कर्णालीमा लगानी सम्मेलन हुने



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रूपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छासहित महासंघका पदाधिकारीहरू र कर्णाली योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्का, सदस्यद्वय डा. दीपेन्द्र रोकाय र योगेन्द्रबहादुर शाही समेतको प्रतिनिधिमण्डलबीच संयुक्त रुपमा सम्मेलन आयोजना गर्ने सहमति भएको हो ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको बताउनुहुँदै सरकारले त्यसको लागि सहजीकरण गरिदिनुपर्ने बताउनुभयो । लगानीकर्ताहरूले कृषि, पर्यटन, जडिबुटी, जलविद्युत्लगायतका क्षेत्रमा लगानी गर्ने समेत अध्यक्ष गोल्छाले बताउनुभयो । उहाँले लगानीकर्ताहरुसँग महासंघले सहजीकरण गर्ने पनि जानकारी गराउनुभयो ।

कर्णाली योजना आयोगका उपाध्यक्ष डा. खड्काले कर्णालीको विकासका लागि लगानी सम्मेलनको खाँचो भएकाले सम्मेलनको अवधारणा अगाडि बढाएको बताउनुभयो । उहाँले योजना आयोग र महासंघको संयुक्त पहल एवम् लगानीमा सम्मेलन गर्दा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । कर्णाली प्रदेशमा परियोजना बैंक बनाएर लगानीको वातावरण सिर्जना गर्ने समेत डा. खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्