नमोबुद्धको काखमा काव्यउत्सव



न्युज अफ नेपाल, काठमाडौँ ।

नमोबुद्ध नगरपालिका तथा रोशी वाङ्मय प्रतिष्ठान काभ्रेको संयुक्त आयोजनमा, नमोबुद्ध साहित्य उत्सवको तेस्रो सृङ्खला सम्पन्न भएको छ । चैत्र २० र २१ गते, काभे्र जिल्लामा रहेका सांस्कृतिक, ऐतिहासिक र साहित्यिक स्थलहरूको भ्रमण तथा वृहत् कविता गोष्ठीका साथ उक्त उत्सव सम्पन्न भएको हो ।

काभ्रेबाहिर र भित्रका कवि तथा साहित्यकारहरूको सहभागितामा आयोजित उक्त कार्यक्रमको पहिलो दिन ऐतिहासिक र धार्मिक महत्त्वको नमोबुद्ध, ऐतिहासिक सहर दाप्चा, गुरुप्रसाद मैनालीको जन्मथलो कानपुर तथा रोशी वाङ्मय प्रतिष्ठानको निर्माणाधिन भवन रहेको भकुण्डेवेशीको भ्रमणमा केन्द्रित रह्यो । दोस्रो दिनको कार्यक्रम कवितामाथि गहन विचार विमर्श तथा कवितावाचनका साथ सम्पन्न भएको थियो ।

नमोबुद्ध नगरपालिकाका मेयर तथा रोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष टिपी शर्मा तिमल्सिनाको सभापतित्वमा, नगरपालिका भवन भकुण्डेवेसीमा आयोजित गोष्ठीका प्रमुख अतिथि वरिष्ठ कवि, कथाकार एवं साहित्यिक अभियन्ता एलबी क्षेत्री हुनुहुन्थ्यो ।

स्वागत मन्तव्य प्रस्तुत गर्दै नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजल पौडेलले आफ्नो नगरपालिका कलासाहित्यको उत्थानमा लागिपरेको बताउँनुभयो । प्रमुख मन्तव्य प्रस्तुत गर्दै कवि तथा समालोचक महेश पौड्यालले भने, पूर्ण कविता नृत्यजस्तो हुनुपर्छ, जसले शरीरका सबै अवयवलाई एकैचोटि झङ्कृत गरिदिन्छ । उहाँले भन्नुभयो, “अचेल हामी खण्डित भाषा टिपेर कविता बनाउनुपर्ने समयमा छौँ । त्यसैले, हामीमा कलाकारिता बढी हुनु जरुरी छ ।”

नेपाल टेलिभिजनका महाप्रबन्धक, कवि, कथाकार तथा चलचित्रकर्मी फूलमान बलले हामी आयातित विचारले भन्दा आफ्नै स्थानीय चिन्तन र पहिचानबाट बढी चिनिनु जरुरी भएको बताउँनुभयो । उहाँले काभ्रे थुप्रै मिथक, गाथा, कथा, लोक सङ्गीत र जातीय पहिचानका अवयवहरूमा धनी रहेको भन्दै यस्ता कुरामा अबको लेखक केन्द्रित हुनुपर्ने बताउँनुभयो ।

प्रमुख अतिथिको मन्तव्य प्रस्तुत गर्दै साहित्यकार एलबी क्षेत्रीले निर्वाचित स्थानीय सरकार कलासाहित्यको उत्थानमा लाग्नु ज्यादै सराहनीय कार्य भएको बताउँनुभयो । उहाले भन्नुभयो, नमोबुद्ध नगरपालिकाको यस पहललाई उदाहरण मानेर अन्य स्थानीय सरकारले पनि कलासाहित्यको उत्थानलाई आफ्नो पा्रथमिकता बनाउनुपर्ने जिकिर गर्नुभयो । कार्यक्रमका सभापति, मेयर टिपी शर्माले भन्नुभयो,’ हामी नमोबुद्ध नगरपालिकालाई साहित्य मैत्री नगरापालिका बनाउने क्रममा छौँ ।’ उहाँले यहाँका हरेक वडामा साहित्यिक कार्यक्रमको विस्तार भइरहेको र छिटै यस क्षेत्रलाई कला नगरी बनाउने पहल भइरहेको पनि बताउँनुभयो ।

कार्यक्रमको दोस्रो सत्र कवितावाचनमा केन्द्रित रह्यो । कवि तथा निबन्धकार मोमिलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काभ्रेबाहिरबाट जाने, र काभ्रे भित्रकै कविहरूले आफ्ना कविता सुनाएका थिए । अतिथि कविहरूमा श्री एलबी क्षेत्री, प्राज्ञ लक्ष्मी उप्रेती, प्रतीक ढकाल, मोमिला, ठाकुर बेलबासे, सविता गौतम दाहाल, डा. अशोक थापा, महेश पौड्याल, जयराम तिमल्सिना, रमा अधिकारी, अनिल खतिवडा र निरज दाहालले कविता सुनाएका थिए भने, स्थानीय कविहरू जनार्दन रिजाल, राजन पौडेल, गोबिन्द कँडेल आँसु, तारा सुनुवार, रामचन्द्र पौडेल, हरिकृष्ण सिलवाल आदिले आफ्ना कविता, गजल र गीत सुनाएका थिए ।

प्रस्तुत रचनामाथि टिप्पणी गर्दै साहित्यकार प्रतीक ढकालले कविता एक अति नै गम्भीर विधा भएको हुनाले यसलाई खेलाँचीको रूपमा लिन नहुने बताउँनुभयो । कविता सूक्तिमयताका कारण जीवन्त हुन्छ भन्ने जिकिर गर्दै उहाँले कविहरूलाई भावगाम्भीर्य र उच्च कलाचेतनाको पक्षमा उभिन अनुरोध गर्नुभयो । कवि मोमिलाले संसारका सबै संरचना नाशवान् भएको सन्दर्भमा कलासाहित्यमा अङ्कित इतिहास नै दीर्घजीवी हुने बताउँनुभयो । उहाँले यस आयोजनाका लागि नमोबुद्ध नगरपालिका तथा रोशी वाङ्मय प्रतिष्ठानलाई धन्यवाद पनि ज्ञापन गर्नुभयो । कार्यक्रमको संयोजन गीतकार गोविन्द कँडेल आँसुले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्