न्यु डायमन्ड शीर्ष स्थानमा उक्लियो



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल पुलिस क्लबलाई पराजित गर्दै ह्वाङ्गवान्जी न्यू डायमन्ड क्लब पाँचौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा शीर्ष स्थानमा उक्लेको छ ।मंगलबार सम्पन्न खेलमा न्यु डायमन्डले पुलिसलाई २५–२२, २५–२२, २५–१६ को सोझो सेटमा हराएको हो । यो सँगै न्यु डायमन्डले ४ खेलबाट कुल १० अंक जोडेर महिलातर्फ शीर्ष स्थानमा उक्लिएको हो । नेपाल एपएिफ क्लबको पनि समान १० अंक रहे पनि सेट अन्तरको आधारमा न्यु डायमन्डले एपीएफलाई दोस्रो स्थानमा धकेल्यो । अर्को खेलमा एपिएफले भरतपुर मेट्रो क्लबलाई २५–१३, २५–७, २५–९ को सोझो सेटमा पाखा लगाएको थियो ।

महिलातर्फ त्रिभुवन आर्मी क्लब र पुलिस क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । आर्मी र पुलिसको समान ८ अंक रहे पनि सेट अन्तरको कारण आर्मी पुलिसभन्दा अघि रहेको हो । पाँचौं स्थानमा भरतपुर मेट्रो रह्यो र ढोरपाटन स्पोर्टस् पुछारमा रहेको छ । भरतपुरको ३ अंक छ भने ढोरपाटनले कुनै अंक जोड्न सकेको छैन ।दशरथ रङ्गशालास्थित कभर्डहलमा जारी प्रतियोगिताको पुरुषतर्फ पुलिसले एपीएफलाई हराउन पाँच सेटसम्म संघर्ष गर्नुप-यो । पहिलो र दोश्रो सेट २५–२१, २५–२३ ले आफ्नो पक्षमा पारेर जितको निकट पुगेको पुलिसलाई त्यसपछिका सेटमा एपीएफले झट्का दियो । एपीएफले तेश्रो र चौथो सेट क्रमशः २५–२० र २५–१७ ले जितेर खेललाई रोमाञ्चक मोडमा ल्याएको थियो । पाँचौं तथा निर्णायक सेट पुलिसले १५–१३ ले जित्यो । योसँगै पुलिसले ५ खेलबाट ९ अंक जोडेको छ ।

तर, एपिएफले सो खेलमा १ अंक जोड्न सफल हुँदा हार बावजुद १० अंक बनाएको छ । यस्तै, अर्को खेलमा टिपटप हेल्प नेपाल क्लबले आर्मीलाई २५–१७, २५–१९, २५–१६ ले पराजित ग¥यो । योसँगै हेल्प नेपाल १५ अंकका साथ शीर्ष स्थानमा रह्यो । प्रतियोगितामा लिगमा शीर्ष दुई स्थानमा रहेका टिम उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्