बडिगाड झडप घटनामा संलग्न आठ सार्वजनिक



गलकोट ।

जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड झडप घटनामा संलग्न आठ जनालाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ । होली पूर्णिमाका दिन भएको झडप घटनामा संलग्न बडिगाड गाउँपालिका–१० का २३ वर्षीय मिलन बुढामगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढामगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढामगर, तीर्थलाल बुढामगर, ३१ वर्षीय सूर्य बुढामगर र ४६ वर्षीय ढालबहादुर बुढामगरलाई प्रहरीले सार्वजनिक गरेको हो ।

चैत १५ गते होली खेल्ने क्रममा बडिगाड गाउँपालिका–१० र निसीखोला गाउँपालिका–७ को सिमाना बल्देधुरीमा झडप हुँदा दुई जनाको मृत्यु भएको थियो । घटनामा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको ज्यान गएको थियो ।

प्रहरीले मिलन बुढामगर र रेशम बुढामगरलाई गुल्मीको मदाने गाउँपालिकाबाट, कुमार छन्त्याललाई रुपन्देही, रेशम बुढामगरलाई बुर्तिबाङ, सूर्य बुढामगर र ढालबहादुर बुढालाई दर्लिङबाट पक्राउ गरेको र दुई जना जिल्ला प्रशासनमा आएर आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो ।

पक्राउ परेका आठ जनालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक मगरको भनाइ छ । पीडित पक्षले छ विरुद्ध किटानी जाहेरी दिएका थिए । जसमध्ये चार जना पक्राउ परेका छन् । घटनामा धेरै युवा संलग्न भएको भन्दै अनुसन्धानका लागि प्रहरी खटिएको पल्लीमगरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्