सुदूरपश्चिम र एपीएफको सहज जित



नेपाल समाचारपत्र, काठमाडौं

सुदूरपश्चिम प्रदेश र विभागीय टिम नेपाल एपीएफ क्लबले ‘ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि २० क्रिकेट प्रतियोगिता’मा सहज जित हात पारेका छन् ।शनिबार भएको खेलमा सुदूरपश्चिमले ललितपुर मेयर–११ लाई ७ विकेटले हरायो भने एपीएफले प्रदेश १ लाई ८ विकेटले पराजित ग¥यो । सुदूरपश्चिमले ललितपुरले दिएको १ सय ८ रनको लक्ष्य ६ बल बाँकि राखेर पूरा गरेको थियो । सुदूरपश्चिमले १९ ओभरमा ३ विकेटको क्षतिमा १ सय १३ रन जोडेको थियो । यस्तै, एपीएफले प्रदेश १ ले दिएको १ सय ७ रनको लक्ष्य १२ बल बाँकि राखी हासिल गरेको थियो । आइतबार एपीएफको सामना सुदूरपश्चिमसँग हुनेछ ।

त्रिवि मैदानमा सुदूरपश्चिमविरुद्धको खेलमा ललितपुरले टस जितेर पहिले ब्याटिङ गरेको थियो । तर, ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन मात्रै बनायो । कञ्चन श्रेष्ठले सर्वाधिक ६३ रन बनाएपछि टिम सम्मानजनक योगफलमा पुगेको थियो । नटआउट रहेकी उनले ५६ बलमा ८ चौका प्रहार गरेकी थिइन् ।४ विकेट ४५ रनका लागि गुमेको अवस्थामा कञ्चनले अस्मिना कर्माचार्यसँग पाँचौं विकेटका लागि ७२ रन साझेदारी गरेकी थिइन् । अस्मिनाले २ चौकाको सहयोगमा १३ रन जोडिन् । अन्यमा सुमन खतिवडाले १६ रन योगदान गरिन् । तर, ओपनर शोभा आले (१ रन) र अनुराधा चौधरी (४ रन) सस्तैमा आउट भएका थिए । सुदूरपश्चिमका कविता कुँवर, ऋतु कनोजियाले र सम्झना खड्काले १–१ विकेट लिएका थिए ।

जवाफमा सुदूरपश्चिम शानदार शुरुआत गरेर लक्ष्यमा पुग्न सफल भएको थियो । ओपनर मञ्जु बोगटी र रेबती धामीले पहिलो विकेटका लागि ५३ रन जोडेर जितको आधार तयार पारेका थिए । रेवती १८ रन जोडेर आउट भइन् । त्यसपछि कविता कुँवर ९ रन जोडेर पभेलियन फर्केकी थिइन् । मञ्जु पनि व्यक्तिगत ४१ रनमा आउट भइन् । तर, त्यतिबेलासम्म सुदूरपश्चिम जितको निकट पुगिसकेको थियो ।डली भट्ट र कविता जोशीले चौथो विकेटका लागि नटआउट रहेर ३७ रन साझेदारी गरेर टिमलाई जित दिलाएका थिए । डलीले १४ बलको सामना गरेर २ चौका र १ छक्कासँगै २२ रन बनाएकी थिइन् । कविताले १० बलमा १ छक्कासहित १० रन जोडिन् । उनले सुमन खतिवडाको बलमा विजयी छक्का प्रहार गरेकी थिइन् । ललितपुरका बलरमा सुमन खतिवडा र आरती बिडारीले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्