‘गोपालप्रसाद रिमाल’ को लोकार्पण



नेपाल समाचारपत्र, काठमाडौं ।

नाटककार गोपालप्रसाद रिमालको जीवनीबारे पत्रकार गोविन्दप्रसाद दुलालद्वारा लिखित ‘गोपालप्रसाद रिमाल’ नामक पुस्तक एक समारोहका बीच सार्वजनिक भएको छ ।वरिष्ठ पत्रकार एवं लेखन कुञ्जका सम्पादक टंक पन्तद्वारा सम्पादित सो पुस्तकको उपप्रधानमन्त्री ईश्वर पोख्रेलले लोकार्पण गर्नुभएको थियो । ‘नाटककार गोपालप्रसाद रिमालले चर्चित ऐतिहासिक पुस्तकहरू हामीसमक्ष पस्किनुभयो तर उहाँकै बारेमा नलेखिएको पुस्तक आज लेखिएको छ यो आफैंमा ऐतिहासिक भएको छ’ –उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले आमाको सपनाहरू र मसानघाटजस्ता कृतिका लेखक रिमालको व्यक्तित्व र कृतित्वको खोज अनुसन्धान गरी पुस्तक तयार गर्नु सजिलो थिएन, तर लेखकको मेहनत वरिष्ठ पत्रकार टंक पन्तको कुशल सम्पादनले पुस्तक जुन रूपमा आएको छ त्यो राज्यकै एउटा महवपूर्ण सम्पत्ति बनेको बताउनुभएको छ । पुस्तक प्रकाशक संस्था घोस्ट राइटिङ नेलालका अध्यक्ष कमल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री आनन्द पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने सोही समारोहमा जनविचार पब्लिकेसन एन्ड रिसर्च परिवारद्वारा गोपालप्रसाद रिमालकी धर्मपत्नी हरिदेवी रिमाललाई अभिनन्दन गरिएको थियो ।

पुस्तकको समीक्षा गर्दै कवि तथा समालोचक डा. रामप्रसाद ज्ञवालीले यो पुस्तक ऐतिहासिक भएको र यो पुस्तकका अनुसूचीमा समेटिएका आमाको सपना कविता संग्रह र मसान नाटकले गर्दा पनि यो पुस्तक ऐतिहासिक रहेको उल्लेख गर्र्देै यस्तो महŒवपूर्ण पुस्तक प्रकाशन हुनु हामी सबैका लागि अत्यन्त खुसीको पक्ष भएको उल्लेख गर्नुभएको छ ।

विद्यालय तथा विश्वविद्यालयका लागि सन्दर्भ सामग्रीका रूपमा मसानघाट र आमाको सपना पुस्तक अहिले बजारमा नरहेको बेला सो सामग्री गोपालप्रसाद रिमालको यही पुस्तकमा समेटिनु अर्को राम्रो पक्ष भएको डा. ज्ञवालीले बताउनुभएको छ । पुस्तकका सम्पादक टंक पन्तले स्वागत मन्तव्य व्यक्त गर्दै यस्तो ऐतिहासिक पुस्तक सम्पादन गर्ने अवसर पाउनु सौभाग्यको कुरा भएको बताउनुभएको छ ।

रिमाल पुत्र मदन रिमालले धन्यवाद ज्ञापन गर्दै आफ्ना पिताको पुस्तक प्रकाशन हुनु आफ्नो परिवारका लागि निकै खुसीको कुरा भएको उल्लेख गर्नुभयो । सो कार्यक्रममा पुस्तकका लेखक गोविन्दप्रसाद दुलालले कार्यक्रम सञ्चालन गर्दै गोपालप्रसाद रिमालजस्तो राष्टिय व्यक्तित्वको निधन भएको धेरै वर्षपछि पुस्तक लेख्नु आफैंमा सजिलो थिएन तर परिवार एवं अन्य बौद्धिक व्यक्तित्वको सहयोगमा पुस्तक तयार भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्