हैजाबारे केही तथ्यहरु



हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियमको कारणले हुने सानो आन्द्राको संक्रमण भन्ने बुझिन्छ । नेपाली बृहत् शब्दकोशमा यसलाई तारन्तार दिसा र वमन भइरहने एक संक्रामक रोग भनेर लेखिएको छ । यसका लक्षणहरू कुनै पनि नदेखिनेदेखि मध्यम हुँदै गम्भीरसम्मका हुन्छन् । केही दिनसम्म निरन्तर तथा ठूलो मात्रामा पातलो दिसा लाग्नु यस रोगको प्रमुख लक्षण हो । बान्ता हुने तथा मांसपेसी बाउँडिने समस्या पनि देखिन सक्छ ।

हैजाका कारणले लाग्ने पखालाले केही घण्टाभित्रै गम्भीर जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ । यसका कारण आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी परेर जाने पनि हुन सक्छ । शरीरमा भएको जलवियोजनका कारण छाला नीलो भएर जान सक्छ । हैजाको कीटाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षणहरू देखिने गर्दछन् ।हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरियाका कारणले हुने रोग हो । जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन् । यो रोग प्रायः भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्पर्कमा आएको पानी तथा खानाका कारण सर्ने गर्दछ । राम्रोसँग नपाकेको समुद्री खाना (सी फुड) यो ब्याक्टेरियाको मुख्य स्रोत हो । हैजाले मानिसहरूलाई मात्र असर पु¥याउँछ । सरसफाइको अभाव, सफा पिउने पानीको अभाव तथा गरिबीले यसको जोखिमलाई बढाउने गर्दछन् । त्यस्तै समुद्री सतह बढ्यो भने पनि हैजाको संक्रमण दर बढ्छ भन्ने विश्वास गरिन्छ । दिसाको परीक्षण गरेर हैजाको पहिचान गर्न सकिन्छ । दिसामा एक विशेष किसिमको छडी डुबाएर परीक्षण गरिने ¥यापिड डिपस्टिक टेस्ट पनि उपलब्ध छ तर यसले भरपर्दो नतिजा दिँदैन ।

हैजाबाट बच्न सरसफाइ तथा सफा पिउने पानीको व्यवस्था गर्नु आवश्यक छ । बच्चा छ महिनाको भएपछि हैजाविरुद्धको खोप मुखबाट खुवाइन्छ । यस्तो खोपले ई–कोलाई नामको ब्याक्टेरियमका कारणले हुने झाडापखालाबाट समेत बचाउँछ । हैजाको प्राथमिक उपचारको लागि पानी वा तरल पदार्थ खुवाएर ओरल रिहाइड्रेसन थेरापी गरिन्छ ।यस्तो उपचारमा हल्का गुलिया तथा नुनिला घोलहरू (जस्तै– नून–चिनी–पानी, जीवन जल) खुवाएर दिसामा खेर जाने तरल पदार्थको सट्टाभर्ना गरिन्छ । यस्तो बेलामा चामलबाट बनेका झोल खानेकुराहरू राम्रा मानिन्छन् । जटिल अवस्थाहरूमा रिन्जर्स ल्याक्टेटजस्ता नसाबाट दिइने तरल पदार्थहरू प्रभावकारी हुन्छन् भने एन्टिबायोटिक औषधिको प्रयोग पनि लाभदायक हुन सक्छ । बालबालिकाहरूलाई जिंक चक्की खुवाउँदा लाभदायक हुन्छ । बिरामीको शरीरमा भएका ब्याक्टेरियालाई कुन एन्टिबायोटिकले मार्न सक्छ भन्ने जाँचेर कुन औषधि दिने भन्ने निर्णय गर्नु प्रभावकारी हुन्छ ।हैजा महामारीको रूपमा अचानक देखिने तथा कुनै निश्चित स्थानमा लामो अवधिसम्म रहिरहने खालको पनि हुन्छ । हाल अफ्रिका तथा दक्षिणपूर्वी एसियाका केही क्षेत्रहरू हैजाको जोखिममा छन् । प्रायः यस रोगबाट प्रभावितमध्ये ५ प्रतिशतभन्दा कम मानिसको मृत्यु हुने भए पनि उपचारको पहुँच नभएका मानिसहरूको समुदायमा यस्तो मृत्युदर ५० प्रतिशतसम्म पुगेको पाइन्छ ।

हैजाका मुख्य लक्षणहरू ठूलो मात्रामा पानी जस्तै– पातलो पखाला लाग्नु तथा बान्ता हुनु हुन् । प्रायजसो यी लक्षणहरू शरीरमा ब्याक्टेरिया छिरेको आधा दिनदेखि पाँच दिनभित्र अचानक देखा पर्छन् । हैजाका कारणले हुने पखाला चौलानीजस्तै सेतो हुने हुनाले यसलाई अंग्रेजीमा राइस वाट भनिन्छ । यस्तो पखालाको गन्ध माछाको जस्तै हुन्छ ।उपचार नगरिएको बिरामीले दिनभरमा १० देखि २० लिटरसम्म पखाला गर्न सक्छ । यदि गम्भीर खालको हैजाको उपचार गरिएन भने यसले मानिसको मृत्यु नै हुने गरी जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ । उपचार नगरिएको कडा खालको हैजाले संक्रमितमध्ये करिब आधा जति मानिसलाई मृत्युको मुखमा पु¥याउँछ । हैजा लागेका सय मानिसहरूमध्ये लगभग तीनजनालाई लक्षण नदेखाउने खालको संक्रमण हुने सम्भावना हुन्छ ।प्रायजसो हैजाको कारणले ज्वरो आउँदैन । यदि ज्वरो आइहाल्यो भने थप संक्रमण भएको हुन सक्छ । बिरामीहरू अत्यन्तै कमजोर हुन्छन् । त्यस्तै आँखा गढ्ने, मुख सुक्ने, छाला चिसो र ओसिलो हुने, छालाको लचकतामा कमी आउने वा हातगोडा चाउरी पर्नेजस्ता लक्षणहरू पनि देखिन्छन् । दिसामा बाइकार्बोनेट बाहिरिने हुनाले एसिडोसिस भएर लामो–लामो सास फेर्ने तथा सास फेर्न गाह्रो हुने समस्या पनि देखा पर्न सक्छ ।तरल पदार्थको अभावका कारण आन्तरिक बहाव प्रभावित भई ल्याक्टिक एसिडोसिस हुन सक्छ । जलवियोजनका कारण रक्तचाप घट्छ, नाडी छिटो–छिटो चल्छ तर महसुस गर्न गाह्रो हुन्छ र समयसँगै पिसाबको मात्रा घट्दै जान्छ । शरीरमा इलेक्ट्रोलाइटको अभाव तथा आयोन सिफ्टका कारण विशेष गरी बालबालिकाहरूमा मांसपेशी बाउँडिने तथा कमजोरी हुने, बेहोस हुने, सिजर वा कोमामा जानेजस्ता लक्षण देखिन्छ ।

विशेष गरी दुईदेखि चार वर्षका बालबालिकाहरूमा अत्यधिक संक्रमण भएको पाइन्छ । मानिसको व्यक्तिगत हैजा रोग लाग्ने क्षमता उसको रगतको समूहबाट पनि प्रभावित हुन्छ । रगत समूह ओ भएका मानिसहरूलाई यो रोग लाग्ने सम्भावना धेरै हुन्छ । एड्स लागेका मानिसहरू वा कुपोषणको सिकार भएका बालबालिकाहरूमा यो रोगको संक्रमण भयो भने यसले कडा रूप लिन सक्छ ।हैजाको कीटाणु मानिसबाहेक अन्य दुई जीवस् सेलफिस (शङ्खेकीरा) तथा प्लाङ्क्टनमा पाइएको छ । हैजा साधारणतया कीटाणुयुक्त खाना वा पानीबाट मानिसमा सर्ने गर्दछ । विकसित मुलुकहरूमा हैजा प्रदूषित खानाका कारणले लाग्ने गर्दछ भने विकासोन्मुख देशहरूमा प्रायजसो पानीका कारणले यो रोग सर्ने गरेको पाइन्छ । खानेकुराबाट हैजा सर्नुमा ढलको पानी मिसिएको ठाउँबाट निकालिएका शंखेकीराहरूको मुख्य भूमिका रहन्छ । हैजाका कीटाणुहरू जुप्लाङ्क्टनमा थुप्रिने गर्दछन्, जुन शंखेकीराहरूको मुख्य आहार हो । यस्ता कीराहरू काँचै खाइने हुनाले संक्रमणको सम्भावना अत्यधिक रहन्छ ।

हैजा लागेका मानिसहरूलाई प्रायः पखाला लाग्ने गर्दछ । पानीजतिकै पातलो झोल दिसा यदि अरूले प्रयोग गर्ने पानीमा मिसियो भने यो रोग सर्ने सम्भावना हुन्छ । साधारणतया यो रोगको स्रोत हैजा लागेका बिरामी नै हुने गर्दछन् । यदि रोगीको दिसा सीधै जमिनमुनिको पानी वा खानेपानीको स्रोतमा मिसियो भने हैजा फैलिन सक्छ । प्रदूषित पानी, यस्तो पानीमा पखालिएको खानेकुरा वा प्रदूषित पानीबाट निकालिएको शंखेकीराहरू खानाले मानिसलाई हैजाको संक्रमण हुन सक्छ । यो रोग मानिसबाट मानिसमा सीधा सरेको विरलै पाइन्छ ।
मानिसको दिसामा भिब्रियो कलेराको उपस्थिति जाँच गर्न ¥यापिड डिपस्टिक टेस्ट पनि उपलब्ध छ । यदि दिसामा ब्याक्टेरिया पाइयो भने ती ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोध क्षमता भए÷नभएको पत्ता लगाउन थप परीक्षणहरू गरिन्छ । महामारीको समयमा बिरामीको इतिहास तथा सामान्य स्वास्थ्य परीक्षणबाट नै रोग पहिचान गरिन्छ । साधारणतया प्रयोगशाला परीक्षण नगरी वा गरे पनि नतिजा नआउँदै उपचार शुरु गरिन्छ ।
सुरवीर बस्न्यात, पोखरा 

प्रतिक्रिया दिनुहोस्