बाँकेको नरैनापुरमा आगलागी १२० घर गोठ ध्वस्त, ४ जना घाईते



न्युज अफ नेपाल काठमाडौं ।

बाँकेको नरैनापुरमा आगलागी हुँदा सयभन्दा धेरै घर-गोठ जलेका छन्। नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदावामा आगलागी हुँदा १ सय २० भन्दा धेरै घर-गोठ जलेर नष्ट भएको बाँकेका प्रहरी उपरिक्षक ओमबहादुर रानाले जानकारी दिए। दिउँसो लागेको आगो साँझ मात्र नियन्त्रणमा आएको छ।

नरैनापुर, नेपालगन्ज उपमहानगरपालिका र नेपाल प्रहरीका पाँचवटा दमकलसहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रणमा लिएका हुन्। आगो निभाउने क्रममा चार जना घाइते भएका छन् । उनीहरूको उपचार नेपालगन्जमा भइरहेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसहित सुरक्षा निकायको टोली घटनास्थल पुगेको छ।

आगलागीपीडितलाई अहिले राहत वितरण भइरहेको एसपी रानाले बताए। रातिका लागि पाल र खाना व्यवस्था भइरहेको छ। आइतबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर राहतका थप प्याकेज ल्याउने तयारी प्रशासनको छ।

प्रतिक्रिया दिनुहोस्