रात्रिकालीन व्यवसाय तथा रेस्टुराँ ९ बजेपछि बन्द हुने



काठमाडौं, (नेस) ।

कोरोना महामारीका कारण थला परेको होटेल, रेस्टुराँ व्यवसाय भर्खरभर्खरै वामे सर्न थालेका बेलामा सरकारले फेरि राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी रात्रिकालीन व्यवसाय तथा रेस्टुराँहरू राति ९ बजेपछि कडाइका साथ बन्द गराउन अनुरोध गरेको छ । मन्त्रालयले हाल बढ्दो जनस्वास्थ्यका मापदण्डको उल्लंघन र संक्रमण तथा बेलायत भेरियन्टको बढ्दो संख्यालाई मध्यनजर गर्दै यस्तो सूचना जारी गर्नुपरेको बताएको छ । मन्त्रालयले जारी गरेको १० बुँदे विज्ञप्तिमा सपिङ मल, नाचघर, सिनेमाहल, पार्टी प्यालेस, हेल्थ क्ल्ब, स्विमिङ पुललगायतका क्षेत्र, मन्दिरलगायत धार्मिक स्थान जस्ता बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरूमा जनस्वास्थ्यका मापदण्डहरू अति कडाइका साथ पालना गरेर मात्रै सञ्चालन गर्ने÷गराउने व्यवस्था गर्न र गराउन सरोकारवाला सबैमा अनुरोध गरेको छ ।

त्यस्तै, जोखिम बढेका ठूला शहरहरूमा सार्वजनिक यातायातमा यात्रा गर्ने वा भीडभाड कम गर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अनिवार्य पालन गर्न र गराउन पनि सरोकारवाला सबैलाई अनुरोध गरिएको छ ।विज्ञप्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भइरहेको निगरानीमा काठमाडौं, पोखरालगायतका ठूला शहरहरूमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकाले सम्पूर्ण शैक्षिक संस्थाहरूमा संक्रमणको उच्च सतर्कता अपनाउन भनिएको छ । मन्त्रालयले संक्रमणको अवस्था हेरी ठूला शहरहरूमा ५ सयभन्दा बढी र साना शहरहरूमा सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानहरुमा आवगमनलाई कडाइ गर्न स्थानीय प्रशासनलाई अनुरोध गरेको छ ।विज्ञप्तिमा त्यस्तै विदेशबाट फर्केपछि घरमा क्वारेन्टाइनमा रहेका र संक्रमित भएर घरमै आइसोलेसनमा रहेकाले तोकिएका मापदण्डहरू पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीलाई व्यवस्थित र कडाइ गर्न र गराउन स्थानीय तहहरू र स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ । कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा केस अनुसन्धानका लागि एन्टिजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउनका लागि सम्बन्धित स्वास्थ्य कार्यालयहरू र स्थानीयतहहरूलाई अनुरोध गरिएको छ ।

विज्ञप्तिमा मन्त्रालयले विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरूको संख्या सम्बन्धमा वा क्वारेन्टाइन अवधि हटाउने सम्बन्धमा अब आइन्दा कोभिड संकटको बढ्दो जोखिमलाई मध्यनगर गर्दै कडाइका साथ निर्णय लिन तथा कार्यान्वयन गर्न गराउन समन्वय गर्न पनि सरोकारवाला निकायहरुलाई आग्रह गरेको छ ।स्वास्थ्य मन्त्रालयले संक्रामक रोग ऐनबमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । उपत्यकामा मात्रै पछिल्लो २४ घन्टामा काठमाडौंमा १ सय ६३, ललितपुरमा २६ र भक्तपुरमा ५ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्