स्वास्थ्य केन्द्र नागबहाललाई उपकरण हस्तान्तरण

केन्द्रलाई स्थानीय अस्पतालमा परिणत गर्नुपर्नेमा जोड



न्युज अफ नेपाल,ललितपुर ।

लामो समयदेखि समाजसेवामा क्रियाशील छायाँ जुवाःले सामुदायिक स्वास्थ्य केन्द्र नागबहालको लागि विभिन्न स्वास्थ्य उपकरण हस्तान्तरण गर्नुभएको छ ।

मंगलबार आयोजित एक कार्यक्रमका बीच समाजसेवी जुवाःले सो उपकरण हस्तान्तरण गर्नुभएको हो।ललितपुर महानगरपालिका– १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्य मार्फत अक्सिजन, व्हिलचियर, व्यायाम गर्ने मेशिन लगायत विभिन्न सामग्री केन्द्रलाई प्रदान गरिएको थियो।केन्द्रले अझ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकूँन भनेर समाजसेवी मोतिशान्ति शाक्यसंग समन्वय गरेर सामग्री प्रदान गरिएको दाता जुवाःले जानकारी दिनुभयो ।

ललितपुर जिल्लामा पहिलो अपांगमैत्री भवन बनाउन अग्रसरता देखाउनुहुने समाजसेवी जुवाः र शाक्यले कहिले संयुक्त त कहिले अलग अलग रुपमा विभिन्न समाज सेवाका गतिविधिहरु गर्दै आउनुभएको सन्दर्भमा सो कार्यक्रम तय गरिएको थियो।सो अवसरमा समाजसेवी शाक्यले नेपाल तिलगंगा आँखा अस्पतालसंग मिलेर हालसम्म ४७ पटक स्वास्थ्य शिविर सञ्चालन गरिसकेको जनाउँदै ४८ औं शिविर वडा र केन्द्रसंग मिलेर आयोजना गर्ने तयारी भइरहेको बताउनुभयो ।

वडाअध्यक्ष शाक्यले वडा मार्फत सामग्री हस्तान्तरण गर्ने अवसर प्रदान गरी वडालाई थप दायित्वबोध गराएको बताउनुभयो ।केन्द्रका डा. राजेश शाक्यले समुदायस्तरमा सहज र आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्न स्थापित केन्द्रलाई स्तरोन्नति गरी स्थानीय अस्पतालको रुपमा विकास गर्दै जानुपर्नेमा जोड दिनुभयो ।केन्द्रले सर्वसाधारणलाई निशुल्क र आधारभुत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्