महोत्सवबाट छानिए तीन बालनाटक



शैली थिएटरले भर्चुअल बालनाटक महोत्सव आयोजना गरी उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गर्ने भएको छ। एभरेस्ट एकेडेमी कैलालीको प्रस्तुति भूमिका, चुलाचुली रंगमञ्च लामको रिट्ठु र मर्निङस्टार विद्यालय सुर्खेतको अक्षरलाई महोत्सवमा सहभागी बाह्र नाटकमध्ये उत्कृष्ट तीन नाटक छनोट गरिएको छ। भूमिका पुष्पराज अवस्थिले निर्देशन गरेका थिए भने, रिट्ठु र अक्षर क्रमशः चेतन आङथुपो र रञ्जित सिंहले निर्देशन गरेका थिए।

गत चैत एक गतेदेखि शुरु महोत्सवमा चैत १२ गतेसम्म १२ नाटक भर्चुअलरूपमा मञ्चन भएका थिए। त्रिविका उपप्राध्यापक, लेखक तथा समालोचक डा. अशोक थापा र कलाकार, रंगकर्मी तथा निर्देशक लुनिभा तुलाधरको निर्णायक मण्डलले सहभागी नाटक मूल्यांकन गरी उत्कृष्ट नाटक चयन गरेका थिए।

प्रत्येक वर्ष आयोजना महोत्सवमा शैली थिएटरसँगै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रले सहकार्य गर्दै आएका छन्। बालबालिकाले रंगमञ्चबारे जान्ने, बुझ्ने र सिक्ने अवसर बालनाटक महोत्सवले थोरै भए पनि पूरा गरेको निर्देशक नवराज बुढाथोकी बताउँछन्। उत्कृष्ट तीनै नाटक तयार गर्ने समूहलाई समानरूपमा १५ हजार रुपियाँ नगद र डिजिटल प्रमाणपत्र दिएर सम्मान गरिने महोत्सवका सहनिर्देशक सुवास सुवेदीले जानकारी गराए।

 

प्रतिक्रिया दिनुहोस्