जनावरमा पनि कोरोना संक्रमण देखिने खतरा



एजेन्सी ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण हालसम्म लाखौँ मानिसको मृत्यु भइसकेको छ । केही समय यता विश्वका विभिन्न देशमा फेरि कोरोनाको दोेस्रो लहर सुरु भइसकेको छ । दिनहु लाखौँ मानिसमा संक्रमण देखिन थालेको छ भने हजारौँको संख्यामा मृत्यु भइरहेको छ ।

विभिन्न स्वास्थ्य अध्ययनहरुका अनुसार सुरुवाती संक्रमण मानिसमा मात्र देखिएको थियो । तर, हाल फैलिरहेको दोस्रो लहरको संक्रमण भने मानिस लगाएत माउसुली, बाँदर, बिरालो, मुसालगायतका जनावरमा पनि फैलिने खतरा रहेको बताइएको छ । पछिल्लो एक अध्ययनले कोरोना भाइरसले मुसामा पनि संक्रमण गराउन सक्ने उल्लेख गरेको छ ।

तर, अध्ययनका अनुसार मुसामा देखिएको संक्रमणले भने मानिसलाई हानि नगर्ने देखिएको छ । अध्ययन अनुसार सुरुमा चीनमा देखिएको कोभिड–१९ भाइरस र युरोपमा फैलिएको बि ११७ ले मुसामा संक्रमण गर्न सक्दैन । जनावरमा कोरोना भाइरस संक्रमणबारे अध्ययन गरिरहेको पेरिसको पास्चर इन्स्टिच्युटका अनुसार पछिल्लो समय अफ्रिकामा देखिएको बि १.३५१ र पि१ ले भने मानिससँगै अन्य जनावरमा पनि तीव्र रूपमा संक्रमण गराउन सक्छ । मुसामा पनि संक्रमण देखिने अध्ययनले पुष्टि गरेपछि थप अनुसन्धान सुरु भएको छ ।

अनुसन्धानकर्ताहरूले मानिससँगै अन्य जनावरमा देखिइरहेका नयाँ भेरियन्टमाथि नियमित मूल्यांकन गर्न आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्