सहकारी कप बुद्धिचाल : रिजेन्द्र, कृष्ण र मिलन अग्रस्थानमा



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको ताम्रकार भवनमा संचालन भइरहेको गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितको तेश्रो दिन चौथौं र पाँचौं चरणका खेलहरु सम्पन्न भए । जसमा गजुरमुखी चेस क्लबका फिडेमास्टर रिजेन्द्र राजभण्डारी, सुन्दर साकोस हेटौडाका कृष्ण थापा र दोलखाका मिलन लामा समान १३ अंकका साथ संयुक्त अग्रता लिएका छन् ।

 ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगितामा रिजेन्द्रले चौथौं चरणमा दोलखाका सुमित पन्तलाई निराश पारे भने पाँचौंमा कृष्ण थापासित बराबरी खेले । त्यस्तै कृष्णले चौथौंमा करुणामय साकोसका पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठलाई हराएका थिए । मिलनले चौथौंमा सद्भाव कृषि सहकारी लुभुका अशोकमोहन श्रेष्ठ र पाँचौमा सिलुलाइट साकोस लुभुका सुरोज महर्जनमाथि जीत हात पारेका थिए ।

त्यसैगरी दोलखाका सुमित पन्त, अर्थ बहुउदेशीय सहकारी ललितपुरका फिडेमास्टर मनिष हमाल र स्वागतम साकोस ललितपुरका युवराज पौडेलले समान १२ अंक प्राप्त गरेका छन् । स्वीस लिग ९ चरणको खेल हुने प्रतियोगितामा माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका फिडेमास्टर क्षितिज भण्डारी, गजुरमुखी चेस क्लबका प्रकाश नेपाल, नोभा साकोस ललितपुरका सुदिप तामाङ्ग, दमकका राजन सुवेदी र दोलखाका सुमित पन्तले समान ११ अंकका साथ तेश्रो स्थानमा रहेका छन् ।

६४औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ९० जना खेलाडीहरु प्रतिस्पर्धा गर्दैछन् । पाँचदिने प्रतियोगिताका विजेताले यामाहा मोटरसाइकल, उपविजेताले नगद ६० हजार हात पार्नेछन् भने कुल नगद पुरस्कार रु.५,६१,४०० रहेको छ ।
भोलि बिहान ८ः०० बजे छैटौं र अपरान्ह १ः०० सातौं चरणका खेलहरु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्