आर्मीको एएफसी प्लेअफमा शानदार जित 



नेपाल समाचारपत्र, काठमाडौं

नेपाली क्लबबाट प्रतिनिधित्व गरेको त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको दक्षिण एसियाली छनोट अन्तर्गत ‘प्लेअफ’ चरणको पहिलो खेलमा शानदार जित हात पारेको छ ।

दशरथ रंगशालामा बुधबार खेलेको खेलमा आर्मीले पाहुना टिम श्रीलंकाको पुलिस स्पोर्ट्स क्लबलाई ५–१ ले हरायो । विभागीय टिमले एएफसीको समूह चरणमा पुग्न प्लेअफका अन्य तीन खेल जित्नुपर्ने हुन्छ । दक्षिण एसियाको प्लेअफ छनोटबाट अघि बढ्ने टोली एएफसी कपको लागि समुह ‘डी’ मा पर्नेछ ।आर्मीले दोस्रो खेलमा अप्रिल १४ मा भारतको बेंगलुरु फुटबल क्लबको सामना गर्नेछ । उक्त खेल गोवाको जीएमसी रंगशालामा हुनेछ । उक्त खेलमा जितेमा आर्मीले अप्रिल २१ मा प्लेअफ फाइनलनमा खेल्न पाउनेछ । प्लेअफअन्तर्गत अर्को समूहमा माल्दिभ्सको क्लब ‘इगल्स’ र भुटानको ‘थिम्पु सिटीली’बीच खेल माल्दिभ्समा हुनेछ । उक्त खेलको विजेताले अबहानी लिमिटेड ढाकासँग बंगलादेशमा खेल्नेछ । उक्त खेलको विजेताले अर्को पोलको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको समूह डी मा दक्षिण एसियाका ४ टोली समावेश हुनेछन् । प्लेअफबाट १ टोली छनोट हुँदा तीन टोलीको स्थान भने पक्का भइसकेको छ । भारतबाट एटिके मोहुन बगान, बंगलादेशको बसुन्धारा किंग्स र माल्दिभ्सको माजिया स्पोर्ट्स घरेलु लिगको स्थानका आधारमा समूहमा स्थान बनाउन सफल भएका हुन् । समूह चरणका खेलहरू आगामी १४ मेदेखि शुरू हुनेछ ।आर्मीले आफ्नो घरेलु मैदानमा १–० ले पछि परेको स्थितिलाई उल्ट्याएर जित हात पारेको हो । श्रीलंकाली टिमका इभान्स एसान्तेले गोल गरेपछि आर्मी १–० ले पछि परेको थियो । तर, यसपछि दुई गोल थपेर आर्मीले पहिलो हाफमा २–१ को अग्रता लिएको थियो । सन्तोष तामाङले ४१औं मिनेटमा बराबरी गोल फर्काए भने यसको दुई मिनेटमा भरत खवासको क्रसमा नवयुग श्रेष्ठले गोल गरेका थिए ।

दोस्रो हाफमा आर्मीले ३ गोल थपेको थियो । टंक बस्नेतले ५०औं मिनेटमा गोल गरेर टिमलाई ३–१ को अग्रतामा राखे । सब्सिच्युट खेलाडी सुदिल राईले खेलको ८३ औं मिनेटमा गोल गरेपछि आर्मी ४–१ को अग्रतामा पुगेको थियो । सुदिल ६३ औं मिनेटमा टंक बस्नेतको स्थानमा खेल्न आएका थिए । इन्जुरी समयमा नवयुगले गोल थपेपछि आर्मीले शानदार जित हासिल गरेको थियो । आर्मीले एएफसी लाइसेन्स प्राप्त गरेपछि सो प्रतियोगिता खेल्न पाएको हो । जबकि, उक्त प्रतियोगितामा ‘ए’ डिभिजन लिग च्याम्पियनले खेल्न पाउने प्रावधान रहेको छ । ए डिभिजन लिगमा मच्छिन्द्र क्लब च्याम्पियन बनेको हो ।

प्रतिक्रिया दिनुहोस्