पोखरामा मेगा बैंकको क्यूआर कोड सेवा



काठमाडौं, (नेस)

मेगा बैंक नेपालले पोखराका व्यावसायिक पसलमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको शुरुआत गरेको छ । नेपाल राष्ट्र बंैकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुंगामा रहेको घामपानी बजारका साथै लामाचौर, हेम्जाका विभिन्न स्थानमा रहेका पसलबाट सामान खरिद गरेर क्यूआर कोडबाट भुक्तानी गरी क्यूआर कोड सेवाको शुभारम्भ गर्नुभयो ।

उक्त अवसरमा नेपाल राष्ट्र बैक पोखराका प्रमुख निर्देशक ईश्वरीप्रसाद भट्टराई, सहायक निर्देशक धनञ्जय पराजुली, मेगा बैंकका प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, प्रदेश कार्यालयका बजार विभाग प्रमुख लेखनाथ गौतम, नायब प्रदेश प्रमुख राजेन्द्र कोइरालाको उपस्थिति थियो ।यो ब्यवस्थासँगै पोखराका उपभोक्ताहरुले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत सामान खरिद गरेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन ।

नगद कारोबारलाई बिस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढावा दिने नेपाल राष्ट्र बैकको नीति बमोजिम मेगा बैंकले क्यूआर कोड सेवाको बिस्तारलाई तीव्रता दिइरहेको छ । क्यूआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने भएकाले व्यवसायी तथा उपभोक्ताहरुको आर्कषण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्