कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रावल



कर्णाली ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.मङ्गल रावल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा रावललाई उपकुलपति नियुक्त गर्नुभएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसबमोजिम प्रधानमन्त्री ओलीले डा रावललाई नियुक्त गर्नुभएको हो । सिफारिस समितिले प्रतिष्ठानमा कार्यरत सहप्रध्यापक डा रावलसँगै प्रा डा रेशम राना र सहप्रध्यापक डा पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो ।

गत फागुन १६ गते प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद खाली भएको थियो । तत्पश्चात डा रावलले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालिरहनुभएको थियो । आइतबार प्रधानमन्त्री ओलीले हुम्ला निवासी डा रावललाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेपछि कर्णालीवासी भने निकै खुशी भएका छन् ।

त्यसैगरी प्रधानमन्त्री ओलीले आइतबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा डुकबहादुर क्षेत्रीलाई उपकुलपति नियुक्त गर्नुभएको छ । नियुक्त उपकुलपतिहरुको कार्यकाल चार वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्