सफलतापूर्वक छैटौंपटक कलेजोको प्रत्यारोपण



काठमाडौं, (नेस)

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा छैटौं कलेजो प्रत्यारोपण सफल भएको छ ।प्रत्यारोपण केन्द्रले पछिल्लोपटक शनिबार भक्तपुरका ४४ वर्षीय धन प्रजापतिमा कलेजो प्रत्यारोपण गरेको हो ।

प्रजापतिलाई उहाँकै २४ वर्षीया छोरीले कलेजो दान गर्नुभएको हो । डा. छेतेन योञ्जनको नेतृत्वमा भएको कलेजो प्रत्यारोपणमा भारतको म्याक्स अस्पतालका विज्ञ टोलीले सहयोग गरेको अस्पतालले जनाएको छ ।प्रत्यारोपण केन्द्रका प्रशासन प्रमुख हरि पोखरेलका अनुसार कलेजो प्रत्यारोपणपछि बिरामीको अवस्था सामान्य रहेको छ । पोखरेलका अनुसार प्रजापतिलाई १० देखि १५ दिनसम्म अस्पतालमै चिकित्सकको निगरानीमा राखिनेछ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विसं २०७३ को २२ मंसिरबाट कलेजो प्रत्यारोपण सेवा शुरु गरेको थियो ।

यही चैत महिनामा चितवन, त्रिवि शिक्षण अस्पताल र भक्तपुरमा गरी ३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेको छ भने प्रत्यारोपण केन्द्रमा ६ जना, त्रिवि शिक्षण अस्पतालमा ५ जना र चितवन मेडिकल कलेजमा १ जना गरी १२ जनामा कलेजो प्रत्यारोपण सफल भइसकेको छ ।विदेशको दाँजोमा नेपालमा कलेजो प्रत्यारोपण शुल्क ५ गुणा सस्तो भए पनि कलेजो प्रत्यारोपणका लागि घटीमा पनि २० लाख रुपियाँ खर्च लाग्छ । यही उपचार विदेशमा गराउने हो भने १ करोडभन्दा बढी लाग्ने बताइन्छ ।

विभिन्न समयमा सार्वजनिक भएका अध्ययन अनुसन्धान प्रतिवेदनअनुसार नेपालमा करिब ८ लाख मानिस कुनै न कुनै कलेजोसम्बन्धी समस्याबाट ग्रसित छ । त्यसमध्ये करिब १० हजारको कलेजो बिग्रेको हुन सक्ने अनुमान गरिएको छ । कलेजो बिग्रनुको प्रमुख कारणमा मदिरा सेवनलाई औंल्याइए पनि मदिरा सेवनकर्ताको संख्या वर्षेनी बढ्दै जानु चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्