बागमती प्रदेशसभा मुख्यमन्त्रीको राजीनामा माग



हेटौंडा, (नेस) ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग्दै बैठक अवरुद्ध गरेको छ ।
माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मंगलबार बैठक शुरु भएसँगै मुख्यमन्त्री पौडेलको सरकार वैचारिकरूपमा एउटा गुटको मात्र भएको आरोप लगाउनुभयो । उहाँले विचारका दृष्टिले अल्पमतमा रहेको सरकारले राजीनामा दिएर अर्को सरकार गठन गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारमाथि लापरबाही र आर्थिक अनियमितताको आरोप पनि लगाउनुभयो ।

उहाँले सरकारले एकपक्षीय ढंगबाट प्रदेशका विभिन्न जिल्लामा विद्युतीय बस सञ्चालन प्रक्रियामा बोलपत्र आह्वान गर्नु नाजायज भएको टिप्पणी गर्दै तत्काल बोलपत्र रद्ध गर्न माग पनि गर्नुभयो । जम्कट्टेलले संसद्मा अविश्वास प्रस्तावलाई छलफलमा ल्याउन माग गर्दै नेकपा माओवादीका तर्फबाट फिर्ता नहुने र छलफलमा पराजित भए नतिजा स्वीकार गरिने बताउनुभयो ।बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट राजीनामा दिएका प्रतिपक्षी दलका नेता जम्कट्टेलले पछिल्लो समय गुटको राजनीति गर्न सरकारी ढुकुटी खर्च भइरहेको आरोप लगाउनुभयो । उहाँले सरकारले मदन भण्डारी फाउन्डेसनका नाममा दिएको ५० लाखको औचित्य पुष्टि गर्न पनि माग गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले गुटको राजनीतिका आधारमा रकमान्तर गरेर आफ्नो पकड क्षेत्रमा मात्र पैसा थुपारेको, फरक दलबाट निर्वाचित स्थानीय तहलाई दिनुपर्ने समपूरक बजेट नदिएको भन्दै उहाँले यी प्रश्नको उचित जवाफ नआएसम्म संसद् चल्न नदिने चेतावनी दिनुभयो ।जम्कट्टेलेको चेतावनीलगतै सभामुख सानुकुमार श्रेष्ठले बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्