कलाकर्मीलाई ललितकलामा सम्मान र पुरस्कार



नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ललितकलाको क्षेत्रमा योगदान पु-याएबापत दुई कलाकारलाई राष्ट्रिय अरनिको प्रज्ञा–सम्मानबाट सम्मानित गर्ने भएको छ। जनही १ लाख रुपियाँ राशिको सो सम्मान वरिष्ठ कलाकार वत्सगोपाल वैद्य र प्रवीणकुमार श्रेष्ठलाई प्रदान गरिने भएको हो।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने राष्ट्रिय ललितकला प्रदर्शनी–२०७८ का सम्बन्धमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो। प्रदर्शनी नक्साल सीता भवनस्थित प्रतिष्ठानको ग्यालरीमा आगामी वैशाख २ गतेदेखि एक महिनासम्म चल्नेछ। यस्तै, ललितकला पत्रकारिता तथा लेखनमार्फत कला क्षेत्रको विकासमा योगदान पु-याएबापत नवीन्द्र राजभण्डारीलाई राष्ट्रिय ललितकला लेखन पुरस्कार–२०७८ र दीपक श्रेष्ठलाई राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार–२०७८ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। दुवै पुरस्कारको राशि जनही २५ हजार रुपियाँ रहेको छ।

यसै गरी, राष्ट्रिय ललितकला प्रदर्शनी–२०७८ मा प्राप्त कलाकृतिमध्ये मूल्याङ्कनका आधारमा विधागतरूपमा प्रदान गरिने राष्ट्रिय ललितकला र विशेष पुरस्कारको समेत घोषणा गरिएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा राष्ट्रिय ललितकला प्रदर्शनी–२०७८ मूल आयोजक समितिका संयोजक कान्छाकुमार (केके) कर्माचार्यका अनुसार, प्रदर्शनीका लागि ४ सय ७३ कलाकारका ५ सय ४३ कलाकृति प्राप्त भएका थिए। जसमध्ये ४ सय ४४ कलाकारका ४ सय ९६ कलाकृति प्रदर्शनीका लागि छनोट भएका थिए।

छनोट भएका कलाकृतिको मूल्याङ्कनका आधारमा ६ जनालाई राष्ट्रिय ललितकला पुरस्कार प्रदान गरिने उनले बताए। जसअनुसार, अनुकुमार केसी (हस्तकला÷शिल्पकला), भाजुरत्न शाक्य (परम्परागत मूर्तिकला), तमबहादुर पुन (आधुनिक मूर्तिकला), राजकुमार रानामगर (परम्परागत चित्रकला), कृष्णप्रकाश शाह (आधुनिक चित्रकला), हरेराम यादव (लोककला) र प्रकाश पुन मगर (वास्तुकला तथा अन्य सिर्जनात्मक कला) रहेका छन्। सो पुरस्कारको राशि जनही ६० हजार रुपियाँ रहेको छ।

त्यस्तै, विभिन्न ६ विधामा राजेन्द्र देशार (हस्तकला/शिल्पकला), मीना थारू (हस्तकला÷शिल्पकला), रामसुन्दर त्वाटी (परम्परागत मूर्तिकला), कृष्णगोपाल गारू (परम्परागत मूर्तिकला), राजु पिठाकोटे (आधुनिक मूर्तिकला), राजेश बराल (आधुनिक मूर्तिकला), सुन्दर श्रेष्ठ (परम्परागत चित्रकला), छेवाङ तामाङ (परम्परागत चित्रकला), राजु लामा योञ्जन (आधुनिक चित्रकला), मन गुरुङ (आधुनिक चित्रकला), राजनकुमार पन्त (आधुनिक चित्रकला), नम्रता सिंह (लोक कला), रुवी कर्ण (लोक कला), सुशीला सिंह (प्रतिस्थापन कला), इरिक नकर्मी (छविकला), सुजन श्रेष्ठ (छविकला) र सौरभ कोइराला (कार्टुन कला) लाई २५ हजार रुपियाँ राशिको विशेष पुरस्कार प्रदान गरिने भएको छ। कलाकार शक्तिराज राई (प्रदेश १), गीतकुमारी ठाकुर (प्रदेश २), मानबहादुर बल (बागमती), विश्वराज पराजुली (गण्डकी), विश्व थापा (लुम्बिनी), गुर्मे तेन्जिङ लामा (कर्णाली) र जितबहादुर आउजी (सुदूरपश्चिम) लाई ललितकला प्रादेशिक पुरस्कार–२०७८ प्रदान गरिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट वैशाख २ गते प्रदर्शनी शुभारम्भ हुने कुलपति कर्माचार्यले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्