वैदेशिक रोजगारीमा गएका १७ जनाको शव नेपाल आइपुग्यो, कसरी आँसु थामिन्थ्यो र ! : डा.भट्टराई



न्युज अफ नेपाल, काठमाडौँ ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १७ जना नेपालीको शव नेपाल आइपुगेको छ । आइतवार बिहान मलेसियाबाट १२, कतारबाट २, टर्कीबाट ३ जनाको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

मृतक १७ जनामध्ये दुई जना युवा गोरखका थिए । गोरखा २ सिरानचोक ५ का २८ वर्षीय सूर्य विक, गोरखा नगरपालिका १२ का २७ वर्षीय मेघबहादुर कुँवरको शव विमास्थल आइपुगेसँगै उनीहरूका आफन्तसहित पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्‍ अध्यक्ष डा. बाबुराम भट्टराई पनि शव बुझ्न पुगेका थिए ।

डा.भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै मृतकका आफन्तको भाव विह्वल अवस्था देख्दा आफूले समेत आसु रोक्न नसकेको जनाएका छन् । ‘कस्तो दु:खद अवस्था! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो ! तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र!’, डा.भट्टराईले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्