प्रदेश सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भएको पोखरेलको आरोप



यमलाल भुसाल,बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भएको भन्दै त्यसलाई असफल बनाउने दाबी गर्नुभएको छ ।सोमबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले केन्द्रीय राजनीतिमा विकसित घटनाक्रम अनुसार प्रदेश सरकारलाई पनि अस्थिर बनाउने षड्यन्त्र भएको दाबी गर्नुभएको हो ।

केन्द्रीय राजनीतिमा जे सुकै परिवर्तन भए पनि प्रदेशमा सबै दल मिलेर जानुपर्छ भन्ने आफ्नो प्रयास रहेको बताउनुभयो ।माओवादी केन्द्रबाट मन्त्री बनेकाहरूप्रति लक्षित गर्दै उहाँले सरकारमा बसेर सरकारलाई कमजोर बनाउन नमिल्ने जिकिर पनि गर्नुभयो ।मुख्यमन्त्री पोखरेलले आफ्नो ३ वर्षे कार्यकालमा गरेका कामहरूको बारेमा प्रदेश सभालाई जानकारी गराउनुभएको थियो ।बैठकमा बिशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य अष्टभुजा पाठकले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम भ्रष्टाचारको अखडा भएको भन्दै त्यसको छानबिन गर्न माग गर्नुभयो ।

नेकपा माओवादीका प्रदेशसभा सदस्य इन्द्र प्रसाद खरेलले विगतमा कृषि मन्त्रालयमा भ्रष्टाचार भयो भनेर प्रदेश सभामा बोल्ने प्रदेश सभा सदस्यले अहिले भ्रष्टाचार भएको छैन भन्ने अभिव्यक्ति दिएकोप्रति आश्चर्य व्यक्त गर्दै सरकारको सुगा बनेर प्रस्तुत नहुन प्रदेश सभा सदस्यहरूलाई आग्रह गर्नुभयो ।नेकपा एमालेका प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ र तुल्सी प्रसाद चौधरीले भने सरकारले महŒवपूर्ण काम गरेको भन्दै सरकारको बचाउ गर्नुभयो ।बैठकमा प्रदेश सभा सदस्यहरू निर्मला क्षेत्री, दीपेश थारु, गिता थापा, कल्पना पाण्डे लम्साल, माला गोतामे, पुरमती ढेंगाले शून्य र विशेष समय लिएर बेल्दै आगलागी, बाघ आतंक, सडक समस्या लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

त्यसैबीच, प्रदेश सरकार परिवर्तनका लागि नेपाली कांग्रेस, र नेकपा माओवादी केन्द्र र जसपाबीच छलफल शुरू भइसकेको नेपाली कांग्रेसका प्रमुख सचेतक फकुरदिन खानले बताउनुभयो ।लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको मन्त्री परिषद्को बैठकले चालु सातांै अधिेशनको अन्त्य गर्ने निर्णय गरेअनुसार मंगलबारको बैठकपछि चालु अधिवेशनको अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्