पुलिस र न्यु डायमन्ड उपाधिका लागि भिड्ने



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल पुलिस क्लब र ह्वङ्गवान्जी न्यु डायमन्ड क्लब पाँचाै‌ आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधिका लागि भिड्ने भएका छन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको बुधबार सम्पन्न लिगको अन्तिम खेलमा चिर प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३–१ सेटले पराजित गर्दै डायमन्ड फाइनल प्रवेश गरेको हो । फाइनल प्रवेशका लागि दुवै टोलीलाई जित आवश्यक रहेको अवस्थामा डायमन्डले २५–२१, २६–२४, १४–२५ र २५–२१ ले जितलाई आफ्नो पक्षमा पारेको हो । डायमन्डको ५ खेलबाट १३ अंक भएको छ ।अर्को खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–०को सोझो सेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । पुलिसले आर्मीलाई २६–२४, २५–१७, २८–२६ ले पराजित गरेको हो । पुलिसको ५ खेलबाट ११ अंक रहेको छ । यस्तै, एपीएफको १० र आर्मीको ८ अंक रहेको छ । एपीएफ तेश्रो र आर्मी चौथो भएका छन् । यस्तै, भरतपुर मेट्रो ३ अंकका साथ पाँचाै‌ र कुनै पनि अंक नजोडेको ढोरपाटन स्पोर्टस् क्लब छैटौं स्थानमा रहेका छन् । प्रतियोगितामा महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो ।

दशरथ रङ्गशाला कभर्डहलमा भएको प्रतियोगिताको पुरुषतर्फ बुलबुले रारा क्लबले नयाँबजार समाज युवा क्लबलाई ३ । ० सेटमा पराजित गर्दै महत्व पूर्ण ३ अंक जोड्यो । यो संगै बुलबुलेको १२ अंक भएको छ । बुलबुलेले २५-१९, २५-१२, २५-२१ ले जित निकाल्दै आफ्नो खातामा १२ अंक पु-याएको हो । फाइनल प्रवेशका लागि बुलबुलेले हेल्प नेपाल र नेपाल एपीएफको खेलको प्रतीक्षा गर्नुपर्ने छ । एपीएफले यदि हेल्प नेपाललाई पराजित गरेको खण्डमा एपीएफ र हेल्प नेपाल बीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । हेल्प नेपाल यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

हेल्प नेपालको ५ खेलबाट १५ अंक रहेको छ भने एपीएफको १० अंक छ । बुलबुले राराको ६ खेलबाट १२ अंक रहेको छ । नेपाल पुलिसले आज भएको प्रतिपर्धामा आर्मीलाई ३-० ले पराजित गर्दै ११ अंक बनाएको हो । पहिलो र दोश्रो सेटमा आर्मीलाई १९-२५, २३-२५ को नतिजा सुम्पेको पुलिस खेलमा फर्कंदै तेश्रो सेटमा २६-२४, चौथोमा २५-२३ र पाँचौं र निर्णायक सेटमा १५-११ ले जित निकालेको हो । आर्मीको को ९ अंक रहेको छ । भर्खरै प्राप्त जानकारीअनुसार एपीएफले हेल्प नेपाललाई पहिलो सेटमा २५-१८ ले पराजित गरेको छ । अन्य विवरण प्राप्त हुन बाँकी छ ।प्रतियोगितामा लिगमा शीर्ष दुई स्थान प्राप्त गर्ने टिमबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितमा विजयी टिमले नगद ३ लाखसहित ट्रफी प्राप्त गर्ने छ । उपविजेताले १ लाख ५० हजार, तेश्रोले ७५ हजार र चौथोले ३७ हजार ५ सय प्राप्त गर्नेछन् । यसका साथै खेलाडीहरूले मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष दुई खेलाडीले जनही २५ हजार र विधागतमा उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्