हेल्प नेपाल शीर्षमा यथावत



नेपाल समाचारपत्र, काठमाडौं  ।

‘टिपटप हेल्प नेपाल पाँचौं आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिप’मा पुरुष तर्फ शीर्ष स्थानमा यथावत रहेको छ ।हेल्प नेपाल ४ खेलमा चारै खेल जित्दै १२ अंकका साथ शीर्ष स्थानमा रहेको हो ।

सोमबार सम्पन्न खेलमा हेल्प नेपालले पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । हेल्पले पुलिसलाई २५-२२, २५-१६, २५-२० अंकले पराजित गरेको हो । अर्को खेलमा विभागीय टोली सेनाको टिएसीले अर्को विभागिय टोली एपिएफलाई २५ । १५, २५ । १८, २८ । २६ ले पराजित गर्दै आफ्नो अंक तालिकामा एपिएफ संगको अंक बराबर गरेको छ । एपिएफ र टिएसीको अंक समान ९ रहेको छ ।

यस्तै, ४ खेलबाट नेपाल पुलिसको ६ अंक र बुलबुलेको पनि ४ खेलबाट समान ६ अंक रहेको छ । मणिमुकुन्द र नयाँबजारले कुनै अंक जोडेका छैनन् । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको प्रायोजनामा भएको प्रतियोगिताको महिलातर्फको खेलमा सेनाको टिएसी र नेपाल पुलिस समान ८ अंकका साथ शीर्षमा रहेका छन् । टीएसी हिजै भएको प्रतिस्पर्धामा अर्को विभागीय टोली एपिएफसँग पराजित भएता पनि अंकका आधारमा शीर्षमा रहेको हो । एपीएफले सेनालाई १९-२५ २५-१०, २५-१७, २५-२२ ले पराजित गरेको हो ।

यस्तै, अर्को खेलमा भरतपुर मेट्रोले पहिलो जित निकाल्दै अंक तालिकामा ३ अंक जोड्न सफल भयो । भरतपुरले ढोरपाटन स्पोर्टस् क्लबलाई २५-२१, २५-१२, २५-१३ ले पराजित गरेको हो । महिलातर्फ न्यु डायमन्डको ३ खेलबाट ७ अंक र एपीएफको ६ अंक रहेको छ । भक्तपुर मेट्रोले ३ अंक जोड्दा ढोरपाटन शून्यमा रहेका छ ।

प्रतिक्रिया दिनुहोस्