वायु प्रदूषण नियन्त्रण गर



नेपाली आकाशको वायु मण्डलमा देखिएको तुवाँलोले नेपालको जनजीवन प्रभावित भएको छ । विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं सूचीकृत भएको छ भने दिन प्रतिदिन जनजीवन प्रभावित बन्दै गएको छ । मौसम परिर्वतनसँगै देखिएको यो समस्या अहिले नेपालीको साझा समस्याका रूपमा देखिए पनि यसकोे न्यूनीकरणका लागि भने कहीं कतैबाट पहल भएको देखिँदैन । काठमाडौमा वायु प्रदूषणमा वायुको गुणस्तर खतरनाक तह अर्थात् ३ सय भन्दा बढी देखिएको छ । धनगढी, दाड, पोखरा र हेटौंडा जस्ता शहरमा समेत वायु प्रदूषणको अवस्था दयनीय अवस्थामा पुगेको छ । अहिले मुलुकका प्रमुख शहरका वायुमण्डलमा देखिएको तुवाँलोलाई देशभर लागेको डँडेलोलाई जिम्मेवार मानेका छन् । वर्षा र वायुको प्रणालीमा लामो समयसम्म परिर्वतन नदेखिँदा समस्या बढेको मौसमविद्हरुले बताएका छन् ।

यसको दीर्घकालीन समस्या समाधानमा सरोकारवाला निकाय उदासीन हुनुले चिन्ता थपिदिएको छ । अहिले ठाउँ–ठाउँमा फोहोर बाल्ने, गाडीहरुले फ्याक्ने धूँवा–धूलोसमेत यसको कारक बनेको देखिन्छ । अहिलेको तुवाँलोका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको देखिन्छ भने कतिपय मानिस बिरामी परेर अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत सिर्जना भएको छ । यसअघि यस प्रकारको तुवाँलो देखिएको थिएन तर यस वर्ष भने पटक–पटक यस प्रकारको समस्या देखिएको छ । चैत महिना नेपालमा हुरी चल्ने महिना भए पनि यसपटक ठूलो खालको हुरी नचलेका कारण वायु मण्डलमा देखिएको तुवाँलो हरेक दिन बढ्दो अवस्थामा रहेको छ । विज्ञहरुले यस प्रकारको तुवाँलोले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले सर्तक रहन समेत पटक–पटक आग्रह गरेका छन् । तर, मानिसहरुले भने यसलाई बेवास्ता गर्दै दैनिकीलाई निरन्तरता दिएको देखिन्छ । जनताले पनि अब यसलाई गम्भीररूपमा लिएर जरुरी कामबाहेक अन्य समयमा हिँडडुल नगरे यस महामारीबाट बच्न सक्ने देखिन्छ ।

अहिले कोरोना संक्रमणको समेत बढ्दो अवस्था रहेको र सरकारले समेत कोरोना संक्रमणबाट बच्न आग्रह गरिरहेको अवस्थालाई ध्यान दिनुपर्ने देखिन्छ । नेपालमा कोरोना संक्रमणको तेस्रो चरण प्रवेश गरेको भन्दै सतर्क रहन समेत आग्रह गरिएकाले यसमा आम नेपालीले ध्यान दिनुपर्ने देखिन्छ । अहिले वायु प्रदूषणको समेत समस्या थपिएकाले यसबाट बच्दै आफ्नो ठाउँ स्वच्छ राख्न र जथाभावी फोहोर बाल्ने काम बन्द गर्नुपर्ने देखिन्छ । नेपालमा लामो समयसम्म पुराना सवारीसाधन सञ्चालन गर्ने परिपाटीको अन्त्यका लागि सरकारले तत्कालै नयाँ नीतिसमेत तय गर्नुपर्ने देखिन्छ । पुराना गाडीबाट निक्लने धूलो–धूवाँसमेत यसको कारक तत्व भएकाले यसमा समेत तत्कालै नीति–नियम बनाएर नियन्त्रण गर्नुपर्ने देखिन्छ । यसतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्