सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकासमा अहोरात्र खटिन्छाैँ : मन्त्री आले



विमल विष्ट, डोटी ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा रहेका बिभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रको विकाका लागि कुनैपनि काम अधुरा नछोड्ने बताउनु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा आज शनिबार आयोजना गरिएको प्राणी उद्यानको सम्भाव्यता सम्बन्धि सामुदायिक वन उपभोक्ता समुह र सरोकारवाल बिचको अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले सुदूरपश्चिम प्रदेशमा रहेका खप्तड, रामारोशन, बडिकेदार, बडिमालिका लगायतका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासका लागि सरकारले काम अगाडी बताएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुदूरपश्चिममा असङ्ख्य रुपमा धार्मिक तथा पर्यटकिय क्षेत्र रहेका छन्, ती क्षेत्रको विकासका लागि सरकारले बिभिन्न योजनाहरु अगाडी बढाएको छ, चाडै नै यहाँका पर्यटकिय र धार्मिक क्षेत्रको पूर्वाधारको काम हुँने छ ।”सो कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका वन तथा वातावरण मन्त्री आलेले सरकारले गरेको निर्णय अनुसार सुदूरपश्चिममा निकट भष्यिमै चिडियाखानाको समेत निर्माण गरिन लागेको जानकारी दिनुभयो ।

साथै मन्त्री आलेले सुदूरपश्चिमको प्रमुख पर्यटकिय स्थल खप्तड क्षेत्रमा रहेका विकास निर्माणका अधुरा कामहरुलाई तत्कालै पुरा गर्ने गरी बजेट बिनियोजन गराउन पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड भनेको सुदूरपश्चिमको पर्यटनको क्षेत्रको मुटु हो, यहाँको विकास मात्रै गर्न सके आर्थिक तथा अन्य विकासले कायापलट हुने छ, खप्तडका विकासका अधुराकाम पूर्ण गराउन म पहल गर्ने छु ।”

यसैगरी मन्त्री आलेले डोटीको बडिकेदार धार्मिक क्षेत्रको विकासका लागि पहल भइ बजेट समेत बिनियोजनको तयारीमा रहेकाले आगामी दिनमा बडिकेदार देश बिदेशमा चिनिने समेत दाबी गर्नुभयो ।सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विकास निर्माण तथा नागरिकको हितका लागि गठन भएको सरकार भएकाले हामी नागरिकको सेवा तथा विकास निर्माणका काम बाहेक अन्य कामका विषयमा सोच्नै नसक्ने भएको समेत स्पष्ट गर्नुभयो ।

“नागरिकको सेवा र देशको विकास बाहेक हामीले अरु केही सोचेका छैनौँ”, मन्त्री आलेले थप भन्नुभयो, “हामी झुटा आस्वासव बाडेर हिड्दैनौँ, नागरिकले प्रतक्ष देख्ने गरी विकास गरेर देखाउछौँ ।” यसैगरी मन्त्री आलेले सुदूरपश्चिम प्रदेशमा सडक, बिद्युत, सञ्चार लगायतका भौतिक पूर्वाधार विकासका कामहरुमा वर्तमान सरकारले निकै गम्भीरताका साथ चासो देखाएको यहाँका विकास निर्माणका कामहरु क्रमिक रुपमा पुरा गर्दै लैजाने सो कार्यक्रमका सहभागीहरुलाई बिस्वास दिलाउनुभयो ।

साथै मन्त्री आलेले सुदूरपश्चिम सहित डोटीमा रहेका घर तथा जमिन नभएका सुकुम्बासीहरुको घर जग्गाको व्यवस्थाका लागि पहल भएको र केही दिन भित्रमै सबैले लालपुर्जा पाउने समेत जानकारी दिनुभयो । सोही कार्यक्रमका अर्का अतिथी तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा.दीपक खरालले सरकारले सुदूरपश्चिममा चिडियाखाना निर्माणका लागि निर्णय गरी सकेकाले निकट भविष्यमै यहाँ चिडियाखाना स्थापना गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले चिडियाखाना स्थापनाका लागि निर्णय गरिसकेको छ, हामीले सम्धाव्यता अध्यन सहित चिडियाखाना स्थापनाका लागि निकट भभविष्यमै काम सुरु गर्ने तयारी गरेका छौँ ।” सरकारले सातवटै प्रदेशमा चिडियाखाना स्थापना गर्नका लागि बजेट समेत बिनियोजन गरी सकेको छ । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा प्राणी उद्यानको निर्माणका लागि सरकारी प्रबिधिक टोलीले सर्वेको कार्य अगाडी बढाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा खरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्