भारतको सहयोगमा शीत भण्डार र आँखा अस्पताल उद्‍घाटन



काठमाडौं ।

भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशलले भारत सरकारको ८ करोड ९२ लाख रुपैयाँ अनुदानमा निर्मित दुई परियोजनाको उद्घाटन गरेका छन् । वंशलले नेपालगञ्जमा हालै स्तरोन्नति गरिएको फत्तेबाल आँखा अस्पतालको अस्पतालका अध्यक्षसँग चैत २२ गते संयुक्त रुपमा उद्घाटन गरेका हुन् । त्यस्तै उनले चैत २३ गते दाङ जिल्लाको लमही बजारमा निर्मित राप्ती शित भण्डारको त्यहाँका मेयर तथा नगरपालिकाका अन्य अधिकारीसँग संयुक्त रुपमा उद्घाटन गरे ।

यी दुवै परियोजनाहरू नेपाल-भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनको रुपमा सम्पन्‍न गरिएको हो । भारत सरकारको ४ करोड ६६ लाख अनुदानमा निर्मित नयाँ अस्पताल भवनमा जेनेरल वार्ड,  प्राइभेट वार्ड, अपरेसन थियटर, तालिम कक्ष, चिकित्सकका लागि बस्ने क्वाटर तथा ड्रेनेज सिस्टमको सुविधा छ । त्यसैगरी भारत सरकारको ४ करोड २५ लाख र बाँकी सरकार तथा उपभोक्ता समितिको सहयोगमा कूल ९ करोड ६६ लाख रुपैंया लागतमा ३२०० एमटी क्षमताको शित भण्डारको निर्माण गरिएको हो ।

नेपालका ५२ जिल्लामा ४०० वटा डायगनोस्टिक स्क्रिनिङ एन्ड ट्रिटमेन्ट (डिएसटी) तथा मोतीबिन्दु शल्यक्रिया शिविर र १४ जिल्लामा टिटि तथा ग्रामीण भेगका विद्यालयहरूमा आँखा शिविर सञ्चालन गर्न भारतले नेपाल नेत्र ज्योति संघलाई हालसम्म २०.९९ करोड भारतीय रुपैयाँ अनुदान सहयोग उपलब्ध गराइसकेको छ । त्यस्तै भारत सरकारले नेपाल नेत्र ज्योति संघलाई पाँचवटा गाडी उपहारस्वरुप प्रदान गर्नुका साथै विद्यालयहरुमा बालबालिकाका लागि आँखा शिविर सञ्चालन गर्न एउटा आई केयर भ्यान पनि उपलब्ध गराएको छ ।

राप्ती शित भण्डारमा तरकारी, फलफूल तथा कुहिएर जाने कृषिजन्य उत्पादन भण्डारण गर्न सकिनेछ । यस नवनिर्मित शित भण्डारले कृषि उत्पादनको बजार मूल्यलाई कायम राखि त्यस क्षेत्रका साना तथा मझौला कृषकको आय स्तरलाई बढाउन सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ ।  भारत सरकार र नेपाल सरकारबीच कायम भएको सहमति अनुरुप यी दुई परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रुपमा अघि बढाइएको हो ।

नेपाल सरकारले  प्राथमिकतामा राखेका क्षेत्रहरु जस्तैं शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सरसफाई, सार्वजनिक सुविधा र नेपालका दुर्गम तथा विपन्न क्षेत्रहरुमा कनेक्टिभिटी जस्तै पुल, क्षमता निर्माण र व्यवसायिक प्रशिक्षण, स्वास्थ्य शिविर जस्ता क्षेत्रहरुमा पूर्वाधार निर्माण गर्नका लागि प्रस्ताव गरिने कुनै पनि परियोजना जसको लागत ५ करोड रुपैयाँभन्दा कम छ त्यस्ता परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ भनिन्छ । यी परियोजनालाई नेपाल-भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत लिइन्छ । परियोजना क्षेत्रका मानिसहरुलाई सहयोग गर्न र लाभान्वित तुल्याउन यी परियोजनाहरु स्थानीय सरकारमार्फत कार्यान्वयन गरिएका छन् ।

भारत सरकार र नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई निकै महत्व दिएका छन् । भारत सरकारको ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका नेपालका दश जिल्लामा १४७ वटा स्वास्थ्य चौकीको निर्माण भइरहेका छन् । कूल १४७ वटामध्ये २५ वटा स्वास्थ्य चौकीको ठेक्का हस्तान्तरण भइसकेको छ । स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई भारतले ८२३ वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्