हेमबहादुर लामालाई लाइफटाइम अवार्ड, निर्देशकहरू सम्मानित



एक जमानाका ख्यातिप्राप्त निर्देशक हेमबहादुर लामा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। नेपाल चलचित्र निर्देशक समाजद्वारा हालै राजधानीमा आयोजित एक समारोहमा आदर्श नारी जस्तो फिल्मका ९२ वर्षीय निर्माता निर्देशक लामालाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको हो। लामाले आदर्श नारीमार्फत थुप्रै कलाकार, गायकगायिका तथा संगीतकारलाई ब्रेक दिएको थियो।

हेमबहादुरका क्याप्टेन पुत्र अभिनेता विजय लामाले सोही फिल्मबाट डेब्यु गरेका थिए भने अभिनेत्री सन्नी रौनियार, हनी रौनियार, अंशुमाला शाही, उज्ज्वल घिमिरे, मोहन निरौला, संगीतकार मदन परियारले पनि यसैबाट आ–आफ्नो क्षेत्रमा ब्रेक पाएका थिए। आदर्श नारीमा लामाकै कथा, पटकथा तथा संवाद पनि थियो। हेमबहादुरले सम्मान प्राप्त गर्दा विजय लामा भावुक बनेका थिए।

‘फिल्म जगत्ले हेम लामा को हो भनेर बिर्सिसकेको थियो। कहिल्यै पनि कुनै फिल्मको कार्यक्रममा उहाँलाई निमन्त्रणा आएको मलाई थाहा छैन।’ –विजयले भने। चाबहिल, सरस्वतीनगरस्थित चलचित्र विकास बोर्डमा आयोजित समाजको १३औं साधारणसभा तथा सम्मान समारोहमा प्रमुख अतिथि शहरी विकास राज्यमन्त्री रावीर मानन्धरले लामालाई सो अवार्डबाट सम्मान गरेका हुन्।

 

सो अवसरमा राज्यमन्त्री मानन्धरले चलचित्र निर्देशकहरु युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी र नारायण पुरीलाई चलचित्र सर्जक सम्मानबाट सम्मान गरियो। त्यसै गरी, निर्देशक ऋषि लामिछानेलाई युवा चलचित्र निर्देशक सम्मान, दीपाश्री निरौलालाई लोकप्रिय निर्देशक सम्मानबाट सम्मानित गरियो।समाजको विगतदेखि वर्तमानसम्मको वृत्तचित्र प्रदर्शन गरेर कार्यक्रमको शुरुआत गरिएको समारोहमा स्रष्टाहरुलाई रेडकार्पेटमा स्वागत गरिएको थियो।

समारोहमा निर्देशक समाजले अक्षय कोष स्थापनाको समेत घोषणा गरेको छ। आफूले अक्षयकोषमा सहयोग गर्न नपाएकोमा दुःखी हुँदै फिल्मकर्मी नीर शाहले फिल्मकर्मी अझै व्यावसायिक बन्न नसकेको धारणा व्यक्त गरे। कार्यक्रममा समाजको सदस्यहरुलाई अबदेखि सदस्यता लिने बित्तिकै दुर्घटना बिमा हुने कार्यक्रमसमेत घोषणा गरिएको थियो।

समाजकी अध्यक्ष रक्षासिंह राणाको सभापतित्वमा सम्पन्न समारोहमा चलचित्र निर्देशनभन्दा बाहिरको विधामा पनि सफलता हासिल गरिरहेको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पशुपति क्षेत्र विकास कोषका अध्यक्ष डा. घनश्याम खतिवडा तथा कान्तिपुर टेलिभिजन तथा रेडियो कान्तिपुरका स्टेसन मेनेजर दिनेश डिसीलाई दोसल्ला ओढाएर बधाई ज्ञापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्