निर्णायक जसपा, न यता न उता

माओवादी अझै दोधारमा असन्तुष्टको चित्त बुझाउने कांग्रेसको निर्णय



मधुसूदन रायमाझी, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार गठनको गृहकार्य भए पनि जनता समाजवादी पार्टी निर्णायक भूमिकामा देखिएको छ ।जसपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीले बारम्बार आग्रह गर्दै आउनुभएको छ । यता नेकपा माओवादी केन्द्रले पनि जसपालाई सरकारको नेतृत्व गर्न आग्रह गर्दै आएको छ । सरकार र माओवादीको तानातानमा परेको जसपाले भने ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने या नयाँ सरकार गठनमा सत्ता साझेदारी गर्ने भन्ने विषयमा कुनै निर्णय लिन सकेको छैन । सरकारमा सहभागी हुने-नहुने विषयमा स्वयं जसपाभित्र नै दुई धार देखिएकाले कुनै निर्णय लिन सकेको छैन ।

जसपाका अध्यक्ष महन्त ठाकुर, नेता राजेन्द्र महतो ओली सरकारलाई समर्थन गरेर अगाडि जानुपर्ने रणनीतिमा रहेका छन् भने यता अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव कांग्रेस र माओवादीसँग सहकार्य गरेर नयाँ सरकार गठन गर्नुपर्ने रणनीतिमा रहेका छन् । तानातानमा परेको जसपाभित्र पनि दुई पक्षबीच सांसद पनि तानातानमा परेका छन् । ३२ सांसद रहेको जसपाले जसलाई समर्थन गर्छ उसकै नेतृत्वमा सरकार गठन हुनेछ । जसपाले निर्णय गर्न नसक्दा प्रधानमन्त्री ओलीको सरकारले निरन्तरता पाउने नपाउने विषयको टुगो लाग्न सकेको छैन ।जसपाका नेता महेन्द्रराय यादव संसद्मा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पार्टीले निर्णय गर्ने बताउनुहुन्छ । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई पार्टीले समर्थन गर्न सक्दैन, बेला आएपछि परिवर्तनकारी शक्तिसँग सहकार्य गरेर अगाडि जाने निर्णय गर्छ ।’ ‘केही साथीलाई प्रधानमन्त्री ओलीले रातो कारर्पेट बिच्छ्याउनुभएको छ, जाने साथीहरुलाई बाटो खुला नै छ, तर हामी जनताका विरुद्ध चल्ने प्रधानमन्त्री ओलीलाई समर्थन दिन सक्दैनौं ।’ –यादवले भन्नुभयो ।
त्यसै गरी, ओली सरकार विस्थापित गरेर नयाँ सरकार गठनको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले पनि जसपाको साथ पाउनेमा ढुक्क हुन सकेको छैन् । पार्टीभित्र चर्को दबाब परेपछि पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमार्फत नयाँ सरकार गठनको नेतृत्व लिने औपचारिक निर्णय गर्न सहमत हुनुभएको थियो । तर, नयाँ सरकारको नेतृत्व लिने स्वयं पार्टी सभापाति देउवाले भने आफ्नो सक्रियता बढाउनुभएको छैन ।

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत पार्टीले भन्दै आएको कुरालाई बैठकमार्फत औपचारिकता मात्र दिएको बताउनुहुन्छ । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टीले निर्णय गरेर मात्र हुँदैन, संसद्मा नयाँ सरकार गठनका लागि बहुमत चाहिन्छ, जसपाले निर्णय गरेर समर्थन नगर्दासम्म कांग्रेसको नेतृत्वमा सरकार गठन भइहाल्ने अवस्था छैन ।’ ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्छ भन्ने पक्षमा शुरुदेखि नै पार्टी रहेको बताउँदै उहाँले संसद्को अंकगणितअनुसार अगाडि बढ्नुपर्ने भएकाले तत्काल नै पार्टीको नेतृत्वमा सरकार गठन हुने अवस्था नरहेको बताउनुभयो ।जसपाका अध्यक्ष महन्त ठाकुर र नेता राजेन्द्र महतो पक्षले प्रधानमन्त्री ओलीसँग सघन छलफल अगाडि बढाइरहेको छ । जसपाले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्छ भन्नेमा सभापति देउवा पनि ढुक्क हुन सक्नुभएको छैन । सभापति देउवा पनि प्रधानमन्त्री ओलीकै बाटो ताजा जनादेशमा गएर आगामी पाँच वर्ष नै प्रधानमन्त्री बन्ने रणनीतिमा रहनुभएको छ । सभापति देउवाले जसपाको अनुचित माग पूरा गर्ने गरी आफू प्रधानमन्त्री नबन्ने कुरामा जोड दिँदै आउनुभएको छ ।

एक साताअघि दुई दिनभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषणा गरे पनि पार्टीले अझै निर्णय लिन सकेको छैन । प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै आएको माओवादीले संसद् पुनःस्थापित भएको डेढ महिना पुग्न लाग्दा समेत सरकारलाई दिएको समर्थन कायमै राखेको छ । माओवादीले कांग्रेस र जसपासँग सत्ता साझेदारी गरेर मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिने नीति लिएको छ । तर, जसपाले निर्णय गर्न नसक्दा माओवादीले पनि कुनै निर्णय लिन सकेको छैन । माओवादीले कांग्रेसका सभपाति देउवा र जसपाका नेताहरुसँग छलफल गरे पनि समर्थन फिर्ता लिनेबारेमा निर्णय लिन सकिरहेको छैन ।माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले सकेसम्म कांग्रेस र जसपासँग सहमति जुटाएर अविश्वासको प्रस्ताव लैजाने गरेर मात्र समर्थन फिर्ता लिने पक्षमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘समर्थन फिर्ता लिने निर्णय गरेर मात्र अविश्वासको प्रस्ताव पास हुने अवस्था अहिले बनिसकेको छैन, सकेसम्म ओली सरकारलाई विस्थापित गर्ने गरी निर्णय गरेर अगाडि बढ्छौं ।’

प्रतिक्रिया दिनुहोस्