कांग्रेस संकटमा छैन: देउवा



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताउनुभएको छ । उहाँले सो कुरा जोशीकोे १३औं दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा बताउनुभएको हो ।

स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय भएको देउवाको भनाइ थियो । उहाँले स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र जोशीको निधनले पार्टी हाँक्ने नेता गुमाउनुपरेको बताउनुभयो ।फरक प्रसंगमा पार्टी सभापति देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको बताउनुभएको छ । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रममा बोलेको विषयलाई खण्डन गर्दै देउवाले पार्टी कहिल्यै पनि संकटमा नरहेको बताउनुभयो । पार्टीका नेता कार्यकर्तालाई आफैंले आफैंलाई कमजोर नबनाउन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौं । पार्टी जितहारले संकटमा नभइ धेरैपटक हामी हारेका छौं । धेरैपटक जितेका पनि छौं । त्यसै कारण हामीले डिमोरलाइज हुने काम छैन । आफैंले आफैंलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन ।’

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधनले पार्टीमा अपूरणीय क्षति पुगेको बताउनुभयो । स्वर्गीय जोशीले थालेको कामलाई सबै मिलेर सम्पन्न गर्नमा पनि जोड दिनुपर्ने उहाँको भनाइ थियो ।यसैबीच नेपाली कांग्रेसका नेताहरूले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् । नेपाल विद्यार्थी संघले नेता जोशीको १२औँ पुण्य तिथिका अवसरमा मंगलबार आयोजित श्रद्धाञ्जलीसभामा नेताहरुले स्वर्गीय जोशीमा निष्ठा, निरन्तरता र इमानदारिता भएको बताएका हुन् ।कार्यक्रममा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्वर्गीय जोशीको राजनीतिलाई २०४६ सालको जनआन्दोलन पहिले र जनआन्दोलन पछाडि गरी दुई पाटोबाट अध्ययन गर्नुपर्ने बताउनुभयोे । पार्टीभित्रको विवाद समाधानमा सदैव लाग्ने नेता जोशी सबैको प्यारो नेता भएको उहाँको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले स्वर्गीय जोशी विद्यार्थी आन्दोलनको अगुवा नेता भएको बताउनुभयो । ‘जोशीको निधनले देश र कांग्रेसले एक असल नेता गुमायो।’ –उहाँले भन्नुभयो । राजनीति गर्ने व्यक्तिले नवीन्द्रराजबाट पाठ सिक्नुपर्ने उहाँको भनाइ थियो ।कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँणले जोशीको निधनले नेविसंघ र कांग्रेसलाई अतुलनीय क्षति पुगेको बताउनुभयो । आँखामा राख्दा नबिझाउने नेता स्व. जोशी भएको उहाँको भनाइ थियो । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले स्व. जोशी अत्यन्त चतुर र शालीन नेता भएको बताउनुभयो । कांग्रेसको संगठन विस्तारमा जोशीको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमला पन्तले स्व. जोशीले दुःखका बेला राजनीति गरेको बताउनुभयो ।

नेता जोशी नेपाली राजनीतिको प्रेरणाको स्रोत भएको उहाँले बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य एवं नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेलले स्व. जोशीको विचार र आदर्शले आफूलाई राजनीतिमा आउन प्रेरणा मिलेको बताउनुभयो । नेविसंघका अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्री उर्मिला थपलिया, दीपक भट्टराईलगायतले कांग्रेस र नेविसंघलाई बलियो बनाए मात्र नेता जोशीप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्