हेटौंडामा पूर्वसैनिकको सम्मेलन



नेपाल समाचारपत्र, हेटौंडा । 

आइतबार हेटौंडाको पुरानो गोरखगण मध्यपृतना हेडक्वार्टरअन्तर्गत नेपाली सेना पूर्वसैनिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा ८ जिल्लाका पूर्वसैनिक तथा उनीहरुका परिवारको उपस्थिति थियो । द्वन्द्वका कारण १५ वर्षसम्म स्थगन भएको पूर्वसैनिक सम्मेलन २०७० माघबाट पुनः आरम्भ भएको हो ।

उनीहरुको हित, सेवा–सुविधा र गुनासाका सम्बन्धमा धारणा बनाउन गरिने पूर्वसैनिक सम्मेलन प्रभावकारी हुने गरेकोे छ । सम्मेलनमा पूर्वसैनिकका आवश्यकता पहिचान गरी नेपाली सेना कल्याणकारी बोर्डले सञ्चालन गर्ने विभिन्न योजना र कार्यक्रमको नीति तय गरिने नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले बताउनुभयो । उनीहरुको गुनासो, पीरमर्का, राय र सुझाव संकलन गरी नीतिनिर्माण गरिने हुँदा सम्मेलन प्रभावकारी हुने गरेको थापाले बताउनुभयो ।प्रधानसेनापति महारथी थापाले अवकाशप्राप्त सैनिक व्यक्तिहरुको अवकाशपछिको जीवनमा थप ऊर्जा ल्याउन आपसमा भेटघाट गर्ने, आफ्ना सुख–दुःखका अनुभव साट्ने, एकापसमा सामीप्यताको भावना जागृत गराउने, नेपाली सेनाद्वारा सञ्चालित विविध कल्याणकारी कार्यहरुको जानकारी गराएर समायानुकूल सुधारका लागि थप रायसुझावहरु संकलन गर्ने उद्देश्यसाथ सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

उहाँले अवकाशप्राप्त सैनिक व्यक्तिहरुले विगतमा पु-याएको सेवा र समर्पणको यथोचित सम्मान गर्दै सामाजिक र आर्थिकस्तर उकास्दै लैजानेतर्फ नेपाली सेनाले ध्यान केन्द्रित गरेको बताउनुभयो । सैनिक कल्याणकारीका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित अधिकतम संख्यामा बहालवाला तथा अवकाश सैनिक तथा परिवारका सदस्यहरुलाई सुविधा प्रदान गर्ने विविध कल्याणकारी कार्यक्रमको नेपाल सरकारसँग समन्वय र स्वीकृति लिएर अगाडि बढाइने नीति लिइएको उहाँले बताउनुभयो ।प्रधानसेनापति थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यतालाई जीवन्त राख्न अवकाशप्राप्त अग्रज सैनिकले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्दै यस प्रकारको कार्यक्रमले पूर्व तथा बहालवाला सैनिकबीच सामीप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै सैनिक कल्याणकारी कोषका हिताधिकारीको पीरमर्का सम्बोधन तथा व्यवस्थापनका लागि उत्तम माध्यमका रूपमा प्रभावकारी रहेको बताउनुभयो ।

उहाँले नेपाली सेनामा विद्यमान कल्याणकारी सुविधाहरुलाई विकेन्द्रिकृत, पारदर्शी एवं परिणाममुखी र आत्मनिर्भर बनाउँदै हिताधिकारीहरुको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप र स्वरोजगार तथा सुविधा र सहुलियतसहित कल्याणकारी कार्यक्रम तय गरी कार्यान्वयन प्रारम्भ भएको बताउनुभयो ।यस प्रकारका सम्मेलनमार्फत नेपाली सेनाका बहालवाला तथा अवकाश सैनिक तथा परिवारका सदस्यहरु एकै स्थानमा भेला भएर आपसी सद्भाव र भाइचारा बढ्ने तथा प्राप्त महत्वपूर्ण रायसुझावहरुले आगामी दिनहरुमा सञ्चालन हुने कल्याणकारी कार्यक्रमहरुलाई थप सेवामुखी र सहज बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।सम्मेलनमा ज्येष्ठ पूर्वसैनिक तथा ज्येष्ठ एकल महिलालाई प्रधानसेनापति थापाबाट सम्मान तथा अभिनन्दन गरिएको थियो । एकल महिलातर्फ हेटौंडा–७ की १ सय ३ वर्षीया गोमा ढकाललार्ई अभिनन्दन र पुरानो गोरखगणबाट अवकाशप्राप्त पालुङका ९८ वर्षीय गजेन्द्रबहादुर कार्की अभिनन्दित हुनुभएको छ ।उक्त क्षेत्रमा फरक क्षमता भएका पूर्वसैनिक र उनीहरुका हिताधिकारीहरुलाई ह्विलचियर, वैशाखी नेपाल इन्भेस्टमेन्ट बैंकको आर्थिक सहयोगबाट प्रदान गरिएको थियो ।

लघुवित्त एवं महिला उद्यमशील कर्जा कार्यक्रममार्फत कर्जा लिएर विभिन्न आयमूलक उद्यम व्यवसाय सञ्चालन गर्नेमध्ये उत्कृष्ट उद्यमी व्यवसायीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।नेपाली सेनाले नेपाली सेना सैनिक कल्याणकारी बोर्डअन्तर्गत प्रत्येक प्रदेशमा कार्यालय खडा गरी उक्त क्षेत्रमा बसोबास गर्ने अवकाशप्राप्त सैनिकको तथ्यांक संकलन र सम्पर्कमा रहिरहने गर्दै आएको छ ।प्रत्येक जिल्लामा पूर्वसैनिक फोकलपर्सन तोकेर जिल्लाभरका अवकाशप्राप्त सैनिकसँग सम्पर्कमा रहने गरिएको छ । पूर्वसैनिक सम्मेलनमा पूर्वसैनिकहरुले शिक्षामा हाल भइरहेको संरचना विस्तार गरेर थप गर्दै लैजानुपर्ने सुझाव दिएका थिए ।पूर्वसैनिक सम्मेलनमा आउने पृष्ठपोषणका आधारमा आगामी दिनमा नयाँ कार्यक्रम बनाउने, नीतिनिर्माण गर्ने, सुविधा, सहुलियतलाई परिमार्जन गर्ने र स्वीकृत गराएर कार्यान्वयन गर्ने काम गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्