लड्डु बदनाम हुई !



बालकृष्ण मैनाली

गएको हप्ता भगवान् मानिने सूर्यदेवलाई पनि प्रदूषणले घेरा हालेर राख्यो । प्रदूषणले घेरा हालेका कारण सूर्यदेवले आफ्नो किरणलाई संसारभरिका जनजनमा पुर्‍याउन कठिनाइ उत्पन्न भयो । यो आलेख तयार पारुञ्जेल सूर्यदेवको प्रकाशलाई प्रदूषणले आफ्नो घेरामा राखिरहन सफल भएको छ । यो वर्षको अन्तिम महिना देशलाई ज्यादै अफापसिद्ध महिना हुन पुगेको छ । देशमा रहेका केही व्यक्तिहरु जो बदनामीबाट टाढा रहन सफल भएका थिए, चैत्र महिनाको क्रूर नियतिले तिनीहरुलाई जनजनबाट चुँडेर लग्यो ।

प्राध्यापक माणिकलाल श्रेष्ठ, कम्युनिस्टका पाका नेता विष्णुबहादुर मानन्धर र कांग्रेसका शालीन नेता नवीन्द्रराज जोशी जो वास्तवमै देशका गहना थिए । तुलना गर्दा असलका पक्षमा कोही कम–बेसी थिए होलान् तर तीनैजना देशका लागि उपयुक्त पात्रहरु थिए । जति जनले उनीहरुलाई चिनेका छन् वा उनीहरुका बारेमा जानकारी राखेका र राख्ने गरेका छन्, उनीहरुका प्रत्येक गुणलाई आफ्नो बाँकी जीवनकालमा प्रयोगमा ल्याउन सकिन्छ कि सकिँदैन अनुमान गर्न त सकिन्न, तैपनि सकियो भने देशको वर्तमान मुहार फेर्न सहायक हुन सक्छ । असल मानवहरुको निधनपश्चात् शब्दरुपी श्रद्धाञ्जलि प्रकट हुनु आफ्नो स्थानमा छँदै छ, तथापि उनीहरुले आफ्नो जीवनमा देशको मुहार फेर्न देखाएको त्याग र जनहितको लागि अपनाएका असल मार्गहरुको अवलम्बन गर्नु सही मानेमा श्रद्धाञ्जलि ठहरिने कुरामा विमतिचाहिँ छैन ।आज–भोलि देशलाई बदनामको मौसमले कडा घेरा हालेको छ । यो वा त्यो नाउँबाट ४६ सालपछि जतिले यस मुलुकमा शासन गरे, सबै शासकलाई कुनै न कुनै रुप वा विषयवस्तुसँग सम्बन्धित भएर बदनाम भन्ने शब्दले पछ्याइरहेकै छ ।

४६ अघिका शासकहरु पनि बदनाम नभएका भने होइनन्, तथापि त्यो बेलामा बदनामी होइन्छ कि भन्ने कता–कता झीनो त्रास मुखरित भएको जनजनलाई आभास हुन्थ्यो भने अहिले त्यो अवस्था रहेन । सम्भवतः त्यही कारणले होला त्यो बेलाका बदनामको नाम कमाउने पात्र वर्तमानमा बदनामको नाम कमाउने पात्रबीच तुलनात्मकरुपमा त्यति बेलाका न्यून देखिन्थे ।देशमा अहिले मान्छेको सट्टा लड्डु बदनाम भएको चर्चा–परिचर्चा चल्न थालेको छ । देशका प्रधानमन्त्री अहिले जहाँ पुगेर जे–जस्तो भाषण गर्छन्, भाषणको क्रममा लड्डु बदनाम भएको कुरा भन्न छुटाउँदैनन् । जनजनलाई के लाग्न थालेको छ भने, यदि प्रधानमन्त्री भारतीय सिनेमा हेर्ने गर्थे र ‘दबङ्ग’ भन्ने सिनेमा हेरेका हुन्थे भने लड्डु बदनाम भएको भन्नलाई उनले ‘दबङ्ग’ भन्ने भारतीय सिनेमाको ‘मुन्नी बदनाम हुई’ भन्ने गीतको उदाहरण दिँदै भारतीय सिनेमामा मुन्नी बदनाम भई भने नेपालको राजनीतिक सिनेमामा लड्डु बदनाम भयो भन्थे होला भन्ने जनजनले व्यङ्ग्य गर्न थालेका छन् ।

भारतीय सिनेमा दबङ्गको त्यो मुन्नी बदनाम भई भन्ने गीत त्यति बेला खूब चल्तीमा थियो । विवाह, व्रतबन्ध, पास्नी वा अन्य कुनै नाम दिइएको भोजभतेरमा होस्, यो गानाले प्रश्रय पाउँथ्यो । उक्त गीतमा युवायुवतीहरु कम्मर मर्काई–मर्काई नाच्थे । अझ भन्ने हो भने अलि–अली सोमरसले छुन पुगेका ज्येष्ठ नागरिकमा दरिएकाहरु पनि कम्मर मर्काउँदै उक्त गीतको नाचमा सहभागिता जनाउँथे । अहिले पनि बेलाबेलामा सीमावर्ती क्षेत्रमा यो गानाले प्रश्रय पाउने गरेको छ ।देशको आन्तरिक राजनीतिमा आफ्नै दलभित्रको लडाइँमा राजनीतिक अंशियारहरु एक–अर्कामा कसले जित्ने भन्ने दौडाहाको निरन्तरता कायमै छ । एकथरी अंशियार ‘अदालतले बोल्नै नपर्ने कुरा बोलेर पुरानै पुख्र्यौलीमा फर्काइदिएकोमा चित्त बुझेन, नयाँ पुख्र्यौली नै कायम गरिपाऊँ’ भन्दै अदालत आफैंले गरेको फैसला आफैंले उल्ट्याइहाल्छ कि भनेर झीनो आशासहित पुनरवलोकनको दौडाहामा लागिपरे तर सफल हुन सकेनन् ।

अर्का सगोत्री अंशियारमध्येका मूली अंशियार भनाउँदाले विभिन्न मतियारको आरोप लगाई सोधेको स्पष्टीकरणमा उल्टै स्पष्टीकरण सोध्ने अंशियारलाई नै मतियारको आरोप लगाई स्पष्टीकरण पेस गरेपछि रिसले चुर भएर १ सय ८० दिनसम्मको समय प्रदान गरी आफ्नो बानी सुधारेर गौदानदेखि अन्य आवश्यक के–के दान गर्नुपर्ने हो दान गरेर अंशियारको रुपमा घर प्रवेश गर्नु भनी तत्कालको लागि घरबाट निकाला गरिएको जानकारी गराएका छन् । १ सय ८० दिनभित्र मूली अंशियारले भनेजसो गरी घर नछिरेमा जे पनि हुन सक्ने अर्थात् सगोलमा खाइपाइ आएको सुविधा पनि खोसिन सक्ने र सँगसँगै अंशियारबाटै हात धुनुपर्ने चेतावनी सार्वजनिक गरेका छन् । १ सय ८० दिने निलम्बनरुपी औजार प्रहारको कारण एकातिर मूली अंशियार दम्भ देखाउँदै लड्डु बदनाम भएको भाषणलाई तीव्रता दिइरहेका छन् । अर्कोतिर घर प्रवेशमा बन्देज लगाउने मूल अंशियार भनाउँदालाई कुनै अधिकार छैन, घरमै बसेर मूल अंशियारविरुद्ध संघर्ष गर्ने भन्दै सह–अंशियारहरुले आफ्ना वक्तव्यहरु सार्वजनिक गरेका छन् ।

सगोलका अंशियारहरुले मूली कहलाइएका अंशियारलाई दिएको स्पष्टीकरणका कुरालाई नै आधार बनाएर १ सय ८० दिनसम्म घर आउन नपाउने, आउने भए माफीनामाको कागज लिएर मात्र आउनुपर्ने भनेपछि जिल्लिएका अंशियारहरु र दम्भको शिखरमा पुगेका अंशियारहरुले जिल्ला–जिल्लामा भएका शाखा सन्तानहरुलाई आ–आफुले भनेको मान्न र सोही अनुसार काम गर्न कडा निर्देशनहरु जारी गरेका छन् ।मूली अंशियारको वकालत गर्नेले अन्य अंशियारहरुलाई १ सय ८० दिने घर निकाला गर्नुपरेका कारणहरुमध्ये संक्षिप्तमा घरको एकतालाई विखण्डन गर्ने, घर भाँड्ने र त्यस्ता कार्यहरुलाई निरन्तरता दिँदैआफुले गरेको भूल स्वीकार गर्नुको सट्टा उल्टो विभिन्न थप विखण्डनसम्बन्धी कार्य गर्दै जाने कुराको स्वीकारोक्ति गरेको बुँदा तेस्र्याएका छन् । यसै गरी अहंकार आत्मकेन्द्रित स्वार्थीपन प्रस्टरुपमा प्रकट गर्दै विगतमा भएका आपराधिक क्रियाकलापप्रति प्रायश्चित्त गर्ने अवसरलाई गम्भीरतापूर्वक लिनुको साटो उल्टै स्पष्टीकरण सोध्नेजस्तो कार्य गरी पार्टी विरोधी कार्यलाई पुरानो पुख्र्यौलीको सन्तान हामी मात्र हौं भन्दै अहंता प्रदर्शन गरेकोले १ सय ८० दिनको निमित्त घर निकाला गरिएको कुरासमेत सार्वजनिक गरिएको छ ।

यति कुरा मूली अंशियार भनाउनेले सार्वजनिक गरेपछि त्यो कुराको प्रतिवाद गर्दै घरबाट निकालिएका अंशियारहरुसहित स्पष्टीकरण पनि नसोधिएका र घरबाट पनि ननिकालिएका अंशियारहरुसमेतको बैठक बसी संयुक्त वक्तव्य जारी गर्ने कार्यसमेत सम्पन्न भइसकेको छ । आरोप लागेका र नलागेकाहरुको संयुक्त वक्तव्यमा मूली अंशियार भन्नेले नै नजिक तथा टाढा रहेका छिमेकीहरुको मिलेमतोसमेतमा षड्यन्त्रपूर्णरुपमा घरै ध्वस्त पार्ने कार्य गर्दै आएको उल्टो आरोप लगाएका छन् । उनीहरुको वक्तव्यमा अंशियार नै नभएकोलाई अंशियार बनाएकोमा पनि आपत्ति जनाएका छन् ।मूली अंशियारविरुद्ध सगोलका धेरै अंशियारहरु लागिपरेको भए तापनि मूली अंशियारले केहीलाई मात्र १ सय ८० दिनको लागि घर निकाला गरेको र केहीलाई मूली अंशियारको दृष्टिमा दोषी देख्दादेख्दै स्पष्टीकरण पनि नसोधी, घरबाट पनि ननिकाली सगोलमै रहन अप्रत्यक्ष अनुरोध गरेको भए तापनि त्यसलाई बेवास्ता गर्दै घरबाट निकाला गरेको गुटको भेलामा सहभागी भई वक्तव्यमा नामसमेत गरेको व्यहोरा मूली अंशियार भन्नेलाई जानकारी भइसकेको अवस्थामा आफ्नो फकाउने प्रयास विफल भएको अनुभूति भएको छ । त्यसको झोकचाहिँ कस्तोरुपमा प्रस्तुत होला भन्ने जनजनको चासो हाललाई प्रतीक्षाको विषय बनेको छ ।

जनजन अब के विश्वस्त भइसके भने, यी राजनीतिक अंशियारहरुलाई जनजनको चासो पटक्कै छैन । संविधानका धाराहरु यिनीहरुका लागि खोस्टा साबित भएका छन् । संविधानका धाराहरुमा उल्लिखित बुँदाहरुका न्यूनतम् अंश पनि यी अंशियाहरु आफु पालना गर्दैनन् र उल्टै जनजनसँग प्रश्न गर्छन्– संविधानको कुन धारा मिचियो ? ‘संविधानमा लेखिएका धाराहरु त संविधानमा जस्ताको तस्तै छन् त, न त्यो च्यातिएको छ, न त उडेको नै छ’ भन्ने हास्यापद अभिव्यक्ति सार्वजनिक गर्दै हामीले संविधानको सदैब रक्षा गरिराखेका छौं भनी प्रत्येक भाषण र आफ्ना भनाइमार्पmत जग हँसाइरहेका छन् । परिवारका परिवार नदीमा हेलिएको विषयलगायत हत्या, हिंसा र दिनदहाडै बालबालिकाहरु बेपत्ता हुने अवस्थालाई सामान्य मान्छन् यिनीहरु । घटनाक्रमहरुले यी कुरालाई प्रमाणित गरेका छन् ।अरु त अरु, एकथरी नयाँ पुख्र्यौलीमार्फत् अंशियार हुन पुगेकाको पक्षमा जस्तो देखिने गरेर सर्वोच्चको पैmसला आएपछि उखरमाउलो किसिमले बधाई साटासाट गर्दै लड्डु खाएको र खुआएको प्रसंग मात्रै सम्झँदा पनि अर्को मै हुँ भन्ने मूली अंशियारको यति पारो तातिन पुग्छ कि आफ्ना हरेक भाषण र भनाइमा हामी लड्डु खाँदा पनि खाँदैनौं र खुवाउँदा पनि खुवाउँदैनौं भन्न कहिल्यै छुटाउँदैनन् ।

त्यति मात्र होइन, एक अंशियारले गएको वर्ष आफ्नो जन्मदिन मनाउने प्रयोजनका लागि नेपालको नक्सा अंकित केक काटेर जन्मदिन मनाएको विषयलाई सामाजिक सञ्जाललगायत छापाहरुमा धुवाँदार विरोध भएको थियो । त्यति बेला मूली अंशियारले केक कसले ल्यायो थाहा भएन, केक काट्नुपर्छ भनियो काटें भनेजस्तै घरबाट निकालिएका अंशियारका सदस्यहरु आपूmहरुले लड्डु खाएको विषयमा लड्डु कसले ल्यायो थाहा छैन खानुपर्छ भनेपछि खाइयो भन्दै मिल्दोजुल्दो पाराको जवाफ जनजनसमक्ष पस्किएका छन् । एकले अर्कालाई गुटगत भेला गराएको भन्न कहिल्यै छोड्दैनन् । वर्तमानमा यिनीहरुको मिल्ने ट्युन भनेको यही हो ।एकथरी अंशियारहरुले त तमासा देखाए–देखाए, बाँकी रहे-भएका दल पनि अस्तित्वविहीन अवस्थामा रहेको जनजनलाई प्रतीत हुन पुगेको छ । ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भने झैं सरकारमा आऊ भन्दा हाम्रा अमिल्दो माग भए पनि पूरा गर अनि मात्र सरकारमा आउँछौं भन्दै सरकारलाई घुक्र्याउने काम भएको छ । नभन्दै अमिल्दो मागका बारेमा छलफल गर्न सरकारी समितिसमेत गठन भई वार्ता शुरु भएको छ । पीडितहरुलाई कति पीडा भएको होला, यिनीहरुलाई बालमतलव छैन ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्