभयो । अध्यक्ष मोरले नेपालको हवाई उड्डयन क्षेत्रले सु्रक्षामा विशेष ध्यान पु-याई रहेकाले युरोपबाट पनि नेपालमा पर्यटक भित्र्याउनको लागि सहयोग गर्न अनुरोध गर्नुभयो । त्यसैगरी भारतसँग भएको व्यापार सम्झौताअनुसार शुल्कमुक्त निर्यात भइरहेकाले युरोपमा पनि कसरी निर्यात बढाउन सकिन्छ, त्यसतर्फ सहयोग पु¥याउन राजदूत डेप्रेजलाई अनुरोध गर्नुभयो । सीप विकासबाट नै उत्पादकत्व वृद्धि गर्न सकिने भएकाले प्राविधिक सीप विकासमा सहयोग पु¥याउन आग्रह गर्नुभयो ।त्यस्तै परिसंघका वरिष्ठ आर्थिक सल्लाहकार डा. विश्व पौडेलले नेपाल कम विकसित राष्ट्रबाट माथि जाँदै गर्दा युरोपियन युनियनले प्रदान गरेका व्यापार सुविधा स्वतः हट्ने भएकाले युरोपका मुलुकमा भएको व्यापार १० प्रतिशतले घट्नेतर्फ संकेत गर्दै नेपालमा विप्रेषणबाट भएको आम्दानीले उपभोग बढ्दै गएको बताउनुभयो ।

उहाँले नेपाल र युरोपियन युनियनको सम्बन्धमाथि प्रकाश पार्दै नेपालमा औद्योगिक सर्भे नभएको र भएका सर्भेहरु पनि सम्बन्धित संस्थाको सीमित प्रयोजनका लागि भएकाले परिसंघले औद्योगिक सर्भे नियमितरुपमा प्रकाशन गर्दै जाने बताउनुभयो । परिसंघ उत्पादनमूलक उद्योगमा केन्द्रित भएकाले सरकारसँग सहकार्य गरिरहेको बताउँदै परिसंघले कृषिजन्य र विटुमिन लगायतका कम्तिमा आठवटा उद्योगसँग सम्बन्धित वस्तुको आयात प्रतिस्थापन गर्नेतर्फ परिसंघ अगाडि बढेको बताउनुभयो ।परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघले धेरै देशका चेम्बरको साझा मञ्चको रुपमा युनियन अफ एशियन चेम्बर गठन गर्न लागेको बताउँदै युरोपका चेम्बरहरुसँग सम्भावित व्यापार साझेदारको लागि समन्वय गरिदिन अनुरोध गर्नुभयो । त्यस्तै युरोपियन युनियनले युरोपका कम्पनीहरुसँग प्राविधिक सहकार्य गर्न र सीप विकासको लागि सहयोग गर्न अनुरोध गर्नुभयो । युरोपियन लगानीमा रहेको इआइडिसी पूर्वाधार विकासमा केन्द्रित भएकाले त्यसमार्फत नेपालमा लगानी बढाउन अनुरोध गर्नुभयो ।

परिसंघका अर्का उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले युरोपियन युनियनको आर्थिक सहयोग र दक्षतासँगको सहकार्यमा निजी क्षेत्रको आवश्यकता अनुरुप युवा जनशक्तिको सीप विकास गर्नको लागि निजी क्षेत्रको सहभागितामा श्रमबजार सूचना सम्बन्धी सरल र प्रभावकारी पद्दतिको निर्माण गर्न इएलएमएस परियोजना अगाडि बढाई रहेको बताउनुभयो ।छलफलमा राजदूत डेप्रेजले युरोपियन युनियले नेपाल सरकारलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको सन्दर्भ उल्लेख गर्दै नीति निर्माणमा सहयोग पु-याउन इच्छुक रहेको बताउनुभयो । स्वस्थ व्यक्ति स्वस्थ पृथ्वीको अवधारणा अगाडि सार्दै मानव गतिविधिको कारण वातावरणमा पर्ने प्रभावलाई न्यूनीकरण गर्न ग्रिन टेक्नोनोजीलाई प्रवद्र्धन, प्रविधिको विकास, वातावरणसँग सम्बन्धित मापदण्डलाई आत्मसात गरी कार्वन उत्सर्जन कम गर्नको लागि निजी क्षेत्रसँग सहकार्य गर्न सकिने उहाँको धारणा थियो ।

राजदूत डेप्रेजले वैदेशिक लगानीको लागि नियामक निकायबाट सहज नभएको तर्क राख्दै लगानीमैत्री वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो । नेपाल एलडीसीबाट ग्र्याजुएट भएपछि प्रतिस्पर्धी क्षमता विकास गरी युरोपियन बजारबाट लाभ लिन सकिने बताउनुभयो । त्यसैगरी नेपालबाट युरोपियन युनियनमा आबद्ध देशमा निर्यात हुँदै आएको वस्तु निर्यात गर्न सहयोग गर्ने, पर्यटन प्रवद्र्धनको लागि सहयोग पु-याउने र हवाई उड्डयनका सम्बन्धमा देखिएको समस्यालाई समाधान गर्नको लागि पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्