सिभिल सहकारीबाट ३ हजार निक्षेपकर्ता ठगिए इच्छाराजको आफ्नै हात जगन्नाथ



नेपाल समाचारपत्र, काठमाडौं ।

सिभिल सेभिङ एन्ड क्रेडिट सहकारीका ३ हजारभन्दा बढी निक्षेपकर्ता संकटमा परेका छन् । सर्वसाधारणबाट संकलन गरिएको अर्बौ रुपियाँ सहकारीले अपचलन गरेपछि उनीहरु ठगिएका हुन् ।

सिभिल सहकारीले नियमविपरीत सहकारीकै सञ्चालकको स्वामित्वमा रहेका सिभिल होम्स् प्रालिलगायतका कम्पनीमा प्रवाह गरेको अर्बौं रुपियाँ ऋण नउठ्दा सिभिल सहकारीका निक्षेपकर्ताले करिब दुई वर्षदेखि ब्याज त परैको कुरा साँवासमेत प्राप्त गर्न सकेका छैनन् । आफूले दुःखजिलो गरी जम्मा गरेको रकम फिर्ता नपाउँदा सयौं निक्षेपकर्ता घर न घाटको स्थितिमा पुगेको निक्षेपकर्ताहरूको गुनासो छ ।‘विभिन्न प्रलोभन देखाएर सर्वसाधारणसँग अर्बौं रुपियाँ रकम उठाइयो, अहिले सहकारीले पैसा फिर्ता दिने कुरै गर्दैन।’ –एक पीडित निक्षेपकर्ताले नेपाल समाचारपत्रसँग गुनासो गरे ।एनका अनुसार सिभिल सहकारीले प्रवाह गरेको करिब ८ अर्ब रुपियाँ ऋण जोखिममा रहेको छ । सिभिल सहकारी र सिभिल होम्स् प्रालि एमालेका पूर्वसांसद इच्छाराज तामाङका संस्था हुन् । यद्यपि, सहकारीको अध्यक्षमा केशवलाल श्रेष्ठ रहेका छन् । तर, सहकारीमा तामाङकै खटनपटन चल्ने जानकारहरू बताउँछन् । तामाङले सहकारीमा सर्वसाधारणबाट उठाएको रकम आफ्नो कम्पनी सिभिल होम्स्मा गैरकानुनी तारिकाबाट ऋण प्रवाह गराएको र सो ऋणको साँवा ब्याजसमेत भुक्तानी नगरेपछि सयांै निक्षेपकर्ता संकटमा परेका हुन् ।

सिभिल सहकारीको ऋण सिभिल होम्स्मा कति छ ?

आर्थिक वर्ष २०७३-७४ को प्रतिवेदनअनुसार सिभिल सहकारीद्वारा ६ अर्ब ८२ करोड ५७ लाख रुपियाँ बराबरको कुल कर्जा प्रवाह गरिएकोमध्ये सिभिल होम्स् प्रालिलाई मात्र ५ अर्ब ७६ करोड ७८ लाख कर्जा प्रवाह भएको छ । एउटै ऋणी कम्पनीलाई कुल कर्जा रकमको ८४ दशमलव ५० प्रतिशत त्यो पनि एउटै व्यक्ति सञ्चालकमा रहेको स्वार्थ बाझिने स्थितिमा कर्जा प्रवाह गरिएको छ ।त्यस्तै, जी पौड्याल एन्ड एसोसिएट्स नामक चार्टर्ड एकाउन्टेन्ट कम्पनीको २०७६ सालको लेखा परीक्षण प्रतिवेदनअनुसार सिभिल सहकारीबाट सिभिल होम्स् प्रालिमा नौपटक गरी ८ अर्ब २० करोड रुपियाँ ऋण लगानी गरेको उल्लेख छ । साथै सिभिल इस्टेट्स नामक कम्पनीलाई पनि दुईपटक गरी ६ करोड ६८ लाख कर्जा लगानी गरेको छ । एउटै संस्थालाई पुरानो कर्जा भुक्तानी नगरी पटक–पटक अर्बौ रुपियाँ ऋण प्रवाह गरिनुमा सहकारीका सञ्चालकको नियत खराब रहेको पीडित निक्षेपकर्ताको भनाइ छ ।

सिभिल होम्स्को स्थितिघर–जग्गाको कारोबार गर्दै आएको कम्पनी सिभिल होम्स् हो । घर–जग्गाको कारोबार फस्टाउँदा चम्किने र घर–जग्गाको कारोबारमा मन्दी आउँदा थच्चिने गर्दै आएको छ । ‘सिभिल’ नामबाट यो समूहले घर–जग्गाको कारोबारदेखि सहकारी एवं बैंकलगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । तर, पछिल्लो अवस्थामा यसका वित्तीय सूचकहरू राम्रा देखिँदैनन् ।विशेष गरी इच्छाराज तामाङको मनपरीतन्त्रका कारण सिभिल होम्स् मात्रै होइन सिभिल सहकारी र सिभिल्स बैंकलाई पनि समस्या हुँदै आएको छ । नक्कली डिभोर्स काण्ड खराब कर्जाको अनुपात उच्च प¥याउनेदेखि लिएर घर–जग्गा बुकिङकर्तालाई अनावश्यक दुःख दिने जस्ता वित्तीय अनुशासन कायम नगर्ने भनेर तामाङले बजारमा कुख्याती कमाएका छन् । नेताहरूसँगको विशेष सम्बन्ध तथा उनीहरूलाई आर्थिक सहयोग दिएकै भरमा समानुपातिक सांसद बन्न सफल भएपछि तामाङको एमाले पार्टीभित्रै चर्काै आलोचना भएको थियो । अझै उनले गैरकानुनी तवरबाट पहुँचका भरमा सुरक्षाकर्मी राखेको र ती सुरक्षकर्मीलाई निजी काममा लगाएपछि उनी थप आलेचित भएका थिए ।

सिभिल होम्स् प्रालिको आर्थिक वर्ष २०७३-७४ लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीको चुक्ता पुँजी १० करोड र सञ्चित नोक्सानी २ अर्ब ५६ करोड ७६ लाख रुपियाँ रहेको छ । तसर्थ, कम्पनीको नकारात्मक नेट वर्थ भएका कारणले नगद तथा बैंक मौज्जदातसहितको सम्पत्तिबाट समेत उक्त ऋण लगानी रकम असुली हुने सम्भावना न्यून रहेको छ । यसको आधारमा कम्पनीको पुँजी ऋण अनुपात १ दशमलव ७० बराबर ९८ दशमलव ३० करोड रुपियाँ रहेको छ । आव २०७३-७४ को प्रतिवेदनअनुसार सिभिल होम्स्को सम्पत्ति तथा दायित्वको स्थिर सम्पत्ति ८७ करोड ७७ लाख, लगानी २६ करोड ४६ लाख (फिर्ता प्राप्त हुने यकिन नभएको) छ । सहकारीबाट महँगो ब्याजदरमा अर्बौं रुपियाँ ऋण लिएको भए पनि सिभिल होम्स् प्रालिले सोही सहकारीमा साढे ४ करोड र सिभिल बैंकमा सवा २ करोड रुपियाँ मुद्दति निक्षेपमा राखेको छ । एकातिर चर्को ब्याजसहितको ऋण भार र अर्कोतिर सोही कर्जाबाट न्यून ब्याजको निक्षेप लगानी गरिएको हुँदा कम्पनीको उक्त कदमको औचित्य स्पष्ट छैन ।

सिभिल सहकारीमा के हुँदै छ ?

७ अर्ब २२ करोड २६ लाख रुपियाँ सम्पत्ति दायित्व भएको सिभिल वचत तथा ऋण सहकारीले आफ्नो कुल सम्पत्तिको ८१ प्रतिशतभन्दा अधिक कर्जा सापटी एउटै ग्राहक सिभिल होम्स् प्रालिलाई प्रवाह गरेको छ । सहकारीको कुल निक्षेप ६ अर्ब ६२ करोड ९८ लाख रकममध्ये ५ अर्ब ७८ करोड ७२ लाख उक्त कम्पनीमा लगानी भएको हुँदा साथै कम्पनी अत्यधिक नोक्सानीमा समेत रहेको हुँदा उक्त कर्जा रकम भुक्तानी गर्न आवश्यक तरल तथा अन्य सम्पत्तिसमेत कम्पनीसँग उपलब्ध नभएको अवस्थामा सहकारीको निक्षेपकर्ताहरु अत्यन्त उच्च जोखिममा रहेको देखिन्छ ।सिभिल होम्स् प्रालिको घर–जग्गा मौज्दात, स्थिर सम्पत्ति, मुद्दति निक्षेपसहितको नगद तथा बैंक मौज्दातबाहेक अन्य सम्पत्तिबाट कर्जा चुक्ता गर्न सक्ने अवस्था एकदम कम रहको छ । यस विषयमा सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठको मोबाइल नम्बर ९८०१०३२…..मा पटक–पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन । सहकारीले आफूहरूको निक्षेप रकम फिर्ता नदिएपछि उज्वल सत्यालको नेतृत्वमा सिभिल सहकारी पीडित संघर्ष समिति गठनसमेत भएको छ । समितिले सरोकार निकायको ध्यानाकर्षण गराउँदै निक्षेप फिर्ता गराउन पहल गर्दै आएको बताइए पनि सफल भने भएको छैन । समितिले केही सीमित व्यक्तिको पक्षमा मात्रै बोल्ने गरेको आरोप लागेको छ । समितिले केही ठूला लगानीकर्ताको पक्षमा बोल्ने र उनीहरूको ब्याज भुक्तानी गराउने, मुद्दती निक्षेप नवीकरण गराउने गरेको आरोप लाग्दै आएको छ ।

सहकारीसँग झन्डै २० वर्षदेखि कारोबार गर्दै आउनुभएका नरेन्द्रबहादुर राजभण्डारीका अनुसार पछिल्लो चार वर्षयता सहकारीको अवस्था बिग्रिँदै गएको हो । सिभिल सहकारी मात्रै होइन अन्य संस्था बिग्रिनुमा मुख्य दोषी नियमक निकाय नै रहेको राजभण्डारीको दाबी छ । सिभिलले घर उपहार राखेर सयौं जनासँग अर्बौं रुपियाँ निक्षेप संकलन गरेको थियो । त्यो गैरकानुनी रहेको र त्यस बेला नियमक निकाय कानमा तेल हाले बस्दा अहिले सर्वसाधारण ठगिएको उहाँको भनाइ छ । ‘यदि, चिठ्ठा, पुरस्कार जस्ता गलत बाटोबाट रकम उठाउने खेलमा पहिल्यै नियन्त्रण भएको भए थोरै मान्छे पीडित हुन्थे कि ।’ –राजभण्डारीले भन्नुभयो ।स्रोतका अनुसार सहकारी सञ्चालकका आफन्तहरूलाई भने रातारात रकम फिर्ता गर्दै आएको बताइएको छ । सहकारी संकटमा आएपछि करिब ११ हजार पटक विभिन्न व्यक्तिलाई रकम भुक्तानी गरिएको भए पनि साना निक्षेपकर्ता र पहुँच नपुगेकालाई भने नदिएको गुनासो छ । वृद्धवृद्धा एकल महिला, पेन्सनको रकम जम्मा गरेको अंशबापत पाएको रकम जम्मा गरेका र स–सानो व्यवसाय गरी रकम निक्षेप गरेका, दीर्घरोगी, सहकारीको ब्याजबाट घरखर्च चलाउनुपर्ने व्यक्तिहरू बढी पीडित रहेको जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्