प्रदेश १ सँग लुम्बिनी पराजित



नेपाल समाचारपत्र, काठमाडौं । 

जारी ‘ललितपुर मेयर महिला च्याम्पियनसिप टी २० क्रिकेट’मा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गरेको छ ।सोमबार भएको खेलमा प्रदेश १ ले लुम्बिनीले दिएको १ सय ५ रनको लक्ष्य सहजै हात पारेको हो । टिमले १३ दशमलव २ ओभरमा सबै विकेट सुरक्षित राखेर शानदार जित हासिल ग¥यो । टिमलाई जित दिलाउन कप्तान रुबिना क्षेत्री बेलबासेले उत्कृष्ट ब्याटिङ गरिन् ।

उनले ४९ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ६८ रन बनाएकी हुन् । अर्की ओपनर काजल श्रेष्ठले ३२ बलमा ३ चौकाको सहयोगमा २५ रन बनाइन् । यसअघिको खेलमा भने एपीएफसँग प्रदेश १ ले हारको सामना गरेको थियो ।यसअघि, त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ४ रन बनाएको थियो ।

टिमका लागि सरस्वती घर्तीमगरले ६६ बलमा ५ चौकाको मद्दतमा ५० रन बनाइन् । कप्तान नेरी थापा २० रनमा नटआउट रहेकी थिइन् । यस्तै, नीतु भण्डारीले १८ रन जोडिन् । प्रदेश १ का बलरमा शबनम राईले १ विकेट लिइन् भने अर्को विकेट रनआउट भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्