अब काठमाडौं प्रवेश गर्ने शंकास्पद व्यक्तिको एन्टीजेन परीक्षण गरिने



नेपाल समाचारपत्र, काठमाडौं ।

केही दिन देखि भारतमा कोरोना संक्रमितको संख्या ह्वातै बढेसँगै भारतबाट नेपाल प्रवेश गर्ने हरुमा पनि नयाँ मेरियन्ट प्रमाणित भएकाले नेपालका विभिन्न नाका लगायत काठमाडौं उपत्यकामा प्रवेश गर्ने नाकाहरुमा शंकास्पद व्यक्तिमा एन्टीजेन परीक्षण गर्ने तयारी भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खुल्ला सिमाना र कोरोना संक्रमणका कारण भारतमा कामका लागि गएका नेपालीहरु नेपाल फर्कने र भारतमा रहेका भारतीय कामदारहरु पनि नेपालका विभिन्न निमार्ण कार्यमा संलग्न रहेका र होलीका समयमा भारत गएका र अहिले नेपाल फर्कने क्रम बढेसँगै कोरोना संक्रमितको संख्या पनि नेपालमा बढेको छ । यीनै अवस्थालाई मध्येनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिमा नाका लगायत काठमाडौ उपत्यकामा प्रवेश गर्नुअघि शंकास्पद व्यक्तिको एन्टीजेन परिक्षणका लागि हेल्थ डेस्कको व्यवस्था गरिने भएको छ ।

सोमबार बसेको जिल्ला कोभिड—१९ नियन्त्रण तथा रोकथाम समिति काठमाडौंको बैठकले नाकाहरुमा सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच र एन्टीजेन टेष्ट गर्न डेक्सको व्यवस्था मिलाउने र सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको हो । एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेका उक्त व्यक्तिलाई पिसिआर परीक्षणका लागि पठाइने निर्णय पनि समितिले गरेको छ ।

समितिले यसअघि सबै महानगरपालिका र नगरपालिका सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टाइन सेन्टरलाई अद्यावधि गर्ने र सबै नगरपालिकामा १/१ वटा क्वारेन्टाइन र आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड—१९ सम्बन्धि जनस्वास्थ्य मापदण्ड पूर्ण पालना नगर्नेलाई कारवाही गरेर जरिवाना गर्ने, कोभिड सम्बन्धि जनचेतना फैलाउनका लागि नर्स, स्वास्थ्यकर्मी र शिक्षक÷शिक्षिकालाई परिचालन गर्ने निर्णयमा उल्लेख गरिएको छ ।

यसका साथै चीन सरकारले हालै उपलब्ध गराएको कोभिड—१९ विरुद्धको खोप बुधबारबाट लगाउन सुरु गरिने भएकाले १८ देखि ५९ वर्षका चीनमा अध्ययन गर्ने विद्यार्थी, हिमालपार व्यापार गर्ने व्यवसायी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधी व्यापार र यसका प्रतिनिधी, प्राध्यापक र काठमाडौं जिल्लाभित्रका विद्यालयहरुमा कार्यरत शिक्षक/शिक्षिकालगायत अन्य कर्मचारीहरुलाई लगाउन सरोकारवाला निकायले आपसमा समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ ।

कोरोना सचेतनाका लागि टेलिफोन तथा मोबाइलको रिङटोनमा कोभिड—१९ सम्बन्धि सूचनाहरु र जिगंलहरु प्रवाह गर्ने, कोभिड—१९ को जोखिम बढिरहेको सन्दर्भमा सार्वजनिक स्थानमा गरिने कार्यक्रम हाललाई स्थगित गर्ने र गर्नै पर्ने कार्यक्रमहरुका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने बैठकको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्