काठमाडौँमा रकम सङ्कलन गरी डोल्पामा सहयोग



डोल्पा । काठमाडौँमा सक्रिय सङ्घसंस्था र सामाजिक अभियन्ताले डोल्पाको एक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । त्रिपुरासुन्दरी नगरपालिका– १ स्थित त्रिपुरा मावि काटियाँचौरका १०० विद्यार्थीलाई पुग्ने गरी शैक्षिक सामग्री सहयोग गरिएको हो ।उनीहरुले ३० हजार ६०० रकम सङ्कलन गरी ८०० थान कपी, कलमलगायत सामग्री सहयोग गरेको विद्यालयले जनाएको छ ।

शैक्षिक सामग्री खरीदका लागि ज्वेलरी स्कुल एण्ड प्रोडक्सन हाउस, राष्ट्रिय दलित कल्याण सङ्घ तथा सामाजिक अभियन्ता तीर्थ विश्वकर्मा, मोहन विश्वकर्मा, शम्शेर नेपाली, तुलसा लामिछाने, सविना भट्टराई, कमला हेमचुरी र जज एभरेष्टले सहयोग गरेको शिक्षक मनबहादुर सार्कीले बताउनुभयो । प्यूठान निवासी सामाजिक अभियन्ता शम्शेर नेपालीले विद्यालयको नाम अङ्कित १०० थान टाई र १०० थान पेटी सहयोग गरको उहाँले बताउनुभयो ।

सहयोगस्वरुप प्राप्त सामग्री जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा सरोकारवालाको उपस्थितिमा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताउनुभयो । कक्षा १ देखि १० सम्म अध्ययनरत १०० विद्यार्थीलाई प्रतिविद्यार्थी आठ थान कपी, एक कलम, एक पेन्सिल दरले वितरण गरिएको उपाध्यायको भनाइ छ ।

दुर्गम क्षेत्रका विद्यालयमा अध्ययनत विद्यार्थीको सुनौलो भविश्यको कामना गरेर सहयोग गरेको भन्दै विद्यालयले सहयोगी संस्था र अभियान्ताप्रति आभार प्रकट गरेको छ । निःशुल्क कपी, कलम र शैक्षिक सामग्री पाएपछि सम्पूर्ण विद्यार्थी तथा अभिभावक खुशी व्यक्त गर्नुका साथै धन्यवादसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्