नियमित रक्तदाता भएकोमा गर्व गर्दछु:प्रदेश २ प्रमुख झा



काठमाडौ (नेस) ,भगगती ।

प्रदेश २ का प्रमुख राजेश झा अहिराजले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालिमाटीमा पुगी सोमबार ३२ औं पटकको रक्तदान गर्नुभयो ।“रक्तदानमा युवा सहभागिता बढाउनुपर्ने छ, म नियमित रक्तदाता भएकोमा गर्व गर्दछु” प्रमुख झाले रक्तदान पश्चात बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश प्रसाद ढकालले रक्तदाता पीन लगाइदिदै रेडक्रसबाट सञ्चालित रक्तसञ्चार सेवाका बारेमा जानकारी गराउनुभएको थियो ।

रक्तदान गर्नुभएकोमा धन्यवाद पत्र दिनुहुँदै केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले सुलभ, गुणस्तरीय र मर्यादित सेवा: नेपालको रक्तसञ्चार सेवाको अवधारणा बमोजिम रक्तसञ्चार गतिविधि अघि वढाइएको बताउनुभयो ।प्रदेश २ मा रक्तसञ्चार सेवाको स्तर बृद्धि गर्न नेपाल रेडक्रसलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो र समुदाय केन्द्रीत चेतना कार्यक्रम बढाउन देश भरीका रक्तसञ्चार केन्द्रलाई सुझाव दिनुभयो ।रक्तदानको लागि कालिमाटी, केन्द्रीय रक्तसञ्चार सेवामा आइपुग्दा उहाँलाई केन्द्रका कर्मचारीहरुले स्वागत् गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्