गीतकार अधिकारीले आफ्नै निर्देशनमा ल्याइन् पल पल



गीतकार तारा अधिकारीले आफ्नै निर्देशनमा नयाँ गीतको म्युजिक भिडियो रिलिज गरेकी छन्। सोमबार राजधानीमा आयोजित एक समारोहबीच रिलिज भएको पल पल बोलको गीतमा तारा आफैंले अभिनयसमेत गरेकी छन्।गीतमा गैरे सुरेशले संगीत भरेका छन् भने प्रताप दासको स्वर तथा तारा अधिकारीको शब्द रचना रहेको छ। गीतका एरेन्जर राजन ईशान हुन्।

गीतको म्युजिक भिडियोमा तारासँगै नेपाली फिल्म क्षेत्रकी प्रथम नायिका भुवन थापा चन्द र शिशिर भण्डारीको अभिनय रहेको छ। शिव ढकालले छायांकन गरेको भिडियोमा नहकुल खड्काको सम्पादन तथा सत्यम् रानाको भीएफएक्स रहेको छ भने राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ। भिडियो अभिनेत्री भुवन थापा चन्द, चलचित्र निर्देशक रमेश थापा र गीतकार तारा अधिकारीको संयुक्त कम्पनी चन्द्र विनायक फिल्म प्रोडक्सनले निर्माण गरेको हो।

भिडियोकी निर्देशक, गीतकार तथा अभिनेत्री अधिकारीले आफ्ना राम्रा गीतमा आफूले नै मेहनत गर्ने उद्देश्यले यो भिडियो बनाएको बताइन्। अभिनेत्री भुवन चन्दले भिडियो निर्देशनमा ताराको भविष्य गीतकारका रूपमा जस्तै राम्रो रहेको चर्चा गरिन्।

चन्दले कोरोना कहरबीच आफू तत्काल सिनेमाको मुडमा नरहेको बताइन्। गीतका संगीतकार गैरे सुरेशले आप्mनो संगीतमाथि न्याय भएको बताए। अभिनेता शिशिर भण्डारीले गीत राम्रो लागेर आफूले भिडियोमा काम गरेको बताए। भिडियोमा भण्डारी मेडिकल डाक्टरको भूमिकामा छन्।

प्रतिक्रिया दिनुहोस्