जलवायु परिवर्तनको असर कम गर्ने अभियानखोइ ?



जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुन गई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ ।

यस्ता समस्या आउनुमा धनी तथा औद्योगिक राष्ट्रको हात धेरै रहे पनि यसको प्रभाव भने नेपालजस्ता गरिब तथा विकासोन्मुख राष्ट्रमै जटिल हुने देखिएको छ । तापमान बढ्दै जाँदा ठूलो असर पानीको मुहान सुक्दै जानु हो । पछिल्लो २०० वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनाश गर्ने क्लोरोफोलोरो कार्बनजस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन–प्रतिदिन वायुमण्डलमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम वृद्धि हुँदै छ । हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजंगलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्यधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरू पर्दछन् ।जलवायु परिवर्तन लामो समयको जलवायुसम्बन्धी तथ्यांकको नियमिततामा देखिने स्थायी प्रकृतिको परिवर्तन हो । हामीले गर्ने फोहोर, प्लास्टिकको अत्यधिक प्रयोग, नदीनाला प्रदूषित बनाउने कार्य, वन विनाश, खालि जग्गाको संरक्षण नहुनु, रूख काटेपछि त्यसको सट्टामा अरू रूख नरोप्नु, कतै खालि र श्वास फेर्न मिल्ने स्थानसमेत नराखी भवन निर्माण गर्नु, रासायनिक पदार्थहरूको अत्यधिक प्रयोग, मेसिनरी र कलकारखानाको अव्यवस्थित फोहोर एवं प्रदूषणजस्ता कार्यहरू बढ्दै गएर नै प्रत्येक वर्ष विश्व तापमान बढिरहेको छ । अब एक डिग्री तापक्रम बढे पृथ्वी मानव बसोबासका लागि योग्य नहुने चेतावनीसमेत विभिन्न अनुसन्धानमार्फत वैज्ञानिकले दिइसकेका छन् ।

सन् १९६० को दशकपछि पृथ्वीमा भएको द्रूत औद्योगिक विकास तथा जनसंख्या वृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिकहरू बताउँछन् । मूलतया जीवावशेष इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्यासका साथै वनजंगलको विनाश भई त्यस्तो ग्यास अवशोषण गर्ने अर्थात् सिङकको कमीले भूमण्डलीय तापक्रम बढेको अनुमान गरिन्छ ।कोइला, खनिज तेल र ग्यासजस्ता वस्तुको बढ्दो दहनले वायुमण्डलमा बढी कार्बनडाइअक्साइड पुग्दछ । जंगल फँडानी र भूक्षयीकरणले पनि वायुमण्डलमा बढी कार्बनडाइअक्साइड पठाउँछ र खेतीपातीदेखि चिस्यान प्रविधि अर्थात् रेफ्रिजेरेसनका गतिविधिबाट हरितगृह ग्याससमेत सिर्जना भइरहेको हुन्छ ।पृथ्वीमा जलवायु परिवर्तनका कारणले सन् १९०६ देखि २००५ सम्ममा औसत तापक्रम ०.७४ डिग्री सेल्सियसले बढेको छ । त्यस्तै सन् १९६१ र २००३ का बीचमा समुद्र सतहमा प्रतिवर्ष १.८ मिलिमिटरले वृद्धि भएको छ र जलवायुमा आएको यस्तो अस्वाभाविक परिवर्तनका कारण सामाजिक, आर्थिक, पर्यावरणीय र विकासका संरचनामा नकारात्मक असर पुगेको कुरा विभिन्न तथ्यांक र प्रमाणले पुष्टि गरेका छन् ।

विश्वव्यापीरूपमा बढेको यस समस्याका लागि विश्वका औद्योगिक तथा धनी राष्ट्र जिम्मेवार रहेको यथार्थ विभिन्न अध्ययन प्रतिवेदनले सार्वजनिक गरिसकेका छन् । हरितगृह ग्यासको प्रमुख कारकको रूपमा देखिएको कार्बनडाइअक्साइडको उत्सर्जन नै विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको कारक मानिएको छ । धनी र औद्योगिक मुलुकले कार्बनडाइअक्साइड अत्यधिक उत्सर्जन गरे पनि नेपालजस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकहरूले यसलाई खप्न सक्ने हैसियत प्राप्त गर्न अझै बढी कठिनाइ भोग्नुपरिरहेको छ ।
जलवायु परिवर्तनको मूल कारक नेपालजस्ता विकासोन्मुख मुलुक होइनन् तर हालका दिनमा विश्व जलवायु परिवर्तनले हिमालयलगायत मानव जीवन, सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पु-याउन थालेको छ । फलस्वरूप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिमसमेत बढिरहेको छ।हिमालय क्षेत्रनजिकका भूभागमा मात्र होइन, यसको नकरात्मक प्रभाव दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणीय सन्तुलनमा समेत पर्न गएको छ ।हिमनदी विश्व तापमान वृद्धिका कारण प्रभावित हुने सबैभन्दा बढी संवेदनशील मापक हुन् । तिनीहरूको आकार हिमपात र त्यसको पग्लिने क्रमको अनुपातमा निर्भर गर्दछ । साबिकको समयभन्दा पहिले बिरुवामा फूल लाग्ने र चराले चाँडै अण्डा पार्ने गरेको पाइएको छ । यसले गर्दा पक्षी तथा अन्य जनावरको खाद्य चक्रमा असन्तुलन हुन गई सिंगो पारिस्थितिक प्रणालीमा नै खलल हुने सम्भावना बढेको छ ।

उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले झिँगा र लामखुट्टेजस्ता रोगबाहक कीरा ती भागमा पुग्ने र रोग तथा महामारी फैलिने चुनौती बढ्दै गएको छ । तराईमा अत्यधिक गर्मी बढ्ने र हिमाली क्षेत्रमा समेत तापक्रम बढेर हिउँ पग्लने क्रममा विस्तार हुँदै तीव्रता उन्मुख छ ।यसबाट प्रकोपजन्य जोखिम उत्पन्न त भएको छ नै, नागरिक सुरक्षा र संरक्षणका थप समस्या जस्तै नयाँ र असाध्य रोगको फैलावट, कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी हुन गई व्यापक बसाइँ सराइ देखा पर्ने निश्चित छ । यसको शुरुआत भइसकेको पनि छ । उदाहरणका लागि वर्षाको प्रकार र तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भूक्षय र खडेरीजस्ता प्रकोपका घटना बढ्दै गएका छन् ।पहाडी भागमा व्यापक बाढीपहिरो जानुका साथै स–साना खोल्सा, मूल, कुवा आदि पानीका स्रोत सुक्दै जान थालेका छन् भने तराई भागमा भूमिगत पानीको सतह घट्न गएको छ । यसै गरी तापक्रमको वृद्धिसँगै झिँगा तथा लामखुट्टेको पनि वृद्धि भई मलेरिया, पहेँलो ज्वरो, डेंगु, इन्सेफलाइटिसजस्ता सरुवा रोगको प्रकोप बढ्नाका साथै कृषि तथा पशुपालन क्षेत्रमा पनि नयाँ–नयाँ झार तथा रोगकीराको आगमनले नकारात्मक असर पारेको छ । तापक्रमका साथै वर्षातको समय, मात्रा र अवधिमा आएको परिवर्तनका कारणले कृषि उत्पादन र खाद्य सुरक्षामा थप नकरात्मक प्रभाव देखिन थालेको छ ।

नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । यो विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो । त्यसमा पनि उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढिरहेको छ । हिमतालको निर्माण र फुट्ने क्रम जलवायु परिवर्तनको सम्भवतः सबभन्दाटड्कारो प्रभाव हो भन्न सकिन्छ । नेपालमा २० वटा त्यस्ता खतरनाक ताल छन्, जो कुनै पनि बखत फुट्न सक्छन् ।जलवायु परिवर्तनले गरिबलाई अझ जोखिममा पार्दछ । गरिब मानिसको खेतीपातीका निम्ति अत्यन्त थोरै जमिन छ अथवा यिनीहरू ज्याला मजदुरी र सामुद्रिक निर्भरताबाट जीविका चलाउँछन् । उनीहरूको अत्यन्त न्यून आयले परिवर्तित परिस्थितिको चुनौती सामना दक्षता, सीप र पहुँच पुग्दैन ।हाल विश्वमा हुने हरितगृह ग्यासको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी ०.०२५ प्रतिशत रहेको छ । कार्बनडाइअक्साइडको अत्यधिक उत्पादनका कारण नै जलवायु परिवर्तनको समस्या देखा परेको हो । जलवायु परिवर्तनका सन्दर्भमा सन् २००४ मा प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले विश्वमा उत्सर्जन हुने करिब ६० प्रतिशत कार्बनडाइअक्साइड वनजंगलले सोस्ने गर्दछ ।

यसबाट के देखिन्छ भने, विश्वमा यसको प्रभाव घटाउनका लागि हामीले सकेसम्म बढी वनजंगल बढाउने प्रयत्न गर्नुपर्छ ।जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र यसलाई लाभमा परिणत गर्नका लागि बहत्रूपमा वृक्षरोपणको अभियान चलाउनुपर्छ । प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रूख मात्रै रोप्न सक्ने हो भने पनि हामीले निकै लाभ हासिल गर्न सक्छौँ । त्यसै गरी, सडकको दायाँ–बायाँका किनारामा वृक्षरोपण गर्नुपर्छ । त्यसो गर्न सकियो भने गाउँ र शहरको शोभा मात्र बढ्दैन, मानव स्वास्थ्यका लागि आवश्यक अक्सिजन पनि उत्पादन हुन्छ । यदि अहिलेकै गतिमा जलवायुमा परिवर्तन भइरहने हो भने प्रकृतिबाट अपूर्व वरदानका रूपमा पाएका सुन्दर हिमताल र नदीनालाहरू कालान्तरमा संकटमा पर्ने निश्चित छ । त्यसो भयो भने हामीले निकै ठूलो ऊर्जा संकटको सामना गर्नुपर्नेछ ।
– सूर्यकुमार आचार्य, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्