नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनमा सहकार्य हुने



काठमाडौं, (नेस)

नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ । नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीबीच पर्यटन बोर्डमा भएको भेटवार्तामा दुवै देशबीच पर्यटन प्रर्वद्धन गर्ने विषयमा सकारात्मक कुराकानी भएको होे ।

कतारका राजदूतले नेपाल प्रकृतिको अनुपम उपहार भएको उल्लेख गर्दै पूर्वाधार विकासमा थप जोड दिन सके नेपालले पर्यटनबाट आर्थिक विकास गर्न सक्ने बताउनुभएको छ । यातायातको उचित प्रबन्ध र महँगो हवाई भाडाले गर्दा चाहेर पनि मानिसले नेपाललाई आफ्नो गन्तव्य बनाउन नसकेको उल्लेख गर्दै उहाँले नेपालको पर्यटन विकासका लागि नयाँ ढंगले सोच्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले नेपालमा सरकार र निजी क्षेत्र दुवैले पर्यटन पूर्वाधार विकासमा ध्यान दिइरहको जानकारी गराउँदै पर्यटन बोर्डले कतारसहित मध्यपूर्वमा पर्यटन प्रवद्र्धनका नयाँ योजना अगाडि सारेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्