महिला भलिबल उपाधि आयोजकलाई



हेटौंडा, (नेस)

हेटौंडा–१९ मा सञ्चालन भएको जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक वडाले जितेको छ । फाइनलमा बकैया गाउँपालिकालाई २२–२५, २५–११, १८–२५, २५–१३ र १६–१४ को सेटमा पराजित गर्दै १९ नम्बर वडा टिमले उपाधिसहित नगद ५० हजार प्राप्त ग¥यो । उपविजेता बकैया २५ हजार रुपियाँमा चित्त बुझाउन बाध्य भयो ।

१९ नम्बर वडाले हटिया स्पोर्टस् एकेडेमीलाई र बकैयाले थाहा नगरपालिकालाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । १९ नम्बर वडाका सपना बस्नेत उत्कृष्ट खेलाडी घोषित हुँदा उत्कृष्ट स्पाइकर बकैयाका सिसम माझी, उत्कृष्ट सेटर १९ नम्बरकी झरना मोक्तान, उत्कृष्ट डिफेन्डर थाहा नगरपालिकाका किशोरी घलान, उदीयमान खेलाडी बकैयाकी कुसुम लामा र थाहा नगरपालिकाकी रोशनी स्याङ्तान तथा उत्कृष्ट प्रशिक्षक १९ नम्बर वडाका राजु घले भए । उनीहरुले नगद २ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।उता, टोल विकास संस्थास्तरीय भलिबल प्रतियोगितामा तपोवन टोल विकास संस्थालाई हराउँदै क्याम्पाडाँडा टोल विकास विजयी बन्यो । क्याम्पाडाँडाले वासुदेवलाई तपोवनले पुल्चोकलाई हराउँदै फाइनल भिडन्त पक्का गरेका थिए ।

टोल विकास संस्थातर्फ क्याम्पाडाँडाका अर्जुन तिरुवा उत्कृष्ट खेलाडी, तपोवनका ईश्वर रिजाल उत्कृष्ट स्पाइकर, क्याम्पाडाँडाका अनिल कार्की उत्कृष्ट ब्लकर, क्याम्पाडाँडाकै सुरज बर्तौला उत्कृष्ट सेटर, तपोवनका विजयसिं ठकुरी उत्कृष्ट डिफेन्स र क्याम्पाडाँडाका प्रशान्त गोले र तपोवनका किम्सन थिङ उदीयमान खेलाडी घोषित भए । उनीहरूले जनही नगद २ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजयी तथा उत्कृष्ट खेलाडीहरूलाई हेटौंडा उपमहानगर उपमेयर मीनाकुमारी लामा, बकैया गाउँपालिका उपप्रमुख सरला बोलखे, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष सानु लामा, मकवानपुर जिल्ला भलिबल संघ उपाध्यक्ष जंगबहादुर गुरुङ, १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदीलगायतले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया दिनुहोस्