सुख्खा याममा डढेलोको भय



चट्याङ खसेर वा प्राकृतिकरूपले वनमा उत्पन्न घर्षणको कारणले डढेलो लाग्न सक्छ । प्राकृतिक कारणका साथै मानवद्वारा पनि डढेलो प्रादुर्भाव हुन सक्छ । डढेलो लाग्ने कारणको सर्वेक्षणको तथ्यांक अनुसार ५० प्रतिशतभन्दा बढी डढेलो मानिसको लापरबाही, असावधानी तथा नियतवश गरिने गरिएको पाइएको छ ।

एकपटक आगोको झिल्का वनक्षेत्रभित्र रहेको सुकेको झाङमा लागेपछि उग्र भएर आगो हावाको प्रभावमा तीव्र गतिले फैलने गर्छ ।डढेलो अन्य आगलागीभन्दा भिन्न प्रकृतिको हुने गर्दछ । यसको विशाल आकार, उद्गम स्थानदेखि फैलिने गति र यसको दिशा परिवर्तन वा खालि ठाउँ जस्तै– सडक, नदी आदिलाई उछिनेर अगाडि बढ्न सक्ने क्षमताले गर्दा डढेलो खतरनाक हुन्छ ।डढेलोको समस्या मुख्यतया ग्रीष्म ऋतुमा हुने गर्दछ ।

विश्वका धेरैजसो भूभागमा यो समस्या धेरै सामान्य हो तर नेपालमा डढेलो प्रमुख समस्याको रूपमा रहेको छ । डढेलोको कारण वस्तुभाउ, जंगली जनावर सखाप हुने, जैविक विविधतामा असर पुग्ने, मानिसको स्वास्थ्य स्थिति र वातावरणमा ठूलो असर पर्ने गरेको छ । डढेलोको कारण मुख्यतया वनक्षेत्रमा रहेका साना बिरुवा, घस्रिने तथा छिटो दौडन नसक्ने जनावरलाई बढी क्षति हुने गरेको छ । त्यसैले सुख्खा याममा सावधानी अपनाउनुपर्छ ।
– सुगम गौतम, मनाङ 

प्रतिक्रिया दिनुहोस्