संसदमा आरोप–प्रत्यारोप सांसदद्वारा सरकारको आलोचना



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले जनताको पक्षमा काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । सरकारले बिजनेश नदिँदा प्रभावकारी बन्न नसकेको संसद् बैठकमा सोमबार शून्य समयमा आफ्नो धारणा राख्ने क्रममा सांसदहरूले सरकारको आलोचना गरेका हुन् ।

शून्य समयमा प्रतिपक्ष दलका सांसदहरूले सरकार भ्रष्टचारमा लागेको आरोपसमेत लगाएका छन् । तर। सत्तारूढ दल नेकपा एमालेका सांसदहरूले भने सरकारले राम्रो काम गरेको भन्दै बचाउ गरेका छन् ।नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल प्रधानमन्त्रीको कुनै पनि हालतमा सत्ता नछोड्ने कुर्सी मोहका कारण मुलुक लामो समयदेखि राजनीतिक अन्योलमा फसेको आरोप लगाउनुभयो । सर्वाेच्च अदालतको निर्णयपछि सरकारले निकास नदिएको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘संसदीय दलको समर्थन कस्तो छ भनेर प्रधानमन्त्रीले अब पनि विश्वासको मत लिने कि नलिने ?’

नेपाल माओवादी केन्द्रका सांसद शशि श्रेष्ठले नागरिकता राज्य र व्यक्तिको सम्बन्ध कायम गर्ने महत्वपूर्ण दस्तावेज भएकाले पहिचान स्थापित गर्ने यस्तो महत्वपूर्ण दस्तावेजसम्बन्धी विधेयक समितिबाट लामो समयअघि नै अघि बढेको भए पनि सदनमा यसबारे छलफल हुन नसक्नु विडम्बना भएको बताउनुभयो । नागरिकताको विषय निकै गम्भीर भए पनि सरकारले विधेयक अगाडि बढाउन कुनै चासो नदेखाएको उहाँको आरोप थियो ।उहाँले नागरिकताको विषयमा समितिलाई दोष लगाउने कामप्रति गम्भीर असहमति जाहेर गर्दै भन्नुभयो– ‘सदन शोक प्रस्ताव र सामान्य प्रतिवेदन पेस गर्ने कार्यमै अल्झिरहेको छ, यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ ।’एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारको बचाउ गर्दै सरकारले धेरै राम्रो काम गरिरहेको बताउनुभयो । उहाँले विरोधका लागि मात्र विरोध भइहरेको टिप्पणी गर्दै समृद्ध नेपाली र सुखी नेपालीको राष्ट्रिय अभियान ठीक ढंगबाट अघि बढिरहेको दाबी गर्नुभयो । सांसद बाँस्कोटाले सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना केपी ओलीको नेतृत्वको सरकारले पूरा गरेको बताउँदै मेलम्चीको पानी काठमाडाँै ल्याइनु ठूलो उपलब्धि भएको बताउनुभयो ।

नेकपा एमालेका दिलबहादुर क्षेत्रीले सरकारले १ सय ६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक शिलान्यास गरेकामा धन्यवाद दिँदै मुुलुकलाई फलाममा आत्मनिर्भर तुल्याउन नवलपुरको फलाम खानी सञ्चालनका लागि विभिन्न काम भइरहेको बताउनुभयो ।नेपाली कांग्रेसका सांसद डिला संगौलाले सरकार लोकतन्त्रलाई प्रहार गर्दै सर्वसत्तावादी बाटोतर्फ अघि बढेको आरोप लगाउँदै सरकारकै कारण संसद् बिजनेसविहीन बनेको टिप्पणी गर्नुुभयो ।नेकपा माओवादी केन्द्रका पूर्णकुमारी सुवेदीले बाँकेको नरैनालगायतका क्षेत्रमा भएका आगलागीका घटनाका पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो । बैठकमा बोल्दै सांसदहरुले समसायिक राजनीतिक विषय, संसद्को प्रभावकारिता, विकास निर्माणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद रंगमति शाहीले संविधानविपरति संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका प्रधानमन्त्रीले महिला हिंसाका विधेयकहरू ल्याउन दिएनन् भनेर ढाँटेको बताउनुभयो । उहाँले संसद्ले बनाएका प्रधानमन्त्री संसद् र सिंहदरबारमा आउन डराएको टिप्पणी गर्दै भन्नुभयो– ‘प्रधानमन्त्री म भ्रष्ट्राचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्नुहुन्छ तर जसले राज्यको कर छली गर्न सक्छ उसैको घरमा पार्टी कार्यालय स्थापना हुन्छ ।’ उहाँले बिनातयारी प्रधानमन्त्री ओलीले १ सय ६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक भनेर बालुवाटारबाट स्विच थिचेर शिलान्यास गर्नुलाई नौटंकीको संज्ञा दिनुभयो ।

शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले बालुवाटारबाट शिलान्यास भएका ती बाटोहरूको डीपीआर पनि नभएको भन्दै सो कार्यमाथि प्रश्न उठाएका थिए । आइतबार प्रधानमन्त्री ओलीले एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास गर्नुभएको थियो । सांसद योगेश भट्टराईले ताप्लेजुङ दोभानका आगलागीपीडितलाई भूकम्पपीडितसरह तत्काल आवास र दैनिक आवश्यकताको राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति व्यंग्य प्रहार गर्दै भन्नुभयो– ‘चुनावअघि गठबन्धन बनाएँ, चुनाव जितेपछि एकीकरण गराएँ, सरकार बनाउँदा आधा कार्यकाल मागें, कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडें, कार्यकारी प्रयोग गरी प्रधानमन्त्री र अध्यक्षको राजीनामा मागें, संसद् विघटन गरेर परिवर्तनको घोषणा गरें, केपी ओलीको अगाडि मेरो केही लागेन । जसपाले मानेन, कांग्रेस जागेन ।’

प्रतिक्रिया दिनुहोस्