प्राइम बैंकले नाईलाई सहज कर्जा दिने



काठमाडौ, (नेस) । 

प्राइम कमर्सियल बैंकले जनसंख्याले अल्पसंख्यक, सामाजिक आर्थिकस्तरले पिछडा वर्ग र पेशाको हिसाबले कपाल काट्ने पुख्र्यौली पेशा रहेका नेपालका नाईहरुको व्यावसायिक विकासको माध्यमबाट समग्र जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्ने उद्देश्यले नाईहरुको छाता संगठन नेपाल नाई टे«ड युनियनसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । समझदारी पत्रमा युनियनका केन्द्रीय समितिका अध्यक्ष गजेन्द्र ठाकुर र बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले हस्ताक्षर गर्नुभएको हो ।

समझदारीअनुसार बैंकले युनियनका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा रहेका ४१ जिल्लाका करिब ३१ हजार नाई तथा युनियनका कर्मचारीको प्राइम बैंकमा संस्थागत, व्यावसायिक तथा व्यक्तिगत बैंक खाता खोल्ने व्यवस्था गर्नेछ । व्यक्तिगत खाता सञ्चालन गरेका सदस्यलाई बैंकले पहिलो वर्ष निशुल्क सेवासहित मोबाइल बैंकिङ, भिसा डेविट कार्ड, परिवारका २ जनासम्मको डिम्याट खाता खोल्ने सेवा उपलब्ध गराउनेछ । सामाजिक सुरक्षातर्फ सम्झौता भएको मितिले २ वर्षभित्र व्यक्तिगत खाता खोल्ने सदस्यका लागि ५ लाख बराबरको दुर्घटना वीमा र २५ हजार बराबरको अस्पताल भर्ना वीमा उपलब्ध गराउनेछ । डिजिटल बैंकिङतर्फ व्यवसाय खाता सञ्चालन गरेका सदस्यका लागि क्यु.आर. कोडको व्यवस्था गर्नेछ र यस मार्फत कारोबार गरेवापत यो सम्झौता मितिले पहिलो ३ महिनासम्मका लागि कारोबारमा प्रोत्साहन स्वरुप बैंकले प्रति कारोबार ५ रुपियाँ थप गरिदिनेछ ।

यसैगरी कर्जा सेवातर्फ एक धितोमा प्रतिऋणी ५० हजारदेखि २ लाखसम्म सरल प्रक्रियाबाट सामुहिक लगानी गर्नेछ । साथै, आवश्यक्ताको आधारमा उपकरण कर्जा, अतिरिक्त उपभोग कर्जा आदि थप गर्न सक्नेछ । ठूला कर्जा लगानी सम्बन्धमा सम्भाव्यताको प्राविधिक सहजीकरणसहित कर्जा प्रवाह गर्नेछ । चालू आवको अन्तिम चौमासिकभित्र व्यक्तिगत, व्यावसायिक तथा युनियनको संस्थागत गरी कम्तीमा २००० सदस्यको खाता खोल्ने, देशभरका ५००० सदस्यमा बैंकिङ तथा बीमा साक्षरता पु¥याउने र कम्तीमा ३०० जना व्यवसायीलाई कोरोना प्रभावित व्यवसाय पुनःउत्थान सहुलियत कर्जा प्रवाह गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्