सांसदमाथि अनुचित रुपमा हमला गर्नु प्रचण्डको प्रतिगामी कार्य हो : मन्त्री साह



न्युज अफ नेपाल, काठमाडौं ।

सहरी विकास मन्त्री प्रभु साहले नेकपा माओवादी केन्द्रले आफूलाई सांसद पदबाट हटाउनु लोकतन्त्रको उपहास भएको बताएका छन् ।साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्णय निरंकुशताको पराकाष्ठा भएको बताएका छन् ।

सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्यूतिएसँगै माओवादी केन्द्रबाट सांसद रहेका साहसहित गृहमन्त्री रामबहादुर थापा, उर्जा मन्त्री टोपबहादुर रायमाझी लगायतका नेता एमालेमा प्रवेश गरेका थिए । आफ्ना सांसदले पार्टी परित्याग गरेपछि माओवादी केन्द्रले मंगलबार लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई कारवाही गर्दै सांसद पदबाटै हटाउन सचिवालयमा पत्रचार गरेको थियो ।

यसैप्रति टिप्पणी गर्दै साहले लेखेका छन् ,जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो । आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता/सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख़्नेहरूले हामी साझा घोषणा-पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन । निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसद्लाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद् पुन:स्थापना पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन् । अर्थात् रूपमा अहिलेकै संसद् सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक/कानुनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुसप्रयास गर्नु आफैमा प्रतिगामी कार्य हो ।’

प्रतिक्रिया दिनुहोस्